‘एक युगमा एक दिन एक पटक आउँछ
उलटपुलट उथलपुथल एक पटक ल्याउँछ’
गोपालप्रसाद रिमालले लेखेका यी पंक्तिहरु २०३६ सालतिर खुव घन्किए । त्यसबेलाको पञ्चायती व्यवस्थाको विरुद्ध प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि । त्यही गीत आजसम्म पनि उत्तिकै सान्दर्भिक छ । पछिल्लो पुस्ता मुलुकमा समृद्ध चाहन्छ । रोजगारीका अवसर यही मुलुकमा होस् र विदेश पलायन हुन नपरोस् भन्ने सोच्छ । तर, त्यो हुन सकिरहेको छैन । त्यही भएर होला जेन–जी पुस्ताका रुपमा (सन् १९९८ देखि २०१२ सम्म) स्थापित गराइयो ।
अहिले त्यही पुस्ता मुलुकमा व्याप्त भ्रष्टाचार र बेथिति रोक्न भन्दै डिजिटल हुँदै सडकमा पुगेका छन् । आमा हामी पनि त्यहाँ जाने होइन र ? साँच्चै देशका लागि लड्ने होइन र ? उनीहरुका मनमा खुल्दुली छन् र सामाजिक सञ्जालमार्फत आफूलाई सक्रिय देखाउँछन् । उनीहरु झोले र चम्चे बन्न चाहँदैनन् । आफूसँग भएको प्रतिभा, सीप र ज्ञानलाई प्रयोग गर्दै मुलुकको समृद्धि खोजिरहेका छन् ।
तर सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते जेन–जी पुस्तामाथि राज्य यति क्रुर बन्यो कि, २४० वर्षीय शासनसत्ता छाड्नु पर्दा शाही शासनले पनि त्यत्ति गरेको थिएन । जेन–जी आन्दोलन सुरु भएको दुई घण्टाको बीचमा सरकारले कफ्र्यु लगायो । १९ जनाले आफ्नो ज्यान गुमाए । जेन–जी अभियानको दुई घण्टामा यसरी सत्ताधारी आक्रामक हुनु र १९ जनाको ज्यान जानु, २०० भन्दा बढी युवा घाइते हुनुलाई पक्कै पनि प्रजातान्त्रिक मान्नै सकिन्न ।
सत्ताको रसस्वाद लिनेहरु भ्रष्ट छन् । हरेक पाइलापाइलामा भ्रष्टाचार मौलाउँदै गइरहेको छ । सत्तामा रहनेहरुका आसेपासे, झोले र चम्चेबाहेकहरुले नातावाद, परिवारवादभन्दा बाहिरको कुनै विचार वादले काम गर्दैन । त्यही कमिसनको चक्करमा शक्तिको दुरुपयोग गरिरहँदा जेन–जी पुस्ता जन्मियो । त्यही जेन–जी पुस्तामाथि सरकार निर्मम भयो ।
राजधानीका अस्पतालहरु घाइते जेन–जी पुस्ताले भरिएका छन् । अस्पतालभित्रै अश्रुग्यास र गोली हानिएको छ । कठैबरा ! दुई शक्तिशाली पार्टीको सरकार ! सत्तामा बस्नेका छोराछोरी जेन–जी नै भए पनि सडकमा जानु पर्दैन, किनकि तिनका बाउआमाले राज्यको ढुकुटीको दोहन गरेका छन् । त्यही दोहन गरेको पैसाले तारे होटलमा पिजा र बर्गरमा रमाउँदै छन् । देश त तिनको बाउको बिर्ताजस्तै भएको छ नि होइन र ?
होइन । यो देश हातका औंलामा गन्न सकिने मानिसहरुको बाउको सम्पत्ति होइन जुन अंशमा पाउने । तर भइरहको छ त्यस्तै । तीन दशकदेखि अंश भागबण्डा गरेजस्तै बाँडीचुडी खाइरहेका छन् । त्यसैले त खोक्रो बनिसक्यो देश । त्यही देश जोगाउन ‘जेन–जी’ कहाँ जाने भन्दै एक ढिक्का भएका हुन् ।
जेन–जी भन्छन्, ‘तिमी देऊ तिम्रा हातहरु, म दिन्छु मेरा हातहरु, आऊ मिलाऔं हाम्रा हातहरु ।’तर मिल्न दिएनन् । स्कुल–कलेजको पोसाकमा सजिएर ‘भ्रष्टाचार अन्त्य गर’ भन्न पनि पाइएन । त्यत्ति सुन्दर बगैंचा, माइतीघर बगैंचाबाट निस्किएर सुन्दर मुलुक बनाउनुपर्छ भन्ने सोचले अगाडि बढेका जेन–जीको मात्र होइन, उनीहरुका परिवारको सपना पनि बानेश्वर पुगेपछि चकनाचुर भयो । भविष्यको रेखा कोर्न कलेज पठाएका छोराछोरीको रगतमाथि सरकारले होली खेल्यो ।
स्कुले केटाकेटीमाथि पानीका फोहोरा, अश्रुग्यास अनि गोली बर्साइयो । क्षणभरमा प्राण पखेरा उडी गयो । कहाँ पुग्ने सपना बोकेर हिँडेको कोपिलालाई चुँडेर लग्यो । सत्ताको स्वाद चाख्न पल्किएकाहरुले जेन–जी पुस्ताका छोरानातिका रगतमा डुबुल्की मारे ।विगत ३० वर्षदेखि एउटा पुस्ता खाडीमा जागिएको छ । त्यही ३० वर्षदेखि केही परिवार देश हाँक्ने ठेक्का लिएर जनताले तिरेको करमा देशको ढुकुटी रित्याउँदै उसका परिवारका लागि स्वर्ग बनाइरहेको छ । बेरोजगारीले थिल्थिएको छ । स्वास्थ्य उपचार नपाएर किड्नी बेच्न बाध्य छ । तर पनि मौन छ ।
अब त्यो मौन रहने पुस्तालाई झकझक्याउने र देशभित्रै रमाउने बनाउने जेन–जी पुस्ता कहाँ जाने ? कसलाई सोध्ने ? अभिभावकका रुपमा रहेको सरकारमा बस्नेहरुको बोलीको जवाफ गोलीले दिन्छन् । त्यसो भए कहाँ जाने ? के यो देश मेरो पनि होइन र ? भन्ने गीतको भाका जस्तै हो । यो देश तिमी र तिम्रा सन्तानका लागिमात्र स्वर्ग हो ? अरुलाई लागि यो देश के हो ? मैले यो देशको मुहार फेर्नका लागि आवाज उठाउन नपाउने ?
मलाई बोल्न दे सरकार ! बोल्ने दे सरकार भन्दा बोलीलाई गोलीले उडाइदिने ? तिमी कुन हिटलर हौ ? तिमीले यो देश र जनताका लागि के दियौं ? तिमी मरेर जाँदा के लिएर जान्छौ ? तिम्रा सन्तान, परिवार अनि झोले र चम्चेहरुका लागिमात्र स्वर्ग बनाउनका लागि राजनीति गर्दै छौ ?
तिम्रा छोराछोरी त समुद्रपारी पौडी खेल्दै होलान् । तिमी जनताको छोराछोरीको रगतमा पौडी खेलिरहेका छौ । त्यसो भए जनताका छोराछोरी कहाँ जाने ? यही माटोमा जन्मिएर यही माटोमा रमाउन नपाउने ?‘जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी’ भन्ने मूल मन्त्रलाई तिलाञ्जली दिने ? त्यसो भए जेन–जी पुस्ता कहाँ जाने ? बाटो देखाइदेऊ । तिमी र तिम्रा सन्तानहरुले मात्र बाँडीचुँढी पालैपालो मोज गर । झोले र चम्चेहरुका लागि भिजिलान्ते बनाएर डिस्कोतिर लगेर नचाऊ । त्यो दिन आउँछ एक युगमा एक दिन एक पटक आउँछ त्यही एक दिनले उलटपुलट नै ल्याउँछ ।