मनाङ- मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप तीन जनाको शव भेटिएको छ।
तीन जनाको शव भेटिएसँगै यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको स्ख्या सात पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलु खर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव भेटिएको हो।
घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमिजए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। सोही टोलीले हिउँ पन्छाएर उनीहरुको शव निकालेको उनले बताए।
यसअघि आइतबार र सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।