हरेक जुन ५ मा विश्वभर वातावरण दिवस मनाइन्छ । नेपालमा पनि वृक्षरोपण तथा विविध कार्यक्रम गरी वातावरण दिवस मनाइयो । हिजोआज वातावरण अभियन्ता र विद्यालयहरुले प्रायः वातावरण दिवसमा वृक्षरोपण गर्ने र सडकमा चर्का नारा लगाउने गर्छन् । उनीहरुको एकै स्वर ‘वन जोगाऔं, प्लास्टिक प्रयोग नगरौं’ भन्ने सुनिन्छ ।
के वातावरण यतिले जोगिन्छ ? एक दिने अभियानले वातावरणमा उलटफेर आउँछ त ? यो विषय अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । अहिले अभियन्ताहरु वातावरणका मुख्य शत्रु प्लास्टिक मान्छन् । हरेक सभा गोष्ठीमा वातावरणविद्हरु प्लास्टिकको प्रयोग कम गर्न अर्ती दिन्छन् । आफैं भने प्लास्टिकजन्य सामानको प्रयोग गर्न पछि पर्दैनन् । यसै विषयलाई कार्यक्रमहरुमा गसिपसमेत बनाइन्छ ।
वातावरण विनासमा प्लास्टिकको प्रयोगमात्र मुख्य विषय हैन । आधुनिक कारखाना, सवारीसाधनदेखि विकासका पछिल्ला प्रयोगहरुले वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष असर गरिरहेको छ । कारखानाबाट निस्कने धुवाँबाट वायु प्रदूषण भइरहेको छ भने आवाजबाट ध्वनि प्रदूषण । यसैगरी सवारीसाधनको प्रयोगबाट वायुदेखि ध्वनिमात्र हैन, वन्यजन्तुलाई प्रत्यक्ष असर पु¥याइरहेको छ । यसैगरी विद्युतीकरण तथा सञ्चारका उपकरणका कारण वातावरणलाई सन्तुलनमा राख्ने कीराहरुको विनास सुरू भएको छ ।
आधुनिक विकासले वातावरणलाई सन्तुलनमा राख्ने, चक्रिय प्रणालीमा चल्ने जीवहरुको दैनिकी खल्बलिएको छ, जसरी प्लास्टिकजन्य पदार्थले माटोको शक्तिमा क्षय गरेझैं । वातावरणमा असर गरेकै कारण हिजोआज जलवायु परिवर्तन असर देखिन थालेको छ । तराईको लामखुट्टे हिमाल पुगेको छ । मधेसको सर्प हिमाल पुगेको छ ।
जैविक विविधताले भरिएको नेपालका लागि मानिसहरुको बसाइँसराइ पनि अहिले समस्याको रुपमा देखापर्दै छ । हिजो मानिसहरु चारतिर छरिएर बस्थे । अहिले सहरीकरण र विकासका कारण सहरमा थुप्रिएका छन् । यसले गर्दा चक्रिय प्रणालीमा असर सुरू भएको छ । गाउँ हरियो हुने र सहर सुक्खा हुने अवस्था आइसकेको छ ।
सहरीकरणको क्रममा चुरेदेखि नदीका किनारा दोहन बाँकी राखेका छैनौ । यसले गर्दा अतिवृष्टि, बाढीपहिरो निम्तिँदा गाउँबस्ती नै उजाड भएका घटना मेलम्ची, रोशी, पनौतीदेखि ललितपुरको टीकाभैरव हेरे पुग्छ । त्यसैले अभियन्तामात्र हैन सरकारदेखि जनता नै यो अभियानमा लाग्नुपर्छ, ताकि एक दिन हैन, हरेक दिन वातावरण संरक्षणका लागि बानी बसोस् ।