- श्रमिकहरुले आउँदो डिसेम्बर ३१ सम्म वर्क परमिट नवीकरण गर्न समय पाउने
- रोजगारदाताले डिसेम्बरको अन्त्यसम्म विदेशी श्रमिकको श्रम अनुमतिसम्बन्धी बाँकी प्रक्रिया पूरा गर्नुपर्ने
- समयसीमा सकिएपछि साउदीले नियामक व्यवस्था थप कडाइका साथ लागू गर्न सक्ने
काठमाडौं- साउदी अरबले श्रम अनुमति (वर्क परमिट)को म्याद सकिएका विदेशी कामदारका लागि समय थप गरेको छ। अब श्रमिकहरुले आउँदो डिसेम्बर ३१ सम्म वर्क परमिट नवीकरण गर्न समय पाउने भएका छन्। यसअघि गत जुन ३० सम्मको समय तोकिएकोमा समयसीमा थपिएसँगै साउदीमा कार्यरत नेपालीसहित लाखौं विदेशी श्रमिकले वैधानिकरुपमा रोजगारी गर्न अवसर थपिएको छ।
साउदीको श्रम मन्त्रालयले रोजगारदातालाई म्याद सकिएका वा आवश्यक प्रक्रिया पूरा नभएका श्रम अनुमति नियमित गर्न थप समय दिएको ‘द इकोनमिक टाइम्स’ले जनाएको छ। नयाँ व्यवस्थाअनुसार रोजगारदाताले आगामी डिसेम्बरको अन्त्यसम्म विदेशी श्रमिकको श्रम अनुमतिसम्बन्धी बाँकी प्रक्रिया पूरा गर्नुपर्ने छ। लामो समयदेखि श्रम अनुमति नवीकरण नगरेका तथा रोजगार सुरु गरेको निश्चित अवधिभित्र श्रम अनुमति नलिएका विदेशी श्रमिकलाई यो व्यवस्था लक्षित गरिएको जनाइएको छ।
समाचारका अनुसार विगतमा वर्क परमिटको म्याद सकिएको तीन महिनाभन्दा बढी समय भए त्यस्ता श्रमिकलाई साउदीको ‘किवा’ प्लाटफर्ममार्फत स्वतः हटाउने तयारी गरिएको थियो। किवा साउदीको श्रम मन्त्रालयद्वारा सञ्चालित श्रम क्षेत्रसँग सम्बन्धित एकीकृत डिजिटल प्रणाली हो। तर सरकारले उक्त स्वचालित प्रक्रिया यस वर्षको अन्त्यसम्म स्थगित गर्दै रोजगारदातालाई थप समय दिएको जनाइएको छ।
समयसीमा सकिएपछि साउदीले नियामक व्यवस्था थप कडाइका साथ लागू गर्न सक्ने देखिन्छ। तोकिएको समयसीमाभित्र रोजगारदाताले श्रम अनुमति नवीकरण वा आवश्यक प्रक्रिया पूरा नगरे जरिवाना, सम्बन्धित निकायबाट कारबाही तथा श्रमिकलाई रोजगारदाताको किवा प्रणालीको अभिलेखबाट हटाउने जस्ता कारबाही हुने भनिएको छ।
साउदी सरकारले पछिल्ला वर्षहरुमा श्रमबजारलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्दै रोजगारदाता तथा श्रमिकको कानुनी अवस्थालाई व्यवस्थित गर्ने नीति अवलम्बन गर्न थालेको छ। जसकारण वर्क परमिट, करार सम्झौता र रोजगारदाताको अभिलेखलाई किवा प्रणालीमार्फत व्यवस्थापन गर्ने प्रक्रियालाई थप कडा बनाएको समाचारमा उल्लेख छ।
साउदी नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य हो। वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृतिको तथ्यांकले पनि खाडी मुलुक नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य भएको देखाउँदै आएको छ। साउदी अरबमा विशेषगरी निर्माण, सरसफाइ, सुरक्षा, होटल तथा रेस्टुरेन्ट, यातायात, सेवालगायतका क्षेत्रमा नेपालीहरु काम गर्छन्।
गन्तव्य मुलुकमा श्रमिकको वैधानिकता महŒवपूर्ण हुन्छ। साउदीस्थित नेपाली दूतावासले गैरकानुनीरुपमा बासोवास गरिरहेकाहरुलाई विभिन्न समयमा बहिर्गमन भिसासमेत प्रदान गर्दै आएको छ। यसरी फर्किने श्रमिकले आवश्यक खर्च आफैं तिर्नुपर्छ। वर्क परमिट तथा रोजगारसम्बन्धी कागजातमा समस्या आउँदा श्रमिकले भनेअनुसारको तलब, रोजगारी परिवर्तन तथा कानुनी संरक्षण नपाउने अवस्था आउँछ। साथै, श्रमिकहरु स्वेश फर्कन चाहेको अवस्थामा पनि विभिन्न किसिमका जटिलताको सामना गर्नुपर्छ। कतिपय अवस्थामा कम्पनी बन्द हुँदा वा रोजगारदाताले आवश्यक कानुनी प्रक्रिया पूरा नगर्दा पनि श्रमिकहरु अलपत्र पर्ने गरेका छन्।
साउदी सरकारले समयसीमा थप गरेसँगै वर्क परमिटको म्याद सकिएका नेपाली श्रमिकलाई पनि लाभ पुग्ने अपेक्षा गरिएको छ। तर यसका लागि कम्पनीको रोजगारदाताले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र श्रमिकले वैधानिकरुपमा काम गर्न पाउने जनाइएको छ।