काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ केन्द्रीय कमिटीको बैठक आज समापन हुँदैछ । ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा यही असोज २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले उठाएका सवालमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित पारित हुनेछ ।
बैठकमा पार्टीको आगामी ११औँ महाधिवेशनको तिथि, मिति तय गर्ने र समसामयिक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । नेता गौतमले बोल्ने अधिकांश सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल मर्ममा समर्थन गरेको र संसद् पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिएको बताए ।
उनले छिटपुट रुपमा केही सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेको जानकारी दिए ।बैठकमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ ।
जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो ।समसामयिक प्रस्ताव तयारीका लागि उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा प्रचार विभाग प्रमुख गौतम र संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला रहेको समिति गठन गरिएको छ ।