काठमाडौं– मौसम सुधारमा अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् राजु प्रधानांगका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको छ । अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था नभएको मौसमविद् प्रधानाङ्गले बताए ।
उनका अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो र अब सात–आठ दिनमै प्रि–मनसुन भित्रिन्छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म रहन्छ जुन अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।
न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६ ११:२८