मंगलबार नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ यसपटक सरकारले यो दिवस मनाउँदै गर्दा युवालाई देशमा अड्याउने प्रभावकारी योजना ल्याउन सकेको छैन । सरकारले यसरी बर्सेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न थाल्यो । युवालाई सक्षम र उद्यमशील बनाउन भन्दै करोडौं खर्चंदा पनि युवाको श्रम र सीप विदेसिन थालेको धेरै भइसक्यो ।
अहिले ८० लाखभन्दा बढी युवाको अब्बल समय विदेशमा खर्चिएको छ । उनीहरुको ऊर्जाशील समय विदेशमा खर्चनु देशका लागि ठूलो घाटा हो । यसको प्रमुख कारण हो रोजगारी र उद्यमशीलता सिर्जना गर्न नसक्नु । नेताहरु राजनीतिक परिवर्तनको नाममा भाषण र गफमा रमाउन थाले । भाषण र गफले पेट भरिँदैन । वर्षमा करिब पाँच लाख युवा श्रमबजारमा प्रवेश गर्दछन् । ती युवा रोजगारी खोज्दै विदेसिन्छन् । धनी होस् या गरिब देश, नेपाली पुगेको देश सायद अब बाँकी छैन ।
युवाहरुले नेपालमा भविष्य देखेका छैनन् । सरकारले युवालाई लक्षित गरी नीति निर्माण गर्न नसक्नुको परिणाम हो यो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवा (राष्ट्रिय नीतिअनुसार १६-४० वर्ष उमेरको जनसंख्या) ४२.५६ प्रतिशत अर्थात् एक करोड २४ लाख १२ हजार १७३ रहेको छ । यो जनशक्तिलाई उचित वातावरण दिनसके मात्र विकास र राष्ट्र निर्माणमा सकारात्मक गति हासिल गर्न सकिने देखिन्छ । देशभित्र युवाको क्षमता परिचालन गर्न कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि र सेवा व्यवसायजस्ता क्षेत्रमा युवालाई परिचालन गर्नु आवश्यक छ ।
तर देशको अवस्था हेर्दा युवा अडिने एउटै ठाउँ हो राजनीति । राजनीतिमा लागेकाहरुले मात्र अवसर पाउँछन् । त्यसका लागि चुनावमा लड्नुपर्छ । चुनाव सकेपछि फेरि जाने भनेको वैदेशिक रोजगारीतिरै हो । विश्वका शक्तिशाली देशहरु युवाको सीप सदुपयोग गरेरै उदाएका छन् । नेपालमा यस्तो योजना बनेकै छैन । बरु सरकार आफैं अड्डा खडा गरेर श्रम स्वीकृति खुलाउन तम्तयार भएर बस्छ । वैदेशिक रोजगारीमा पठाएर रेमिट्यान्स आउँदा रमाउँछ । रेमिट्यान्समा बेचिएको आफ्नो नागरिकको सीप र समय सरकारले हेर्दैन । समृद्ध नेपालको नारा हरेक दिन उराल्ने तर युवाको पक्षमा कुनै नीति नबनाउने हो भने भोलि युवा दिवस मनाउनु पनि सरकार प्रवास पस्नुपर्ने अवस्था आउन सक्छ । युवाजतिलाई विदेश पठाएर मुलुकको समृद्धि देख्नु केवल सपनामात्र हुने छ ।