- सिण्डिकेट भित्र्याउन सक्रिय व्यवसायीलाई कारबाही गर्न माग
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालै वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका नवराज ढकाललाई बधाइ तथा शुभकामना व्यक्त गरेको छ । सोमबार संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा पदाधिकारी तथा सदस्यसहितको प्रतिनिधिमण्डलले विभागको कार्यालय पुगेर महानिर्देशक ढकाललाई बधाइ दिएको हो ।
भेटका क्रममा व्यवसायीका समसामयिक समस्याको विषयमा ध्यानाकर्षणसमेत गराएको छ । संघले मलेसिया रोजगारीमा एकाधिकार लगाउने प्रयास भएकाले संलग्न व्यवसायीलाई आवश्यक कारबाही गर्न माग गरेको संघका महासचिव हिराबहादुर डाँगीले बताए । जवाफमा ढकालले कुनै पनि किसिमको एकाधिकार कायम हुन नदिने प्रतिबद्धता जनाएको डाँगीको भनाइ छ । महानिर्देशकले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस)मा सूचीकृत भएका नेपालका २५ व्यवसायीका विषयमा जाँचबुझ गरी कानुनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
महासचिव डाँगीका अनुसार महानिर्देशक ढकालले व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न विभाग तयार रहेको बताएका छन् । छलफलबाट नै समस्याको निकास निस्कने भन्दै श्रमिक र व्यवसायीको हितलाई मध्यनजर गर्दै विभागले काम गर्ने जनाइएको छ । ‘छलफलबाटै समस्याको समाधान हुने भएकाले केही प¥यो भने मलाई जानकारी गराउन भन्नुभएको छ,’ डाँगीले भने, ‘व्यवसायी र श्रमिक दुवै पक्षको हितलाई प्रथमिकतामा राखेर काम गर्ने भन्दै कुनै पनि विषय मिडिया या मन्त्रालयमा जानुभन्दा अघि यहाँबाट हुने निकास यहीँबाट निकालौं भनेर सकारात्मक कुरा गर्नुभएको छ ।’
सो क्रममा वैदेशिक रोजगार क्षेत्रका समसामयिक समस्या तथा नीतिगत विषयमा पनि छलफल भएको संघले जनाएको छ । महानिर्देशक ढकालले व्यवसायीमैत्री वातावरण निर्माणमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको संघको भनाइ छ । साथै वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गरी थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउँदै अगाडि बढ्ने धारणा ढकालले राखेको जनाइएको छ ।