काठमाडौं– नेकपा एमालेमा राष्ट्रवादको एजेन्डा बोक्ने खरो बोली भएको नेता हुन् भीम रावल । २०४७ मा झलनाथ खनाल कृषिमन्त्री हुँदा उनको स्वकीय बनेयता चर्चामा आएका थिए रावल ।खरो स्वभावका नेता रावलको जन्म २०१३ साउन ४ मा अछामको साँफेबगर नगरपालिका–६ कालाआम गाउँमा भएको थियो । नुन नपाइने गाउँमा जन्मेका उनी भारतहुँदै काठमाडौं आएर विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । एमालेमा उपाध्यक्ष हुँदै अध्यक्षसम्म प्रतिस्पर्धा गरेका उनले राजनीति शास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गरे ।
२०३० सालबाट विद्यार्थी राजनीतिमा लागेका रावल पटक–पटक जेल परेको देखिन्छ । उनले तत्कालीन नेकपा मालेका नेता राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता प्राप्त पाएका थिए । अनेरास्ववियु एकताको पाँचौंको संस्थापकमध्येका एक रावल विदेश विभागको प्रमुखसमेत बने उक्त संगठनका । पार्टीले चलाएको पत्रिकाको सम्पादक बनेका उनी २०४८ सालपछि नेकपा एमालेको प्रचार विभागको सदस्य बने ।
खनालसँग नजिक भएर काम गर्न थालेका रावलले २०४८ सालमा अछामबाट प्रतिनिधिसभामा चुनाव लड्ने मौका पाए । यद्यपि पराजित भए । २०५१ सालमा भने उनी निर्वाचित भए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटन राज्यमन्त्री बने । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा पर्यटनमन्त्री बने । २०५६ सालमा अछामबाट सांसदको निर्वाचनमा पराजित भएका उनी २०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भए । २०६६ देखि २०६८ सालसम्म गृहमन्त्री बने । २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री ।
२०७० सालमा अछामबाट निर्वाचित सांसद रावल २०७४ मा पनि निर्वाचित भएका थिए । २०७९ मा भने उनले एमालेबाट टिकट पाएनन् । ओलीले उनको निर्वाचन क्षेत्रमा झपट रावललाई टिकट दिएका थिए ।ओलीको निशानमा किन परे रावल ?खनाल मालेको तर्फबाटै मन्त्री बनेपछि विद्यार्थी राजनीतिमा लागेका रावल पनि मन्त्रीसँग साँठगाँठ बढाउन थाले । त्यसपछि २०६५ मा एमालेको आठौं महाधिवेशनमा रावल पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिए । त्यतिबेला उनी पराजित बने । खनाल गुटमा रहेको रावल त्यतिबेला पदाधिकारी नपाएपछि केपी गुटमा प्रवेश गरी उपाध्यक्षमा भिडेका थिए ।
बुटवलमा भएको अधिवेशनमा ओलीले अशोक राई, विद्या भण्डारी र रावललाई आफ्नो गुटको उपाध्यक्षका उम्मेदवार बनाएका थिए । राई र भण्डारी निर्वाचित हुँदा रावलको विपक्षमा उम्मेदवारी दिएका वामदेव गौतम विजयी भए । गौतम खनाल गुटबाट उम्मेदवार थिए ।पछि रावल माधवकुमार नेपालको सरकारमा २०६६ मा गृहमन्त्री बने । योसँगै रावल थप शक्तिशाली बने । गृहमन्त्री बनेपछि पार्टीमा शक्ति आर्जन गरेका रावल २०७१ सालमा भएको नवौं राष्ट्रिय महाविधेशनमा अधिक मत ल्याएर उपाध्यक्षमा निर्वाचित भए । अध्यक्षमा भने ओली निर्वाचित भए । रावल माधव गुटबाट उपाध्यक्ष बने पनि दुई जनाको काम गराइको ट्युनिङ मिल्थ्यो त्यतिबेला ।
त्यसपछि रावल थप बलियो बने पार्टीमा । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ मा गुट व्यवस्थापनमा रावलले उपप्रधान तथा रक्षामन्त्री पाए । यद्यपि माओवादीसँग पार्टी एकता हुँदा ओलीले उनलाई सचिवालयमै समेटेनन् । अझ पार्टीको उपमहासचिव रहेको विष्णु पौडेललाई नेकपाको महासचिव दिए ।त्यसपछि भने रावलको लागि ओलीले बालकोट र बालुवाटार बन्द गरिदिए । निर्वाचनपछि पनि सरकारमा सहभागी बन्न पाएनन् रावल । रावल पनि के कम ? ओलीले संसद् भंग गरेको विषयलाई लिएर माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल एकै ठाउँ उभिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्न पुग्दा रावलले पनि सहीछाप लगाएका थिए ।
निर्वाचन आयोगले एमाले र माओवादी एकीकरण खारेज गरेर पूर्वएमाले र पूर्वमाओवादी समूहमा छुट्याइदिएपछि रावलले ओलीलाई सदनमा सोधेका थिए, ‘प्रधानमन्त्रीको पार्टी कुन हो ?’ त्यतिबेलो ओलीले संसद्बाट विश्वासको मत लिनुअघि रावललाई बालुवाटार बोलाए । ओलीले भेटेपछि रावलसहितका नेता विश्वासको मत लिने दिन संसद्मा अनुपस्थित भए । जबकि एमालेको माधव समूहले ओलीविरूद्ध मतदान गर्ने निर्णय गरेको थियो ।
यतिमात्र होइन, ओलीसँग कुराकानी भएपछि रावल देउवाले विश्वासको मत माग्दा अनुपस्थित भए । सांसद् पदबाट राजीनामा दिन लाग्दा ओलीले फिर्ता लिन लगाए । माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाउँदा रावल एमालेमै बसेका थिए । रावलसहित १० स्थायी समिति सदस्यले एमालेमै बस्ने निर्णय गर्दा ओलीसँग १० बुँदे सहमति गरेका थिए । उक्त सहमतिअनुसार एमाले माओवादीसँगको एकताभन्दा पहिलेको अवस्थामा आउनुपर्ने थियो । रावल नेकपा एमालेको सुदूरपश्चिम इञ्चार्ज हुने थिए । तर ओलीले लेखराज भट्टलाई नै इञ्चार्ज बनाइराखे ।
सुदूरपश्चिम प्रदेशको इञ्चार्ज नपाएपछि रावल ओलीसँग बिच्किए । पछि एमालेको १०औं महाविधेशन भयो चितवनको सौराहामा । २०७८ मंसिरमा भएको महाविधेशनमा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने एक्ला नेता थिए रावल । त्यतिबेला ओलीले १८३७ मत ल्याउँदा रावलले २२३ मत पाएका थिए । उनको पक्षमा लागेको भन्दै अर्का नेता घनश्याम भुसाल अहिले नेपाल नेतृत्वको एकीकृत समाजवादीका महासचिव बनेका छन् ।
सौराहा महाविधेशनमा ओली पक्षधरले रावल, भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई भोट नहाल्न भन्दै ‘भोट नहाल्ने नामावली’ सूचीको पर्चा बाँडिएको थियो । पछि रावलको क्षेत्रमा माओवादीबाट प्रवेश गरी नेकपा फुट्दा पनि एमालेमै बसेका लेखराज भट्टलाई इञ्चार्ज बनाए । पछिल्ला दिनहरुमा ओलीले रावललाई एकोहोरो पेलेपछि रावल निस्क्रिय बसेका थिए । बेलाबेला उनी आफूलाई एमालेबाट निकाल्न चुनौती दिन्थे । सायद यही चुनौतीले होला एमालेले बुधबार रावललाई पार्टीको संगठित सदस्यबाटै हटाइदियो ।
एमालेमा रावल
२०३० – प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न
२०३२ – केन्द्रीय कारागारमा राधाकृष्ण मैनालीबाट नेकपा मालेका सदस्यता
२०३५ – कारागारको सदस्यताले मान्यता नपाएपछि तत्कालीन नेकपा मालेको सदस्यता पुनः प्राप्त
२०३९ – नेकपा मालेको काठमाडांै बुद्धिजीवी कमिटीको सचिव, २०५४ को छैटौं र २०५९ को सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीकोे सदस्यमा निर्वाचित
२०६५– आठौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित
२०७१– नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित
सरकार र संसदीय क्षेत्रको जिम्मेवारी
२०४७– कृषिमन्त्री झलनाथ खनालको स्वकीय सचिव
२०४८– नेकपा एमालेको तर्फबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेवार तर पराजित
२०५१– अछाम १ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित
२०५१– सालमा नेकपा एमालेको अल्पमतको सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र वाणिज्य राज्यमन्त्री
२०५५ –चुनावी सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र विज्ञान र प्रविधिमन्त्री
२०५६– अछाम–१ बाट पराजित
२०६४– संविधानसभामा नेकपा एमालेको तर्फबाट संविधानसभामा समानुपातिक तर्फबाट सदस्य
२०६६ – गृहमन्त्री
२०७० – अछाम–१ बाट संविधानसभा सदस्य निर्वाचित
२०७२– उपप्रधान तथा रक्षामन्त्री
२०७४ – अछाम–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित