नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् । सत्यनारायण कुनै कथाका पात्र हैनन् । तर नेपाल पत्रकार महासंघले आफ्नो संस्थापक अध्यक्ष मान्न तयार भएको देखिन्न । सत्यनारायण टाढाका मान्छे हैनन् । यतै उपत्यकाभित्रकै मानिस थिए । प्रजातन्त्रको स्थापनापछि उनको प्रयासमा पहिलोपटक नेपाल पत्रकार संघ स्थापना भयो वि.सं. २००८ मा ।
यसबारेमा गृष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ किताबमा प्रस्टै पारेका छन् । यो कुरा सत्य मान्न तयार नेपालका पत्रकारहरु उनको निरन्तरतामाथि प्रश्न गर्छन् । अझ महासंघ बनेपछि पहिलो अध्यक्ष बनेका किशोर नेपालले सत्यनारायणले पहिलो संघलाई व्यवस्थित पार्न नसकेको र विद्यालय सञ्चालनतिर लागेको दाबी गरेका छन् ।
सत्यनारायण पत्रकार थिए । उनले उक्त संस्था कृष्णप्रसाद भट्टराईले भन्दा पहिले नै नेतृत्व गरेका थिए । यसमा पत्रकार महासंघमा नेतृत्व गरेकाहरुको कुनै दुईमत देखिन्न । तर पनि लिखित रुपमा पत्रकार महासंघको दस्तावेजमा राख्न भने हिच्किचाइरहेका छन् । वि.सं. २०१२ मा भट्टराईले नेतृत्व गरेको संघलाई महासंघले पहिलो मानेको छ । यो असत्य सच्याउन नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)ले छ वर्ष अघिबाट पत्रकार महासंघलाई अनुरोध गर्दै आएको छ । तर महासंघले सत्य स्वीकार्न सहज भइरहेको छैन ।
परिणामस्वरुप आइतबार ‘अग्र अनुहार’ पुस्तक विमोचनमा फोनिजको विरोध प्रदर्शन देखियो । फोनिजका सदस्यहरुले आक्रोशित भएर अग्र अनुहार किताब विमोचनस्थलमै च्याते । सामान्यतय सत्य स्थापितका लागि पत्रकारबाटै किताबलाई भौतिक रुपमा च्यात्नु सही होइन । भौतिक आक्रामण कहिल्यै सत्य हुन्न । यसका लागि सत्ययुगबाटै शास्त्रार्थको सुरुआत भएको थियो । अर्को विषय हो अन्तिम सत्य केही हुन सक्दैन । त्यसैले वैज्ञानिक शिक्षा पद्धतिका लागि ‘रिसर्च’ अर्थात् ज्ञानको पुनःअध्ययनको सुरुआत भयो ।
त्यसैले फोनिजले कुनै विषयमा ध्यानाकर्षण गर्नेमात्र हैन । सत्यता स्थापनाका लागि महासंघले ल्याएको किताबभन्दा त्यसबेलाका सदस्यहरुको भनाइसहित अर्को किताब प्रकाशन गर्न सक्नुपर्दछ । यो नै पत्रकार र लेखकहरुले चाल्नपर्ने बलियो अस्त्र हो । अहिलेसम्म फोनिजले प्रेस विज्ञप्ति र ध्यानाकर्षणपात्र दिँदै आएको देखिएकोले यसबारे लिखित रुपमा दस्तावेज ल्याउन सक्नुपर्छ । कुनैबेला बुद्ध भारतमा जन्मिएका हुन् भनेर नेपाली कक्षाकोठामै पढाइ हुन्थ्यो ।
उक्त विषय चिर्न हरेक नेपालीले अभियान नै चलाए । यसैगरी फोनिजले पनि लेखन र अभियान चलाएर असत्य चिर्ने काम गर्नुपर्छ । पत्रकार महासंघले पनि इतिहासलाई सम्मान गर्न हिचकिच्याउनु हुँदैन ।