काठमाडौं- काठमाडौंस्थित श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिरमा आयोजित दश लक्षण महापर्व तथा महामण्डल विधान विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
१०८ आचार्य श्री विभव सागर जी महाराजका परम प्रभावक शिष्या बा. ब्र. रुचि दीदी, टीकमगढको सान्निध्यमा सम्पन्न महापर्वमा जैन समाजका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मन्दिर कमिटीका अध्यक्ष सुभाष जैन सेठीका अनुसार महापर्वका अवसरमा प्रत्येक दिन बिहान श्रीजीको अभिषेक, शान्तिधारा, नित्य नियम पूजन तथा संगीतमय दश लक्षण विधान मण्डल पूजा आयोजना गरिएको थियो। साँझ भव्य महाआरतीपछि बा. ब्र. रुचि दीदीद्वारा दश धर्मका विषयमा शास्त्र प्रवचन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रश्नमञ्च, भक्तिमय संगीत तथा विभिन्न धार्मिक गतिविधि समेत आयोजना गरिएको थियो। सुगन्ध दशमी तथा उत्तम संयम धर्मका अवसरमा बिहान श्रावकहरूले धूप अर्पण गरेका थिए भने साँझ ४८ दीप प्रज्वलन गरी भक्ताम्बरको महाअर्चना गरिएको थियो।
मन्दिरका कोषाध्यक्ष राजेश कालाका अनुसार महापर्वलाई लक्षित गरी मन्दिर परिसरलाई विशेष सजावट तथा आकर्षक बत्तीहरूले सुसज्जित गरिएको थियो। संगीतकार सुरेन्द्र, अनिल, अंकित एण्ड पार्टी, ललितपुरले प्रस्तुत गरेको भक्तिमय संगीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। विधान पूजामा महावीर प्रसाद जी काला, राँचीले दोहा तथा भजन प्रस्तुत गरेका थिए। सुमित जैन र पूजा दीदी, टीकमगढले विधान मण्डल पूजनमा सहयोग गरेका थिए।
रातिको समयमा समेत सांस्कृतिक तथा भक्तिमय कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी श्रद्धालुहरूले उत्साह र उमंगका साथ धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागिता जनाएका थिए।
मन्दिर कमिटीका सचिव संजय गुड्डू जैनका अनुसार अनन्त चतुर्दशीका दिन वासुपूज्य भगवानको निर्वाणको पावन अवसरमा मन्दिरमा लड्डु अर्पण गरिएको थियो। दश लक्षण महापर्वका क्रममा श्री अंकित जैनले ११ दिन, श्री संजय जी कालाले १० दिन तथा श्रीमती चाँदनी जैनले ३ दिनको तपस्या गरेका थिए।
दश लक्षण महापर्वका सम्पूर्ण कार्यक्रमहरू भक्तिभाव र धार्मिक आस्थाका साथ सम्पन्न भएका थिए। समापनका अवसरमा मन्दिर परिसर जैन धर्मका जयकाराले गुञ्जायमान बनेको थियो।