काठमाडौं - नेपाल बौद्ध धर्म संरक्षण संघको १९ औं साधारणसभा तथा ९ औँ अधिवेशन सम्पन्न भएको छ ।आज (बुधवार) काठमाडौँको तिनचुली स्थित नेपाल बौद्ध महासंघको सभा हलमा सम्पन्न अधिवेशनबाट टासीग्याल्जेन शेर्पा (मिथुन भोटे) को नेतृत्वमा नेपाल बौद्ध धर्म संरक्षण संघको विधानत नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट १३ जनाको नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको निर्वाचन समितिको संयोजक अधिवक्ता गोपालप्रसाद भण्डारीले जानकारी दिए । संघको उपाध्यक्षमा जाङबु शेर्पा, महासचिवमा उमा गुरूङ, सचिवमा भिम बहादुर लामा, कोषाध्यक्षमा पासाङ शेर्पा र सह–कोषाध्यक्षमा विनिता मगर चयन भएका छन् ।
त्यस्तै कार्यसमितिको सदस्यहरूमा विनोद महर्जन, याङला शेर्पा, पेम्बा डोल्मा ह्योल्मो, सुरज खड्का, हरिश लामा, सिमाना पौडेल, निर्मला गुरूङ चयन भएका छन् । संघको संस्थापक अध्यक्ष युवराज लामा ह्योल्मोको अध्यक्षतामा भएको सो अधिवेशनमा नेपाल बौद्ध महासंघका अध्यक्ष गेशे नुरबु थुन्डु शेर्पा प्रमुख आतिथ्यता तथा काठमाडौँ महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाको विशेष आतिथ्यता रहेका थिए ।

त्यस्तै अतिथिहरूमा नेपाल बौद्ध महासंघका महासचिव पेमादोर्जे तामाङ भोटे संघका केन्द्रीय सदस्य यङ्छेन भोटे र भोटे संघ काठमाडौंका अध्यक्ष छिरिङ पान्दे भोटे लगायत रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गेशे नुरबु थुन्डु शेर्पाले मानव समाजको अस्तित्व जोगाउन बौद्ध धर्मको संरक्षण अनिवार्य रहेको बताएका छन् । बौद्ध धर्मले मानव जगतलाई व्यवहारिक ज्ञान, अनुशासन र मार्ग दर्शन सिकाउने भएकोले संरक्षण र प्रचारमा ध्यान दिनुपर्ने उनले बताए । बौद्ध धर्मको प्रचारप्रसारलाई व्यापकता दिन संघको नयाँ कार्यसमितिले कार्य सम्पादन गर्नेमा विश्वास व्यक्त गर्दै नेपाल बौद्ध महासंघको पनि साथ र सहयोग रहने प्रतिबद्धता पनि शेर्पाले व्यक्त गरे ।
नेपाल बौद्ध धर्म संरक्षण संघका संस्थापक अध्यक्षले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्दै संस्थाको उद्देश्यअनुरूप कार्य सम्पादन गर्न सुझाव दिए । संघको दर्ता गर्दा अहिलेको माग सुहाउँदो उद्देश्य रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व बहन गरि धर्म संरक्षणका लागि जागारण आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका वडा ६ का अध्यक्ष भुवन लामाले संस्थाको विधानअनुरूप कार्य गर्न सुझाव दिँदै बौद्ध धर्म संरक्षणमा सबै सम्प्रदायका व्यक्ति अटाएर अगाडी बढ्न आग्रह गरे ।
उनले संघको गतिधिलाई वृहत रूपमा अगाडी बढाई बौद्ध शिक्षामार्फत समाजमा सकारात्मक शन्देश दिनुपर्ने बताए । वडा अध्यक्ष लामाले नयाँ कार्यसमितिलाई शुभकामना दिदै सामूहिक स्वार्थ स्थापित संस्थाको रूपमा अगाडी लान आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कन्जुस्याइ नहुने प्रतिबद्धतता गरेका छन् ।
नव निर्वाचित अध्यक्ष टासीग्याल्जेन शेपाले प्रमुख अतिथि, विशेष अतिथि, संस्थापक अध्यक्ष, निवर्तमान पदाधिकारी, निर्वाचन समिति लगायतलाई धन्यवाद ज्ञापन गर्दै बौद्ध धर्मको संरक्षणमा संघले गर्नुपर्ने कुनैपनि कुरामा कन्जुस्याइ नगरी सहकार्य, साझेदारी र कार्यक्रमहरू अगाडी बढाउने प्रतिबद्धतता गरे । विभिन्न क्षेत्रबाट सक्रिया व्यक्तिहरूको साथमा नेपाल बौद्ध धर्म संरक्षण संघको नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दै निकट भविश्यमा आइपर्ने चुनौतिहरूलाई सहज रूपबाट समाधान गर्दै अघि बढ्ने बताए ।बौद्ध धर्म र गुम्बाप्रति लक्षित भइरहेको प्रहर र विभिन्न व्यक्ति समूहले लगाइएको भ्रमपूर्ण आरोपको निन्दा र भर्त्सना गर्दै अधिवेशनबाट त्यस्तो गलत तथ्यहिन तर्क प्रस्तुत गर्ने सञ्चार माध्यम र व्यक्तिहरूलाई कारवाहीको माग समेत गरेको छ ।