भारतीय विदेशसचिव नेपाल भ्रमणमा आएसँगै नेपालमा दुई विषयमा बहस सुरु भएको छ । पहिलो, विदेशसचिव विक्रम मिस्रीले पाएको अतिथ्यता । दोस्रो, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनको गेस्चर । मिस्रीले काठमाडौं उत्रनासाथ राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेतासँग क्षणमै भेट्न भ्याए । हुन त नेपाली नेताहरु लैनचौर नै गएर भेट्ने प्रथा भए पनि पछिल्लोपटक भारतीय नेताहरु आफैं नेपाली नेताको पायक पर्ने ठाउँमै पुगेर भेट्ने गर्छन् ।
लैनचौर जाँदा नेपाली नेताहरु आलोचनाको सिकार बन्ने बुझेर भारतीय अधिकारीहरु अचेल नेताको घर कार्यालयमै पुग्न थालेका छन् । यसपटक भारतीय सचिव मिस्री बूढानीलकण्ठदेखि खुमलटारसम्म पुगे । भारतमा डेरा जमाएर बस्दा पनि हाम्रा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई उच्चस्तरीय भेटको कुनै अवसर दिइएको थिएन । जसकारण लामो समयदेखि भारत भ्रमणको भोकले छट्पटिएका प्रधानमन्त्री ओली बरु चीनतिर हुँइकिन बाध्य बने । भारत भ्रमणको ‘ग्रिन सिग्नल’ पाएपछि ओलीसहित यो सरकारको भुँइमा खुट्टा छैन । भारतको एक जना मामुली कर्मचारीसँग झुक्नुपर्दाको कूटनीतिक पीडा हो यो । अर्को विषय हो ओलीसँग मिस्रीको गेस्चर । एमालेका नेताहरुले नै प्रधानमन्त्री ओलीसँगको भेटमा मिस्रीले सामान्य शिष्टाचार प्रयोग नगरेको आरोप लगाएका हुन् । ओलीसँगको भेटमा मिस्रीले उपरखुट्टी लगाएको तर अरु नेतासँग भेट्दा शिष्टाचार पालना गरेको एमाले नेताहरुको आरोप छ ।
सरकारमा रहेको नेतृत्वले हीनताबोध भोग्दै गर्दा कार्याकर्ताले एउटा बसाइँलाई लिएर यसरी टिप्पणी गर्नु अर्को हीनताबोध हो । सरकार प्रमुख हुँदै कार्याकर्ता र सर्वसाधारणले भारतीय पक्षसँगको भेटलाई सशंकित तवरले हेर्ने गर्छ । छिमेकी आउँदा स्वागत सत्कार नेपाली परम्पराको अति विशिष्ठ परम्परा हो । संस्कार नै हो । तर नेपालीहरु छिमेकी राष्ट्रका नेता र सरकारी अधिकारीहले पाएको ‘एक्सेस’लाई लिएर अनेक शंका उपशंका गर्न भ्याउँछन् ।
हुन त विभिन्न आन्दोलनमा छिमेकीको हेपाहा प्रवृत्तिको विरोध गर्दै आएका नेपालीका लागि यो सामान्य विषय हो । तर नेपाल भित्रिएको पाहुनाबाट हामीले फाइदा लिन सक्नुपर्छ । यसरी जथाभावी रुपमा शंकाउपशंका गर्नुभन्दा सहजीकरणमा सहयोग गर्ने काम नेपाली समाजको हो । यसलाई चिर्न सकेमा पक्कै पनि कूटनीति सुध्रिन्छ । नभए कुण्ठा पोखेर कूटनीति बन्दैन ।