लेखसार
तामाङ मौलिक पहिचान सहितको सभ्यताले युक्त समाज हो। यसको धार्मिक पक्षलाई हेर्ने हो भने बोन र बौद्धको सुन्दर संयोजित स्वरूप र आयामहरू देख्न सकिन्छ। तामाङ बोनमा स्थापित ऊर्जा व्यवस्थापन‚ कस्मोलोजी (लोक र परलोकसहितको लोकका मान्यता)‚ सामाजिक संस्कृतिक‚ कार्यभारको बाँडफाँड साथै परसंस्कृति ग्रहण वा आदानप्रदान लगायतका प्रविधिहरूले सिद्धान्तका रूपमा काम गर्यो। फलस्वरूप बोन र बौद्ध जस्ता विपरीत पक्षहरू एकापसमा जोडिन सम्भव भयो।
आज पनि बोन र बौद्धका बीच आपसमा हल्का ख्यालखट्टा हुने गर्दछन्। त्यसक्रममा एकले अर्कोलाई सहज स्वीकारेको पनि देखिन्छ। त्यसको लागि तामाङमा प्रचलित चोहो व्यवस्थाले अति सकारात्मक भूमिका खेल्यो। नयाँ तथा प्रभावकारी प्रविधिलाई बिना हिचकिचाहट अवलम्बन गर्ने बोम्बोको प्रकृति वा गुणले पनि यी दुईका बीच संयोजन सम्भव गरायो। नयाँ तथा प्रभावकारी विषयलाई तत्काल बिना हिचकिचाहट स्वीकार्ने साथै आफूलाई समायानकूल अनुकूलनको लागि तयार गर्न सक्नेहरूका माझमा शायद बोम्बो समान अन्य कोही वा कुनै छैन। यसप्रकार तामाङ समाजमा विद्यमान धार्मिक संयोजनका आयामहरू अति सुन्दर देखिएका छन्।
शब्द कुञ्जी
बोन‚ बोम्बो‚ झाँक्री‚ शामन‚ ताम्बा(तम्बा)‚ लामा(लम)‚ ञिङ्मा‚ वर्ग–मित्र‚ फो’ल‚ ह्रुइ‚ रिग्जेन‚ घेवा(गेवा)‚ जिक्तेन‚ खोर्वैलिङ र थर्पेलिङ।
परिचय
तामाङ समाजले आफूलाई प्रागऐतिहासिक प्रमाणका आधारमा काठमाडौं उपत्यकासहित वोरिपरीको भुमिको पहिलो बासिन्दाको रूपमा दाबी गर्दै आएको छ। नेपालमा तामाङलाई जाति‚ समुदाय‚ आदिवासी‚ मूलवासी(मूलनिवासी)‚ जनजाति‚ आदिवासी जनजाति लगायतका सञ्ज्ञाद्वारा अभिहित गरिँदैआएको छ। नेपालको वागमती प्रदेश भित्रको काठमाडौं उपत्यका सेरोफेरोमा रहेका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका पहाडी पाखामा करिब सात हजार फीटसम्मका उचाइमा तामाङहरू बसोबास गर्दै आएका छन् । नेपालको अरू प्रदेश र जील्लामा पनि तामाङ्को बसोबास रहेको छ। साथै भारत, भुटान, बर्मा सम्म पनि तामाङ्हरूको बसोबास रहेको पाइन्छ।
तामाङको आफ्नै धार्मिक आस्था‚ मूल्य‚ मान्यता तथा दर्शनसहितको धर्म स्थापित रहँदैआएको छ। वास्तवमा तामाङको आफ्नै मौलिक धर्मको रूपमा बोनलाई लिइन्छ। यो बोन तिब्बतको स्हङस्हुङक्षेत्रमा स्थापित तोन्पा शेन्रब वा शेरब मिबोद्वारा स्थापित बोन होइन। त्यसभन्दा पनि धेरैअघिदेखि प्रचलित बोन हो। यसैलाई अङ्ग्रेजी साहित्यमा Shaman (शमन) भन्ने गरिएको देखिन्छ। तामाङ बोन पनि शामानिजम समान बोन हो। लेरी पिटर्सले ( Larry G. Peters) फुर्स्ट ( Furst, 1972)लाई उदृत गर्दै शमनवाद(झाँक्रीवाद) सबैभन्दा पुरानो आध्यात्मिक अभ्यास हो; जुन १००‚००० (एक लाख) वर्ष वा सोभन्दा पनि बढी पुरानो हो भनेका छन्(Larry G. Peters, Nepalese Shamanism, 2004, p. 5)।
मौलिक बोन धर्मको साथमा अहिले हिमाली महायानी बौद्धधर्म पनि तामाङमा प्रचलित रहेको छ। महायानी अन्तर्गतको वज्रयानी ञिङ्मा परम्परालाई तामाङ समाजले अवलम्बन गरिँदैआएको धेरै लेखकहरूले लेखेका छन्। यसको अतिरिक्त सक्यपा‚ गेलुक्पा साथै कग्युपाका अनुयायी पनि नभएको होइन। यसप्रकार बोन र बौद्धको सम्मिश्रण नै तामाङ धर्मको रूपमा स्थापित रहँदैआएको छ। बोनको मुख्याधिकारी बोन तथा बोम्बो(झाँक्री)हरू हुन् भने ञिङ्मा परम्पराको चाहिँ लामाहरू हुन्। यी दुई नितान्त अलग दर्शनमा आधारित भनिए तापनि कसरी संयोजन सम्भव भयो र यसका आधारहरू के के देखिन्छन् भन्ने सन्दर्भमा उजागर गर्ने प्रयास गरिएको छ।
समस्या कथन
तामाङ समाजको मौलिकता बोनमा आधारित देखिन्छ। यसको विपरीत तामाङलाई जन्मजात बौद्धधर्मावलम्बीको रूपमा उभ्याइएको छ। जन्मत: बौद्ध हुन्छ र हुँदैन भन्ने विवाद पनि छँदैछ। बोन (बोम्बोसहित)‚ तम्बा र लामाका बीचमा एक किसिमको अख्तियारीको विषयमा द्वन्द्व कायम छ। यदाकदा मृत्यु संस्कारको बेलामा बोन र लामा मध्ये कसले गर्ने भन्ने सवालमा विवाद भएका पनि देखिन्छन्। यी दुईका बीच शक्ति सङ्घर्ष भएको सम्बन्धी किंवदन्तीहरू पाइन्छन्। फलस्वरूप समाजमा धार्मिक‚ दार्शनिक‚ मूल्य मान्यता तथा विश्वासपद्दतिमा विशेष किसिमको समस्या वा अन्यौलता रहँदैआएको छ। तथापि यी दुईबीच सफल संयोजन हुँदैआएको पनि छ। यिनका आयामहरू के के हुन् भन्ने बारेमा डेबिट एच. होल्मबर्गद्वारा (David H. Holmberg) बाहेक खासै अध्ययन भएको देखिँदैन। यो अध्ययनको क्रममा यी दुई विपरीत भनिएका धार्मिक दर्शन र अभ्यासका बीच संयोजनका आयामहरूलाई पर्गेल्ने प्रयास गरिएको छ।
उद्देश्य
यस अध्ययनको मुख्य उद्धेश्य बोन र बौद्धका बीच भएको धार्मिक संयोजन र तिनका आयामहरूको बारेमा नयाँ तथ्य खोज्नु हो। समाजमा बोन र बौद्धलाई ठिक विपरीत बताउँछन् तर यिनीहरूका सम्बन्धलाई यथा स्वररूपमा बुझ्ने हो भने त्यसको लागि ‘वर्ग–मित्रता’ जस्तो राजनीतिक शब्दावलीको सहारा लिनुपर्ने हुन्छ। पुरानो भाष्य अनुसार यी दुई दार्शनिक मत तथा अभ्यासहरू विपरीत वा ‘वर्ग–शत्रु’ हुन् तर यो भाष्य गलत देखिन्छ। वास्तवमा यिनीहरूका बीचमा रहेका ‘वर्ग–मित्रता’को कारण संयोजन सम्भव भएको हो। पुरानो भाष्य सही भएको भए दुईमध्ये एकको वर्चस्व समाप्त हुने थियो। त्यस्तो नहुनुले यी दुईलाई एकै थलोमा जोड्न आवश्यक संयोजकहरू दुवैमा कायम रहनु भन्ने हुन्छ। यसको सिधा अर्थ यिनीहरू ‘वर्ग–मित्र’ हुन् भन्ने हुन्छ। यिनै तथ्यका आधारमा यी दुईबीच संयोजक खोज्ने साथै तिनका बारेमा नयाँ तरिकाबाट छलफल गर्ने उद्धेश्यसहित यो अध्ययन पूरा गरिएको छ।
अध्ययन विधि
यस अध्ययनको लागि सामान्यत: प्राथमिक स्रोतका रूपमा प्रचलित केही किंवदन्ती तथा भाष्य साथै द्वितीय स्रोतको रूपमा प्रकाशित सामग्रीहरूलाई लिइएको छ। यस्तैगरी प्राप्त स्रोतका आधारमा बोन र बौद्धका बीच विद्यमान समानता वा ‘वर्ग–मित्रता’का पक्षहरू लाई पर्गेल्दै तिनै पक्षहरूलाई सिद्धान्तका रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। यसप्रकार अध्ययनको क्रममा प्राप्त वा देखिएका सिद्धान्तहरूलाई विश्लेषण विधिद्वारा यो लेखको रूपमा प्रस्तुत गरिएको छ।
विषयगत व्याख्या र विश्लेषण
यस लेखको विषयगत व्याख्या र विश्लेषण यसप्रकार गरिएको छ।
तामाङ बोन तथा ञिङ्मा (तिब्बती बौद्धधर्म) बीच धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा बोन र बौद्धधर्म अन्तर्गत ञिङ्मा परम्पराको समिश्रित स्वरूप स्थापित छ। तामाङका पुर्खाहरूले पहिले बोनधर्म मान्दथे तर पछि मात्रै बौद्धधर्मले प्रवेश पाएको थियो (तामाङ‚ रूद्रसिंह‚ २०५९‚ तामाङ जातिमा बौद्ध धर्म‚ पृ. २६)। यसको लागि संयोजकको भूमिका तम्बा(एक संस्था‚ पद) ले गर्दै आएको छ (मोक्तान‚ धावा वाङे्ल‚ २०८०‚ तम्बाला कइरन‚ पृ. ३४) ।
सुदास लामाले विद्यावारिधिको शोधपत्रमा उल्लेख गरे अनुसार अलाका चट्टोपाध्यायले Atisa and Tibet, life and works of Dipankara मा गुरू पद्मसम्भवले तात्कालिक बोन्पोहररूलाई तिब्बतबाट हटाउने मात्रै नभई बौद्धधर्ममा दीक्षित गरी संरक्षकका रूपमा स्थापित गराउँदै बौद्धधर्मलाई नयाँ रूपमा स्थापित गराएपछि लामावादको उदय भएको हो भनी लेखेका छन्। लामाले Austine Waddell द्वारा लिखित पुस्तक Buddhism & Lamanism of Tibet(1979:30)लाई उदृत गर्दै लामावादमा बोनको अनुष्ठान र मन्त्रका मिश्रण रहेको लेखेका छन्। त्यसरी लामावादको स्थापनासँगै तिब्बतमा प्रतिबन्धित बोन्पोहरूलाई मानव वा अन्य प्राणीका रक्तपातपूर्ण बलिको सट्टा पिठो मुछेर मानिस वा जनावरका प्रतीक प्रयोग गर्न लगाएका थिए(Lama, Sudash, 2013, FROM BON TO BUDDHISM, p. 143)।
वास्तवमा लामा परम्पराअनुसार गरिने कार्यहरूमा पनि बोनको प्रभाव पाइन्छन् (तामाङ‚ रूद्रसिंह‚ २०५९‚ तामाङ जातिमा बौद्ध धर्म‚ पृ. २)। ञिङ्मापरम्परा तान्त्रिक महायानी सम्प्रदाय अन्तर्गत पर्दछ (लामा–तामाङ‚ मुक्तिसिंह‚ २००९‚ तामाङ जर्नल‚ पृ. १०७)। यी दाबीहरूले पद्मसम्भवद्वारा स्थापित गराइएको वज्रयान सम्प्रदाय बोन (बोम्बो/Shaman)सँग निकट रहेको स्पष्ट हुन्छ। यसै शिलशिलामा Geoffrey Samuel ले पनि बुद्धत्व प्राप्त गर्ने वज्रयानको प्रविधिले व्यावहारिक रूपमा झाँक्रीवादी अभ्यासकर्ताहरूलाई तालिम दिने माध्यमको रूपमा काम गर्दछ। तिब्बतमा लामाहरूले वज्रयान बौद्धधर्मको प्रविधि र पक्षहरू माफर्त् झाँक्रीका रूपमा काम गर्दछन्। त्यहाँ अल्पसङ्ख्यकद्वारा राखिएका ज्ञान प्राप्तिको खोजी साथै बहुसङ्ख्यकद्वारा गरिएका झाँक्रीवादी सेवाका चाहनाको कारण यस्तो भएको हो( Samuel, Geoffrey, 1993, Civilized Shamans Buddhism in Tibetan Societies, p. 9.)।
अलाका चट्टोपाध्यायलाई उदृत गर्दै‚ Tucci, Snellgrove, Hoffman लगायतका तिब्बत विशेषज्ञहरूले पनि ञिङ्मा परम्पराका धेरै सिद्धान्तहरू र बोनबाट आएका हुन सक्छन् भनी लेखेका प्रसङ्ग सुदास लामाले उल्लेख गरेका छन्। यसै शिलशिलामा कतिपयले लामावादको ञिङ्मा परम्परा नै बोनमा मिसिएको दाबी गर्दछन्। यो दाबीलाई अझै पुष्टि गर्ने गरी स्वयम् गुरू पद्मसम्भव आफैले “ङ बोन्पो पेमाज्युङ्ने यिन् ” (पेमा कथङ‚ पृ. ३८६) भन्नुभएको देखिन्छ। यसप्रकार बोन र वज्रयान(ञिङ्मा परम्परा)का बीचमा विशेष सम्बन्ध रहेको स्पष्ट हुन्छ। वास्तवमै तामाङ समाजमा बौद्धको तथा बोन(बोम्बो)का सुन्दर संयोजन पाइन्छ। खोजराज गोले दाबी गर्छन्‚ ञिङ्मा र बोनका कयैन् पक्षहरू एकापसमा यस्तरी जोडिएका छन्; जसलाई छुट्याउनको लागि Cultural÷religious genologist कै आवश्यक पर्दछ। उनी थप्छन्‚ ञिङ्मा आफै तान्त्रिक वज्रयानी भएकोले पनि बोन(बोम्बो)हरूसँग मिलन सम्भव भएको हुनुपर्दछ।
पहिलो पटक यी दुईका कसरी जम्काभेट साथै अभ्यास सम्भव भयो भन्ने सम्बन्धमा करीब एउटै किंवदन्ती पाइन्छ। उहिले कुनै एक तामाङ गाउँमा दुई दाजुभाइ बसोबास गरिरहेका हुन्छन्। दाइले बोन काम गर्दछ तर भाइले चाँही बोनको काम सिकेको हुँदैन। तर पछिल्लो समयमा भाइले लामा सिक्छ। त्यसपछि घरमा झगडा हुन्छ। यिनीहरूका झगडा मिलाउने क्रममा जन्मिए देखि जीवनभर दाइले हेर्ने (लसोलदेखि बिमारीको उपचार समेत) साथै मृत्युपछि भाइले मृतकको नम्सेलाई (सेम् =चित्त)तार्ने सहमति हुन्छ (गोले‚ खोजराज‚ २०७८‚ द्वन्द्व व्यवस्थापनसम्बन्धी तामाङ परम्परागत संयन्त्र र चोहोको भूमिका एक अध्ययन‚ पृ. ७९)। त्यसपछि मात्रै तामाङमा लामाको प्रवेश हुन्छ।
यसप्रकार तामाङ समाजमा प्रवेशसँगै ञिङ्मा परम्परालाई पनि तामाङकरण गरिएको देखिन्छ। त्यसैलाई ‘तामाङ बौद्धधर्म’(Tamang Buddhism) भनिएको हो। यसै सन्दर्भलाई अझै स्पष्ट पार्नको लागि थप प्रसङ्ग जोड्नुपर्ने हुन्छ। यिनीहरूको संयोजनको लागि एक किसिमले सिद्धान्तको रूपमा काम गरेका देखिन्छन्; जुन निम्नानुसार देखिन्छन्।
१. ऊर्जा व्यवस्थापनको सिद्धान्त
समाज विकासमा ऊर्जा (प्राकृतिक स्रोत तथा संसाधन) व्यवस्थापन प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। तामाङमा ऊर्जा व्यवस्थापनको आफ्नै मौलिक प्रविधि रहेको छ। त्यसले एक किसिमबाट सिद्धान्तको रूपमा काम गरिरहेको हुन्छ। तामाङ बोनले हावा‚ आगो‚ पानी‚ माटो र आकाशलाई प्रमुख ऊर्जा मान्दछ। यिनलाई क्रमश: सेतो‚ रातो‚ हरियो‚ पहेँलो साथै निलो रङद्वारा चिनाइन्छन्। पृथ्वी लगायत मानव देह तथा चेतना पनि यिनै पाँच तत्वसँग सम्बन्धित रहेका हुन्छन्। यी तत्वहरू एकपछि अर्को स्थापित हुँदै र जोडिँदै आउँछन्। त्यसरी स्थापित वा विस्थापित हुनेक्रममा नै सिर्जना र समापन हुने गर्दछन्।
यी तत्वहरूमा उचित समायोजनद्वारा स्वास्थ्य लाभ हुने साथै असन्तुलनले बिमार वा समस्या निम्त्याउने गर्दछन्। बोनमा प्रचलित यिनै पाँच तत्वहरूलाई वज्रयानी ञिङ्माले पनि स्वीकारे। त्यसक्रममा थोरै परिमार्जनसहित दर्ज्यू र लुङ्ताको बनाए। त्यस्तैगरी पाँच तत्त्वहरूलाई पाँच दिशामा पाँच पुरूषबुद्ध र महिलाबुद्ध वा डाकिनीका रूपमा स्थापित गराए। त्यसमा तन्त्र‚ मन्त्र र यन्त्रका प्रयोग पनि छँदै थियो।
तिब्बतमा सामाजिक सांस्कृतिक यथास्थितिवादी गुण अर्थात ‘Social Inertia’ निकै सशक्त थियो। फलस्वरूप दर्शनले मात्रै समाज परिवर्तन सम्भव भएन। उपाय स्वरूप गुरू पद्मसम्भवलाई तिब्बत पुर्याए। त्यसबीच उनलाई बोन प्रविधिअनुरूपका थप साधना र सिद्धि गराउँदै पुर्याए। तिब्बत प्रवेश गरिँदा गुरू पद्मसम्भव तान्त्रिक रूपमा पनि बोनभन्दा शक्तिशाली भइसकेको थियो। तिनको तान्त्रिक सिद्धि शक्तिमा तात्कालिक बोनहरूले राजनीतिक शब्दावलीको प्रयोग गर्ने हो भने ‘वर्गमित्रता’ देखे। फलस्वरूप बोन र बौद्धको सम्मिश्रण सम्भव भयो।
यिनै प्रसङ्गहरूलाई पुष्टि गर्नेक्रममा लेजली ह्वाइट(Leslie White) र जुलियन स्टेवार्डको(Julian Steward) संस्कृति उद्विकास सम्बन्धी सिद्धान्तलाई लिन सकिन्छ; जुन निम्नानुसार देखिन्छ।
लेजली ह्वाइट(Leslie White)र जुलियन स्टेवार्डको (Julian Steward) अनुसार संस्कृति निर्माणमा ऊर्जा र प्रविधिको विशेष संयोजन भएको हुन्छ। त्यसलाई बुझाउनको लागि लेखकहरूले E X T = C अर्थात् Engergy x Technology = Culture भन्ने सिद्धान्त विकास गरेका देखिन्छन् (https://web.mnstate.edu/robertsb/348/ANTH%20348writingassignments%202011_files/Neoevolution%202013.pdf)। यो सिद्धान्तअनुसार समाजले खपत गर्ने ऊर्जा साथै त्यसको लागि प्रयोग गरिएका प्रविधिको आधारमा संस्कृति निर्माण साथै विकास हुन्छ। तामाङ समाजमा बोन तथा बोम्बो ज्ञानको आधारमा ऊर्जाहरूका पहिचान‚ सञ्चालन तथा व्यवस्थापन गरिँदैआएको थियो। शुरूवाती चरणमा उनीहरूका ऊर्जा व्यवस्थापनको प्रविधि पछिल्लो समयमा विकसित बौद्धको जस्तो उन्नत थिएन होला। गुरू पद्मसम्भवले बौद्ध ज्ञान साथै बोन प्रविधिलाई सम्मिश्रण गरी अझै सशक्त रूपमा स्थापित गराएपछि बोनहरूले पनि ञिङ्मा परम्परामा पहिले शान्तरक्षितद्वारा प्रचारित विशुद्ध बौद्धदर्शन भन्दा धेरै नजिकको वा अपनत्व देखे। त्यसपछि मात्रै यी दुईका बीच सम्मिश्रण सम्भव भयो।
२. लोक तथा परलोकको सिद्धान्त
मानव विश्वास पद्धति‚ सामाजिक सांस्कृतिक साथै धार्मिक मूल्य‚ मान्यता तथा दर्शनहरूले लोक र परलोकका बारेमा आ–आफ्ना धारणा‚ मत निर्माण गरेका देखिन्छन्। बोन मान्यता अनुसार लोक र परलोक हुन्छन्। यी दुईलाई पनि विभिन्न तरिकाले विभाजन गरिएका हुन्छन्। सामान्यत: लोकभित्र चराचर जगत् पर्दछ। यसमा मनुष्य‚ पशुपङ्क्षीसहितको पर्यावरणमा अवस्थित जैविक विविधता पर्दछन्। यी सबैका समग्रतालाई नै बोनहरूले लोकको रूपमा मानेका देखिन्छन्। यो लोक खोर्वैलिङ अन्तर्गत पर्दछ।
त्यस्तैगरी परलोकमा तेङ(सबै भन्दा माथि) देवलोक रहेको हुन्छ। यी देवहरूमा पनि हिन्दूमान्यतासँग समानता राख्ने स्वर्ग समान चाहिँ हुँदैन किनकि स्वर्गलाई बोनले खोर्वैलिङमा राख्दछन्। तेङ चाहिँ बौद्धमान्यता अनुसारको बुद्धलोकसँग नजिक देखिन्छन्। यहाँ पुगेका सत्वहरू पुन:जन्मका चक्रबाट मुक्त हुन्छन्। यहाँ धेरै लोकहरू छन्। ती लोकहरू मध्ये मृत्यु पछि मान्छेका सेम/नम्से (चित्त) पनि यहीँ पुग्दछन्। यसप्रकार बोनमा पुन:जन्मको अवधारणा रहेको देखिदैन।
त्यस्तैगरी तेङको मुनि बर हुन्छ। यहाँ चनहरू हुन्छन्। यिनीहरूलाई नै शिकारी पनि भन्ने गरिएका पाइन्छन्। यिनीहरूका पार्थिव देह हुँदैन। यिनीहरू हावा स्वरूपमा हुन्छन्। त्यस्तैगरी होग(खोँच)मा पानी भरिएका हुन्छन्। पानीभित्र ङ्ह्याम्बुलिङ (नागलोक) हुन्छ। यदि मानवको मृत्युपछि रिग्जेन वा पितृलोकमा पुग्न सकेन भने ऊ सिण्डी अर्थात् प्रेतलोकमा फस्तछ। यो लोकमा पनि पार्थिव शरीर नहुने तर भड्किएको हुनाले मानवको वरिपरि रहन्छन्। लोक विभाजन कै क्रममा अर्को ङ्यल्व हुन्छन्। यो लोकमा चाहिँ पापीहरूलाई सजाय वा दण्डित गर्नको लागि पुर्याउँछन् भन्ने मान्यता छ। यी लोकहरू लाई खोजराज गोलेले निम्नानुसार तालिकाबद्ध गरेको देखिन्छ।

तालिका नं. १
लोक तथा परलोकहरूलाई यस तालिकामा बद्ध गरिएसँग खोजराज गोलेले बोनवकै अवधारणाको आधारमा अर्को किसिमले पनि लोकहरूलाई विभाजन गरेका छन्। उक्त विभाजनअनुसार लोक मुख्यत: दुई किसिमका हुन्छन्; जस्तै : थर्पेलिङ र खोर्वैलिङ। लोकलाई नै तामाङ शब्दमा ‘लिङ’ भनिएको हो। थर्पेलिङ भनेको पार भएको वा निर्वाण प्राप्त भएको साथै लोक हो भने खोर्वैलिङको अनुवादित नाम भवचक्र हो। तामाङ शब्द खोर्वको अर्थ चक्र वा भूमरी हुन्छ। दु:खको सागरमा डुबिरहने हुँदा भड्किनु र यताउता गरिरहनु नै खोर्व हुनु हो। विशेषत: जीवित छँदा दु:खद्वारा पोलिएर सुखको खोजीमा भड्किनु साथै मृत्युपछि जरामरणको भूमरी परेर भड्किरहनु वा मुक्ति वा निर्वाण प्राप्त नहुनाले भड्किनु नै खोर्व हो। खोर्वैलिङभित्र देव‚ असुर‚ मनुष्य‚ पशु‚ प्रेत र नरक गरी छ लोकहरू पर्दछन्। यसलाई निम्नानुसार तालिकाबद्ध गरिएको छ।


तालिका नं. २
प्रस्तुत तालिकामा उल्लेख गरिएका लोकहरू ञिङ्मा र बोनमध्ये कसको हो भन्ने लाग्न सक्छ। यसप्रकार यी दुईका बीच समानता रहेको छ। यसप्रकार लोक र परलोकका बारेमा दुवैका मत समान भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा संयोजन वा सम्मिश्रण सम्भव भएको देखिन्छ। यी दुई मान्यतालाई तम्बाले अझै सशक्त रूपमा समाजमा स्थापित गराउँदै आएको छ। तम्बाले गाउँले ‘सछ्या न–मछ्या’ अर्थात् ‘धर्ती र आकाश’ उत्पत्तिसम्बन्धी गीतले यी लोकहरूबारे जानकारी पस्किँदै आएको देखिन्छ। यो गीतलाई बोनहरूले आफ्नो शेरबबाट लगिएको भन्छन् भने लामा(बौद्धमार्गी)हरूले चाहिँ अभिधम्मकोशबाट लगिएको दाबी गर्दछन्। त्यस्तैगरी कल्पला ह्वाई सिम्बुतेऽमुला ह्वाई (मृतकको जीवनवृतान्त र मृत्युपछिको यात्रा वणिर्त गीत)ले पनि यी लोकहरूका प्रसङ्गलाई समातेका हुन्छन्। यसप्रकार बोन र ञिङ्माका बीच ठूलो सामन्जस्यता कायम रहेको देखिन्छ।
वज्रयानी ञिङ्मा मान्यताले पनि देवलगायत ६ लोकलाई खोर्वैलिङ साथै थर्पेलिङको स्थानमा अनेकन् बुद्धलोकहरूका कल्पना गरेको देखिन्छ। यसले बोनमा भएको लोकका मान्यतालाई नै अझै बृहत् रूपमा अनगिन्ती लोकका दाबीसहित प्रस्तुत गरेको देखिन्छ। यही कारणले पनि बोन र ञिङ्मा दुई ‘वर्ग–शत्रु’ नभई ‘वर्ग–मित्र’का रूपमा रहेको भन्ने स्पष्ट हुन्छ।
३. सामाजिक सांस्कृतिक परम्परागत सिद्धान्त
सामाजिक सांस्कृतिक परम्परागत पक्षबाट पनि बोन र ञिङ्मा परम्पराका बीचमा गहन सम्मिश्रण देखिन्छन्। तामाङ समाज विशेषत: हिमाली‚ उच्चपहाडी र माबर(महाभारत)देखि चुरेश्रृङ्खलाको मुख्य बासिन्दा मानिन्छ। भौगोलिक अवस्थितिको कारण तामाङको आफ्नै विशेष सामाजिक तथा सांस्कृतिक पक्षहरू छन्। त्यसमा बोन(बोम्बो)का विशेष वर्चस्व कायम रहँदैआएको छ। जन्मदेखि मृत्यु संस्कारसम्म साथै प्रतिबन्धित वा निषेधित नियमहरू पनि मौलिक मूल्य मान्यतामा आधारित छन्। उदाहरणको लागि घरभित्र नसुसेल्ने; जाडोयाममा पुली(मुरली) नफुक्ने; मध्यबर्सात्मा गोरू नजोत्ने; सरूनमा खर नकाट्ने तथा घर नछाउने; ढोकातिर सिरानी नगर्ने; बलेसीमा नसुत्ने; सुङ्गुर(बङ्गुर)‚ स्याल‚ बाघ‚ भालु आदि लगायतका मासु घरमा नहुल्ने; विजातीय मान्छेलाई चुह्लो तथा लपोरे (घरको देउता) भएको स्थानमा नलग्ने; कतिपय अवसर र पूजामा तामाङइतर भाषाका प्रयोग नगर्ने; लाशलाई गैरतामाङ तथा अन्य कुनै पनि जीवजन्तुद्वारा नछुवाउने; शवयात्राको क्रममा ह्लमतेनभित्र विजात वा स्वाँगे वा हाडनातामा परेका व्यक्तिलाई प्रवेश नगराउने; नून तेल बार्ने तथा फुकाउने; विवाहिता महिलाको देहावसान हुँदा शवयात्रा‚ शवदहनदेखि घेवा समेतमा माइतीको आदेश पालना गर्नुपर्ने एवंरीतले मृतकको अस्तु माइतीलाई बुझाउनुपर्ने लगायतका कैयन् मान्यताहरू तामाङको मौलिक नियम हुन्। यी नियमहरू बोनसँग सम्बन्धित देखिन्छन् तर वज्रयानीहरूले यी सम्पूर्ण नियम वा सामाजिक सांस्कृतिक रीतिरिवाजहरूलाई स्वीकारेको देखिन्छ।
तामाङमा ह्रुइपरम्परा कायम रहेको छ। ह्रुइ अनुसार विवाहको लागि साइनो तय हुन्छन्। प्रत्येक ह्रुइको सुरक्षार्थ फो’ल स्थापित गराएका हुन्छन्। लबोनले फो’ललाई पुज्दछन्। ह्युलबोम्बोले ह्युलका शक्तिहरूलाई पुज्दछन्। बौद्धधर्ममा चाहिँ जातीय वा नश्लीयताको गुञ्जायस रहँदैन। यहाँ सांसारिक देव–देवीहरूलाई पुज्य मानिँदैनन्। बुद्धको शरणमा लागिसकेपछि सांसारिक देव–देवीका शरणमा जान वर्जित गरिएका हुन्छन्। विवाह होस् या मृत्युसंस्कार हरेकमा जातीय वा उत्पत्तिगत आधारमा छुवाछुत वा अनुमति वा बन्देज लगाइँदैन। ठूला लामागुरूहरूका नाम मात्रै हुन्छन्। उनीहरूका नामसँग ह्रुइ वा थर वा वंशीय परिचय खुल्ने सञ्ज्ञा तथा जात‚ जाति वा नश्ल खुल्ने सञ्ज्ञा राखिएका हुँदैनन्। यसको अर्थ यहाँ तामाङ बोन मान्यतामा जस्तो जातीय‚ नश्लीय वा वंशीय पहिचान सहितका नाम हुँदैनन्।
यद्यपि वज्रयानी तान्त्रिक ञिङ्मा परम्पराले तामाङमा प्रचलित यी बोन मान्यताहरूलाई सहर्ष स्वीकार गरेको देखिन्छ। तामाङ लामाहरू ञिङ्मा नै भए तापनि तामाङ ह्रुइ परम्परालाई उनीहरूले कहिल्यै छोडेका छैनन्। यिनै विशेषताहरूले पनि तामाङ बोन र ञिङ्मा परम्पराका बीचमा भेदको सट्टा सम्मिश्रणको लागि आवश्यक तथा उचित वातावरण बनेको देखिन्छ। यसप्रकार सामाजिक‚ सांस्कृतिक‚ भाषिक साथै धार्मिक लगायतका हकमा पनि सहकार्य हुन सम्भव भएको देखिन्छ। भाषाकै सन्दर्भमा भन्ने हो भने लामाका तिब्बतीय ग्रन्थहरूमा प्रयुक्त प्राय: शब्दहरू साथै बोनभाषाका शब्दहरू एकै वा समान छन्। यसले पनि भाषिक रूपमा बोन र बौद्धभाषाको शास्त्रीय वा मूलभाषा एकै परिवारको भन्ने स्पष्ट हुन्छ।
डेबिट एच. होमबर्गले (David H. Holmberg) अडर इन प्याराडक्स (Order in Paradox) नामक पुस्तकमा तामाङको सामाजिक सांस्कृतिक तथा धार्मिक सन्दर्भमा (१) लामा‚ (२) बोम्बो र (३) लम्बुलाई मुख्य तीन अधिकारीका रूपमा उल्लेख गरेका छन्। त्यस्तैगरी थप पाँच अधिकारीहरूमा (१) गुर्पा‚ (२) सेपोम्पो‚ (३) पुजारी‚ (४) हिन्दू पण्डित र (५) सङ्तुङ भनेको छ। समाजमा लामाको स्थान उच्च रहेको र उनीहरूले मृत्युसंस्कार‚ र छेचुमा मुख्य भूमिका निर्वाह गरिरहेको हुन्छ। लम्बुले बलि अभ्यासलाई निरन्तरता दिइरहेका साथै बोम्बोले झाँक्री संस्कार गरिरहेका हुन्छन्। उनले लामा र बोन्बो ठीक विपरीत दर्शनका अनुयायी भए तापनि समाजमा दुवैले मिलेर काम गरेको दाबी गरेका छन् (Holmberg, David H., ORDER IN..., 2005, p. 1-10.)। यी दुईका बीच रमाइला ख्यालठट्टा पनि हुन्छन् तर एकले अर्कोलाई आ–आफ्नो सामाजिक‚ सांस्कृतिक तथा धार्मिक लगायतका भूमिका निर्वाह गर्न अवरोध गर्दैनन्। बरू एकापसमा सहयोग र सल्लाह गरी सहज रूपमा कार्यसम्पादन गर्दछन्। यसले दुई फरक मतहरूका बीचमा एक किसिमको सुमधूर सहकार्यसहितको एकता कायम रहेको देखाउँदछ।
कतिपय अवस्थामा विशेषत: बोम्बोहरूका मृत्युसंस्कारमा लामाले भन्दा अघि–अघि बोम्बोले मृत्युसंस्कारको विधि पूरा गर्दछन्। त्यसमा लामाले नै बोम्बोलाई अघि पूरा गर्न लगाइरहेका हुन्छन्। बोम्बोलाई तारेर पठाउनको लागि लामाले मात्रै नहुने र बोम्बो अनिवार्य चाहिन्छ भनेर लामाले नै स्वीकार गर्दै आएको छ। बोम्बो विना लामाले मात्रै घेवा गरिँदैछ भने पनि सिन्धुली माबर क्षेत्रतिर ह्युलबोम्बोद्वारा सङ्सेरकेम साथै तेमाल क्षेत्रतिर गान्बा/ताम्बाले सहजकर्ताको भूमिका पूरा गरिएपछि बल्ल लामाले घेवा कार्य थाल्दछन्। मृतकको अस्तु समापनको लागि स्वह्रुइको सदस्य वा विवाहिता महिलाको माइती साथै त्यसको लागि तम्बा र चोहोलाई रोहबरमा राख्नु बोम्बो र लामा दुवैका विशेषता साथै सामाजिक‚ सांस्कृतिक अनि धार्मिक सहकार्यको उदाहरण हो। तिब्बती बौद्ध परम्परामा ठूला सिद्ध गुरूहरूका देहावसानपछि इन्द्रेणीदेह प्राप्त भएका प्रसङ्गहरू पाइन्छन्। इन्दे्रणीदेहको अवधारणा नै बोनबाट बौद्धमा लगिएको दाबी पाइन्छन् (Script: Matt Mackane Edit: Harsh Voiceover: Matt Mackane Music: Original Music & Epidemic Music, The Secret Teachings Of The Rainbow body, Asangoham, https://www.youtube.com/watch?v=S39IpOz_JIY )। यसप्रकार सामाजिक‚ सांस्कृतिक साथै धार्मिक हिसाबले पनि बोन र ञिङ्मा परम्पराबीच सहकर्मी तथा भाइचाराको नातासम्बन्ध रहेको स्पष्ट हुन्छ।
४. कार्यभार बाँडफाँडको सिद्धान्त
तामाङ समाजको संरचना मौलिक किसिमको छ। यसले गाउँलाई नाम्सा(नम्स) (आमबोली) साथै ह्युल(शास्त्रीयबोली) भन्दछ। खोजराज गोलेले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध तथा शान्ति अध्ययनतफर् स्नातकोत्तर तहको लागि द्वन्द्व व्यवस्थापनसम्बन्धी तामाङ परम्परागत संयन्त्र र चोहोको भूमिका एक अध्ययन शीर्षक रहेको शोधपत्रमा तामाङ गाउँको सञ्चालनमा चोहोको भूमिकासहितको कार्यविभाजन बारे विषयगत प्रसङ्गलाई स्पष्ट पारेका छन्; जुन निम्नानुसार देखिन्छन्।
गोलेको अनुसार तामाङले आफ्नो गाउँलाई सामुदायिक वा एउटा परिवारको रूपमा हेर्दछ। तामाङसँग राजनीतिक संरचना देखिँदैन। यसले राजनीतिको अवधारणा विकास हुनुअघि नै यो समाज वा सभ्यता निर्माण भइसकेको भन्ने देखिन्छ। गाउँमा कुनै शासन र प्रशासन हुँदैन। त्यसैले शासक र शासित पनि हुँदैन्। गाउँ सञ्चालनको लागि चोहो नामक गेन्दुन(संस्था) गठन गरिएको हुन्छ। प्रत्येक गाउँले नम्दुङ महिनामा सेरकेम गर्दछन्। त्यसपछि दुगुङ्ह्यमा ह्युल्जे गरिएपछि चोहो छान्दछन्।
चोहो व्यक्ति‚ पद्वी तथा संस्था तीनटै हो। चोहो गाउँको हर्ताकर्ता मात्रै नभई गोठालो वा हेरालु पनि हो। यहाँ शक्तिपृथकीरणको सिद्धान्तले काम गरिरहेको हुन्छ। चोहो अन्तर्गत बोम्बो‚ तम्बा(ताम्बा)‚ लम(लामा)‚ गन्बा(गान्बा)‚ मुइमू र छर्म्यङ लगायतका थप संस्थाहरू हुन्छन्। यी सबै संस्थाहरूले कुन–कुन अवसरमा कुन–कुन कार्य कसरी सम्पादन गर्ने भन्ने सम्बन्धमा तामाङ ठिगर(विधिशास्त्र)अनुरूप ह्युलछोऽब(गाउँ भेला)ले ह्युलठिम (गाउँको विधान) निर्माण गर्दछ।
कार्य विभाजनलाई हेर्ने हो भने तामाङमा विशेषत: अन्तिमसंस्कार(मृत्युसंस्कार)मा लामाको मुख्य भूमिका तोकिएको देखिन्छ। माथि उल्लेख गरिएअनुसार नै लबोन वा बोम्बोको हकमा चाँही लामालेभन्दा अघि बोम्बोद्वारा नै अन्तिमसंस्कार गराइन्छन्। खासगरी बोन वा घरमूली हजूरआमाले पनि न्वारनमा प्रमुख भूमिका निर्वाह गर्नु चाहिँ तामाङ मौलिक पक्ष हो। विवाहको मुख्य अध्याय चरदम(चरतम्) हो। यसमा मुख्यभूमिका ताम्बाको हुन्छ। त्यस्तैगरी आस्यङविना पनि विवाह पूरा हुँदैन। बोन वा बोम्बोको पनि विवाहमा महत्वपूर्ण सा–साना भूमिकाहरू हुन्छन्; जस्तै : स’ङसेरकेम गर्ने; तम्बाद्वारा फो’लको लागि स्थापित गरीदिएको सगुन छ्योत गर्ने; बाटोमा सगुन राखिएमा छ्योत गर्ने कार्य पनि बोम्बोकै हुन्छ। त्यस्तैगरी घरमा बेहुली भित्र्याउने बेलामा पनि बोम्बोले नै फो’लसँग नयाँ बेहुलीलाई चिनाएर भित्र्याउनुपर्ने हुन्छ। त्यसो त विवाहअघि घरलाई चोख्याउने कार्य पनि बोम्बोकै हुन्छ।
विवाहमा तम्बा र बोम्बो अतिरिक्त आस्यङ‚ बुसिङ(चेली)‚ मयुङ(माइती)‚ आपा‚ आमा‚ आङी/अनी‚ म्हेमे‚ माम्‚ आमाथेऽमे‚ गान्बा‚ मुइमू र चोहोका आवश्यकता पर्दछन्। त्यस्तैगरी स्यन्ब‚ छ्याङ्मा‚ बण्डिल्बा‚ कटौके, बन्दुके आदि लगायतका भूमिकामा पनि फरक व्यक्तिहरू हुन्छन्। त्यसको लागि १२ सगुन छिबा भनिन्छ। बाह्र भन्नाले १२ भन्ने गरिएको छ। यही आधारमा १२ जनालाई विभिन्न पद्वी दिएर सगुन राखिन्छन् तर एकथरी मत अनुसार बाह्र नभई बर (ब र) सगुनको ठिम थियो।
कसैको मरण परेमा वा घेवाको लागि लामालाई सगुन राख्दछन्। सगुनमा रक्सी मुख्य हुन्छ। यसप्रकार लामाको काम मृत्यु संस्कारमा नै हो। यतिखेर लामाविना सम्भव हुँदैन। हिजोआज न्वारनमा पनि लामा ल्याउन थालिएका छन्। कतिपयले विवाह पनि लामाद्वारा नै गराउन थालेका देखिन्छन्। दर्ज्यु‚ लुङ्ता राख्ने; दोमङ पाठ गराउने लगायतका कार्यमा पनि लामालाई नै निम्त्याउँछन्। कतिपय गाउँघरतिर मानिस बिमार पर्दा लामाले नै चि(पात्रो) हेरेर झारफुक पनि गरिरहेका हुन्छन्। त्यसो त कुन बार र कुन समयदेखि कस्तो बिमार परेको साथै त्यसको उपचार कसरी गर्ने भन्ने सम्बन्धमा लामाको विशेष पुस्तक पनि देखिन्छन्। यसप्रकार चोहोद्वारा कार्यविभाजनको क्रममा लामालाई निश्चित परिस्थितिको लागि उच्च सम्मानको साथमा स्थापित गराएका देखिन्छन्।
५. परसंस्कृति ग्रहण वा संस्कृति आदानप्रदानको सिद्धान्त
सांस्कृतिक परिवर्तनसम्बन्धी अध्ययनको क्रममा समाजशास्त्रीय तथा मानवशास्त्रीय सिद्धान्तहररूका निर्माण भएका छन्। तिनीहरूमध्ये परसंस्कृति ग्रहण वा सांस्कृतिक आदानप्रदानको सिद्धान्त पनि एक हो। यसलाई परसंस्कृतिकरण पनि भनिन्छन्। यसै सन्दर्भमा बेरी मोडललाई (Berry's Model) बिर्सनुहुँदैन। बेरीको अनुसार व्यक्तिले (१) एसिमिलेसन(Assmilation), (२) सेपरेसन(Separation), (३) इन्टेग्रेसन (Integration) र (४) मार्जिनलाइजेसन(Marginalizion) लगायतका आधारमा आफूलाई अलग्गै वा समाहित वा साटासाट के गर्ने भनी निर्धारण गर्दछ। सोहीअनुसार बल्ल नयाँ संस्कृतिसँग उसको सम्बन्ध निर्धारित हुन्छ।
यसै सन्दर्भमा शक्ति (विशेषत: राज्यशक्ति)ले ठूलो भूमिका खेलेको हुन्छ। त्यसो त प्याराडाइममा आउने परिवर्तनले पनि काम गरिरहेको हुन्छ। तामाङ बोन र ञिङ्माका बीचको सम्बन्ध तिब्बती परिवेशभन्दा फरक थियो। तिब्बतमा राज्यसत्ताले जबरजस्त लादेको थियो तर तामाङमा त्यस्तो थिएन। तामाङ समाजमा ञिङ्माका प्रवेशसँग पुरानो बोनले आफ्नो ‘वर्ग–मित्रता’ देख्यो। त्यसको लागि ञिङ्माले आफूलाई थेरवादबाट उठाएर तयार पार्दै ल्याएको थियो। नयाँ प्रतिको चाहना र जिज्ञासाले पनि केही हदसम्म काम गर्यो। तिब्बतमा भएको परिवर्तनले पनि थोरै मात्रामा वातावरण बनायो। सबैभन्दा धेरै चाहिँ बोनमा रहेको परिवर्तनकारी शक्ति नै हो। समाजमा सोसिएल इनर्सिया मात्रै होइन; सोसियल ट्रान्सफर्मेसन पनि हुन्छ। समाज सधैँ अग्रगामी हुन्छ। यो चेतना तामाङ समाज र विशेषत: बोनमा पनि थियो। अझै बोम्बो (डेबोम्बो) जतिको परिवर्तनकामी वा अग्रगामी त विश्वमा शायदै अरू होलान्।
डेबोम्बोहरू काम पूरा गर्न वा सफलता प्राप्त गर्न जातीय‚ नश्लीय‚ क्षेत्रीय र लैङ्गिकताको सीमालाई तोड्न अग्रसर वा तम्तयार रहन्छन्। हिजोआज सहरका शटरहरूमा व्यवसायिक रूपमा उत्रिएका बोम्बो(झाँक्री)हरूलाई लिन सकिन्छ। यसप्रकार तामाङले ञिङ्मा पूर्णत: आफूलाई विलीन गराउनुको सट्टा सम्झौता गर्यो। आपसमा साटासाट गर्यो। ञिङ्मालाई पनि तामाङकरण गरी तामाङ बुद्धिजमको रूपमा स्थापित गर्यो।
खासगरी नयाँको आगमनसँगै त्यसप्रति चासो बढ्नु स्वभाविक हुन्छ। गुरू पद्मसम्भवले शान्तरक्षितद्वारा जस्तै दर्शनको पक्ष मात्रै दिएनन्। उनले बोन जस्तै लाग्ने गरी तन्त्र‚ मन्त्र र यन्त्रसहितको जादुगरीकला पनि प्रस्तुत गरेका बताउँछन्। त्यसले पनि गुरू पद्मसम्भवद्वारा प्रचारित तथा विस्तारित बौद्धपरम्परा वास्तवमै स्यामुयल जिओफ्रेयले (Samuel Geoffrey) दाबी गरेजस्तै ‘सुधारिएको बोन (झाँक्री)’ जस्तै देखिन्थ्यो।
निष्कर्ष
तामाङ समाजमा बोन र बौद्धको सुन्दर संयोजन कायम रहँदैआएको छ। यी दुई संयोजनका आयामहरू पर्गेल्नेक्रममा भेटिएका किंवदन्ती तथा प्रकाशित सामग्रीहरूका सहारा लिइएको छ। त्यसक्रममा ऊर्जा व्यवस्थापनको सिद्धान्त‚ लोक तथा परलोकको सिद्धान्त‚ सामाजिक सांस्कृतिक संयोजनको सिद्धान्त‚ कार्यभार बाँडफाँडको सिद्धान्त साथै परसंस्कृति ग्रहण वाा संस्कृति आदानप्रदानको सिद्धान्तका आधारमा यी दुई विपरीत मानिएका दार्शनिक मतका बीचमा पनि संयोजन सम्भव भएको देखिन्छ।
बोन र बौद्धका बीच तिब्बतमा भयानक शक्ति सङ्घर्ष भएको देखिन्छ। कैयन्का ज्यानसमेत गएको इतिहास छ। तिब्बतको शक्ति संघर्समा बोन र बौद्ध एक अर्कामा आफुलाई स्थापित गराउन मुख्य भूमिका खेल्यो। त्यसैले शक्ति सङ्घर्षहरुमा बोनहरू बिलिन भए तर बौद्ध स्थापित हुन थाल्यो। नेपाली तामाङ सभ्यताको हकमा भने त्यस्तो कुनै द्वन्द्व भएन। यहाँका बोन र बौद्धका बीच एक किसिमको समझदारी कायम भयो। त्यसक्रमलाई बुझाउनको लागि यहाँ राजनीतिक शब्दावली ‘वर्ग–मित्र’लाई लिइएको छ।
खासगरी तिब्बतमा स्थापित हुनेक्रममा बौद्धमतालम्बीले आफूलाई थेरावादी वा दर्शनमा मात्रै सीमित राखेन बरू बोनमा रहेका तन्त्र‚ मन्त्र र यन्त्रको व्यापक साधनासहित सिद्धि प्राप्त गर्यो। फलस्वरूप बौद्धह दर्शन तथा ऋद्धिसिद्धि दुवैमा बोनभन्दा शक्तिशाली भए। त्यसो त शान्तरक्षितले स्थापित गराउन खोजिएको दार्शनिकपक्षले बोनहरूलाई चिड्याएको थियो तर गुरू पद्मसम्भवले स्थापित गराउन खोजेको तान्त्रिक बुद्धिजम्को कारण तिब्बती समाजलाई पनि नयाँ प्रवेशीलाई स्वीकार्न सहज वातावरण बनाइदियो।
तामाङ समाजको हकमा चाहिँ उल्लेखित सिद्धान्तहरूका कारण संयोजनको लागि वातावरण बन्यो। आजसम्म पनि यी दुईको गहिरो सम्बन्ध वा संयोजन कायम रहेको छ। यही नै तामाङको लागि सुन्दर पक्ष भएको छ। ‘तामाङ बौद्धधर्म’ (‘तामाङ बुद्धिजम्’ /Tamang Buddhism)दाबी गर्ने पाटो खुलाएको छ। ‘तामाङ’ले तामाङ बोन रिमठिम साथै ‘बुद्धिजम्’ले बौद्धदर्शनलाई बुझाउँदछ। यसप्रकार बोन रिमठिम साथै बौद्धदर्शनको संयोजनबाट तामाङ बुद्धिजम् बनेको प्रष्ट्याउँदछ। यही आधारमा बोन र बौद्धले द्वन्द्व नभई तामाङलाई ‘तामाङ बौद्धधर्म’(Tamang Buddhism/‘तामाङ बुद्धिजम्’)को नामबाट आफूलाई विश्वव्यापीकरण गर्ने अवसर प्राप्त गरेको छ।
सन्दर्भ सामग्रीहरू
- Lama, Sudash, FROM BON TO BUDDHISM Social and Cultural Changes of the Tamangs, A Thesis submitted to th University of North Bengal For the Award of Doctor of Philosophy in HIstory, 2013 .
- Holmberg, David H., ORDER IN PARADOX Myth, Ritual, and Exchange among Nepal's Tamang, reprint (India : Motilal Banarsidass), 2005.
- Samuel, Geoffrey, Civilized Shamans Buddhism in Tibetan Societies, (Kathmandu : Mandala Book Point) 1933.
- Larry Peters, Trance Initiation & Psychotheraphy in Nepalese Samanism Essays on Tamang and Tibetan Shamanism, Delhi: Nirala Pulicatioins, India, 2004.
- मोक्तान‚ धावा वाङ्गेल मोक्तान (२०८०)‚ तम्बाला कइरन‚ तेस्रो‚ (काठमाडौं : सोसियो कल्चर रिसर्च सेण्टर)।
- लामा–तामाङ‚ (२००९)‚ मुक्तिसिंह‚ घेवा : तामाङ बौद्ध मृत्यु संस्कार‚ तामाङ जर्नलन (काठमाडौं : तामाङ प्राज्ञसभा)।
- गोले खोजराज, सिन्धुली जिल्ला, मझुवा गा.वि.स. वडा नं. - ८ चालिसे गाउँको तामाङ समुदायमा प्रचलित बोम्बो संस्कृतिको मानवशास्त्रीय एक अध्ययन, (एम.ए. शोधकार्य), त्रिभूवन विश्वविद्यालय किर्तिपुर, काठमाडौं,(वि. स. २०६५) 2008।
- गोले‚ खोजराज‚ (२०७८)‚ द्वन्द्व व्यवस्थापनसम्बन्धी तामाङ परम्परागत संयन्त्र र चोहोको भूमिका एक अध्ययन‚ लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध तथा शान्ति अध्ययन सङ्कायतफर् स्नातकोत्तर तथह दोस्रो वर्षको दशौँ पत्र परिपूर्तिको प्रयोजनार्थ प्रस्तुत् शोधपत्र‚ बौद्ध बहुमुखी क्याम्पस‚ काठमाडौं।
- शर्मा, जनकलाल, (बि.सं. २०५८), हाम्रो समाज एक अध्ययन, तेस्रो, काठमाडौँ: साझा प्रकाशन, काठमाडौँ।
- तामाङ रुद्रसिंह, तामाङ जातिमा बौद्ध धर्म, काठमाडौँ: तामाङ समाज अनुसन्धान तथा विकास केन्द्र, (बि.सं. २०५९) 2002।
- गोले मोहन, तामाङ समाजको मौलिक संस्कृति, ललितपुर: आदिबासी जनजाती उत्थान रास्ट्रिय प्रतिस्ठान जाउलाखेल ललितपुर नेपाल (वि.स. २०७२) 2015।
- तामाङ मोक्तान रामबहादुर, तामाङ जातिमा बौद्धधर्म एक चिनारी, काठमाडौं: रामबहादुर मोक्तान तामाङ, (वि.स. २०७१) 2014।
- तामाङ अजितमान, तामाङ जातिको चिनारी, काठमाडौ: आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल तामाङ घेदुङ, पहिलो, (वि.स. २०६९), 2012।
- तामाङ, परशुराम, (बि.सं. २०५७), तामाङ संस्कार, दोस्रो संस्करण, काठमाडौं: शैलुङ बुक्स प्रा. लि. अनामनगर काठमाडौं।
- गोले भक्त राज,नेपाली तामाङ राष्ट्रमा प्रचलित बौद्ध तथा बोन धर्म संस्कृति: एक अध्ययन, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय बौद्ध अध्ययन केन्द्रिय विभागको स्नाकोतर तह दोस्रो वर्षको दशौ पत्रको परिपूर्तिको प्रयोजनका निमित्त प्रस्तुत शोध पत्र, वि. स. २०७३ 2016।
- तामाङ परशुराम, तामाङ जाति, काठमाडौः शैलुङ बुक्स प्रालि, दोस्रो, काठमाडौ, (वि.स. २०७५) 2018।
- तामाङ सीताराम, नेपाल समाज विकासको ऐतिहासिक भौतिकबादि निरुपण, काठमाडौँ: निरन्तर प्रकाशन, बागबजार, काठमाडौ, (बि.सं. २०६१) 2004।
- मुकेश लामा(अनुवादक), पेमा काथाङ, (गुरू पद्मसंभवको जीवनी र मुक्ति), काठमाडौँ: मुकेश लामा, काठमाडौँ, (मिति उल्लेख नभएको) (date not mentioned)।
- महर्जन बसन्त, उत्तरी नेपालमा बुद्ध धर्म, काठमाडौँ: इनसाइट प्रा. लि.,काठमाडौँ,नेपाल, (सन् २०१९) 2019।
- तामाङ, रुद्रसिंह, (बि.सं. २०५९), तामाङ जातिमा बौद्ध धर्म, काठमाडौँ: तामाङ समाज अनुसन्धान तथा विकास वेन्द्र, काठमाडौँ।
- White, Leslie & Steward, Julian, ''Neoevolutionism'', power point presentation, Source link : https://web.mnstate.edu/robertsb/348/ANTH%20348writingassignments%202011_files/Neoevolution%202013.pdf
- Script: Matt Mackane Edit: Harsh Voiceover: Matt Mackane Music: Original Music & Epidemic Music, The Secret Teachings Of The Rainbow body, Asangoham, link : https://www.youtube.com/watch?v=S39IpOz_JIY
- Berry’s Model of Acculturation
- https://open.maricopa.edu/culturepsychology/chapter/berrys-model-of-acculturation/
- What Is Acculturation and Why It Happens
- https://www.simplypsychology.org/acculturation-definition.html
(Bhakta Raj Gole) (高乐)
South China Normal University, Guangzhou, China.
(华南师范大学,广州,中国)