जनकपुरधाम- नेपाल युवा उद्यमी मञ्च जनकपुरधामका प्रतिनिधिहरू र मधेश प्रदेश प्रहरीबीच समसामयिक विषयवस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयमा २०८३ असोज १४ गते आयोजित कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च जनकपुरधामका १४ जना उद्यमशील युवा प्रतिनिधि तथा मधेश प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा प्रदेशको वर्तमान सुरक्षा अवस्था, व्यवसाय सञ्चालनका क्रममा उद्यमीहरूले सामना गर्नुपर्ने विभिन्न चुनौती, व्यवसायिक वातावरण, शान्ति–सुरक्षा तथा प्रहरी र निजी क्षेत्रबीचको समन्वयलगायतका समसामयिक विषयमा छलफल गरिएको थियो।
उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा देखिने सुरक्षा चुनौती तथा आफ्ना जिज्ञासा र सुझावहरू प्रहरी अधिकारीसमक्ष राखेका थिए। साथै, व्यवसायिक क्षेत्रको सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरी र उद्यमीबीच निरन्तर संवाद, सूचना आदानप्रदान तथा सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा प्रहरी अधिकारीहरूले उद्यमशीलता तथा निजी क्षेत्रको विकासका लागि सुरक्षित र विश्वासिलो वातावरण निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कानुनी शासन, शान्ति–सुरक्षा र अपराध नियन्त्रणका विषयमा प्रहरी तथा व्यवसायिक क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
मधेश प्रदेशमा रोजगारी सिर्जना, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा युवा उद्यमीहरूको महत्वपूर्ण भूमिका रहेकाले उनीहरूको सुरक्षा र व्यवसायिक वातावरणसँग जोडिएका विषयमा सम्बन्धित निकायबीच नियमित अन्तरक्रिया आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
कार्यक्रमले प्रहरी र युवा उद्यमीबीच आपसी समझदारी, समन्वय र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।