जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवादको आयोजना हुँदै छ । जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा ३५ भन्दा बढी राष्ट्रका विदेशी पाहुनाको सहभागिता हुने सरकारी अधिकारीहरुको भनाइ छ । करिब ३०० भन्दा बढी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ ।यो संवादमा विशेष महŒवका साथ उठाइनुपर्ने कुरा हो हिमालका विषय र प्रकृतिपुजकका कुरा । हिमालदेखि समुद्रसम्म परिरहेका असरहरू दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य पनि विशेष जोड दिनुपर्ने कुरा हुन् ।
नेपालमा पर्यटनको मुख्य आधार नै हिमाल हो । तर जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिँदा पर्यटन व्यवसायमा असर परिरहेको छ ।नेपालीहरु परापूर्वकालदेखि हिउँलाई सम्पन्नताको प्रतीक मान्थे । हिउँ पर्दा बालीनाली सप्रन्छ भन्ने विश्वास छ । तर पछिल्लो समय हिउँ घट्दा पर्यावरणीय चक्रमै असर परेको छ । यसमा नेपालले क्षतिपूर्ति कसरी पाउने ? यो विषयमा विशेष आवाज उठाउनैपर्ने देखिन्छ । हुन त यो संवादमा नेपालले विश्वरूपमा स्थापित जलवायु कोषहरु विश्व जलवायु कोष, अनुकूलन कोष, हानिनोक्सानीको क्षतिपूर्ति कोष, विश्व वातावरण कोष, जलवायु लगानी कोषमा पुहँच प्रस्ताव गरिने भनिएको छ ।
हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य छ तर वायु प्रदूषणलगायतका विश्वव्यापी संकटले हाम्रोजस्तो अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त छन् । विकसित राष्ट्रहरु जहाँ ठूलाठूला उद्योगधन्दा, कलकारखाना रहेका छन्, यातायात, खानीहरू अत्यधिक छन्, त्यहाँ जैविक इन्धन, ग्यास तथा कोइलाको दोहन अत्यधिक छ । जसले गर्दा हरितगृह ग्यास उत्सर्जन बढ्दो गतिमा छ । पृथ्वीको तापक्रम बढ्दै छ भने जलवायु परिवर्तन निरन्तर असामान्य हँुदै गइरहेको छ । अझ हिमाली क्षेत्रमा विश्व तापमान वृद्धिको असर बढी पर्दै आएको छ ।
यसैगरी यो संवादमा जलवायु परिवर्तनको असर रोक्न आदिवासी जनजातिको संस्कार संस्कृति प्रवद्र्धनका लागि जोड दिन आग्रह गर्नुपर्छ । आदिवासी जनजातिहरु प्रकृतिका पुजक हुन् । उनीहरु प्रकृति जोगाउन जलवायु पुज्छन् । यस्तो विषयमा लगानी भएमा पर्यवरणीय चक्र जोगिने निश्चित छ । तर पछिल्लो समय आधुनिक शिक्षा र विकासको नाममा यस्ता प्रथाजन्य ज्ञान नासिँदै गएको छ । यसलाई गम्भीर रुपमा लिइनुपर्छ ।