- नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलले सहायक कामदार लग्दै
- नयाँ विज्ञापनअनुसार स्याहार केन्द्रका लागि एक हजार १३२ पुरुष र ३३२ महिला श्रमिक लैजाने
- योग्यता पुगेका व्यक्तिले असोज २६ गते राति १२ बजेसम्म विभागको वेब पोर्टलमा अनलाइन आवेदन दिनसक्ने
- आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने
काठमाडौं- इजरायलको दिर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिकका लागि पुनः आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै एक हजार ४६४ जना सहायक कामदार (केयरगिभर)को माग आएको जानकारी दिएको हो।
इजरायलले गत जेठ १३ गते प्रकाशित विज्ञापनमा दुई हजार ३०० कामदार माग गरेको थियो। तर अंग्रेजी भाषा परीक्षामा एक हजार २३१ जनामात्र सफल भएका थिए। त्यसबाट आवश्यक कागजातको छानविन गर्दा एक हजार १४० जनाको सूची इजरायलको ‘पपुलेसन, इमिग्रेसन एण्ड बोर्डर अथोरिटी’ (पिवा)मा पठाइएको थियो। पिवाको चिट्ठा प्रणालीबाट ८३६ जना छनोट हुँदा ३०४ जना बाहिरिएका थिए। जेठको आवेदनबाट मागअनुसारको कामदार छनोट हुन नसकेपछि बाँकी कोटाका लागि आवेदन खुलाइएको विभागले जनाएको छ।
जेठमा चिट्ठामा नपरेकाहरुलाई पनि यसपटक भर्ना प्रक्रियामा समावेश गराइने भएको छ। त्यसबेला आवेदन स्वीकृत भएका ३०० जनाको सूची सार्वजनिक गर्दै पुनः आवेदन दिन नपर्ने विभागले जनाएको छ। नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलले सहायक कामदार लग्दै आएको छ। नयाँ विज्ञापनअनुसार स्याहार केन्द्रका लागि एक हजार १३२ पुरुष र ३३२ महिला कामदार छनोट गरिने छ। छनोट भएकाहरुले गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिकोे स्याहार केन्द्रमा काम गर्नुपर्ने छ।
इजरायलमा काम गर्न इच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंगलबार राति १२ बजेदेखि असोज २६ गते राति १२ बजेसम्म विभागको वेब पोर्टलमा अनलाइन आवेदन दिनसक्ने जनाइएको छ। आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ। आवेदकको नाम पिवाको छनोट प्रक्रियामा पठाइने छ। पिवाले नाम जाँच गर्ने समयमा ४५ वर्ष नाघेकाहरुलाई चिट्ठा प्रक्रियामा समावेश नगराइने स्पष्ट पारिएको छ। यसपटकको आवेदनबाट चिट्ठामा फालिनेहरुलाई भने रोजगार प्रक्रियामा समावेश गराउन इजरायल बाध्य नहुने जनाइएको छ।
इजरायल जाने कामदारले आवेदन दिएपछि कागजात प्रमाणीकरण, अंग्रेजी भाषा परीक्षण, स्वास्थ्य परीक्षण तथा इजरायली पक्षबाट नाम जाँच गर्नेलगायत प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा भनिएको छ। अंग्रेजी भाषा परीक्षणमा रिडिङ, राइटिङ, लिसनिङ र स्पिकिङसम्बन्धी न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ। अंग्रेजी भाषा परीक्षा दिनुपर्ने आवेदकको हकमा ‘क्यामब्रिज अपस्किल टेस्ट’ अपग्रेड भइरहेकाले आउँदो असोज ६ गतेबाट परीक्षा दिन सक्ने जनाइएको छ। सूचनाअनुसार विगतमा इजरायल गएकाहरुले आवेदन दिन पाउने छैनन्।
गत आर्थिक वर्ष २०८३÷८४ मा एक हजार ९० जना जिटुजीमार्फत इजरायल गएका थिए। यसरी जाने कामदारको करार अवधि सुरुमा एक वर्षको हुने छ। रोजगारदाताले आवश्यकताअनुसार अधिकतम पाँच वर्षसम्मका लागि करार थप गर्न सक्ने जनाइएको छ।
सहायक कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्ने छ। यसबापत मासिक छ हजार ४४३.८५ इजरायली न्यु सेकेल अर्थात् झण्डै साढे तीन लाख नेपाली रुपैयाँबराबर तलब पाउने छन्। यसबाहेक ओभरटाइम र वार्षिक बिदा पनि पाइने छ। खाना र आवासको खर्च भने कामदारले नै व्यहोर्नुपर्ने जनाइएको छ। छनोट प्रक्रियाका विभिन्न चरणमा लाग्ने शुल्क पनि आवेदक स्वयंले तिर्नुपर्ने छ।