काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर मलेसिया रोजगारीमा लागू गर्न लागिएको सिण्डिकेटको विषयमा ध्यानाकर्षण गराएको छ। बिहीबार संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले लामिछानेसँग २५ वटा म्यानपावर कम्पनीलाई मात्र मलेसियाको श्रमिक भर्ना प्रक्रियामा संलग्न गराउन खोजिएको विषयलाई गम्भीररुपमा राखेको जनाइएको छ।
मलेसियाले गत अगस्ट २२ बाट फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस)मार्फत नेपालका २५ वटा व्यवसायीले मात्र श्रमिक पठाउन पाउने भन्दै सूची सार्वजनिक गरेको थियो। हाल मुलुकमा एक हजार २०० भन्दा बढी इजाजतपत्र प्राप्त संस्था रहेका छन्। जसमध्ये साढे ५०० भन्दा बढी व्यवसायीले मलेसियामा श्रमिक पठाइरहेको बताइन्छ। स्वार्थ समूहले मलेसिया रोजगारीमा सीमित व्यवसायीको एकाधिकार कायम गर्न पटक--पटक प्रयास गरेको विषय पनि सभापति लामिछानेलाई जानकारी गराइएको संघका अध्यक्ष खत्रीले बताए।
भेटमा राज्यले श्रमिक पठाउन इजाजतपत्र दिएका सबै व्यवसायीले समानरुपले काम गर्न पाउने वातावरण सिर्जना हुनुपर्ने माग राखिएको उनले बताए। संघले सभापति लामिछानेसमक्ष यसमा संलग्नहरुको साथै प्रणालीको आधिकारिकता र विश्वसनीयताको छानबिन गर्न आग्रह गरेको उनको भनाइ छ। जवाफमा लामिछानेले दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएको उनको भनाइ छ।
‘एफडब्ल्युसिएमएसमार्फत २५ व्यवसायीलाई मात्र काम गर्न दिएर अरुलाई प्रक्रियाबाट बाहिर राख्ने प्रयास भएको विषयलाई गम्भीररूपमा उठायौं,’ अध्यक्ष खत्रीले भने, ‘सभापतिज्यूसँग यो व्यवस्थाको आधिकारिकता, छनोटको मापदण्ड, पारदर्शिता, निष्पक्षता तथा विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको विषय राख्यौं। यसको निष्पक्ष छानबिन गरी दोषीव्यक्ति वा संस्थामाथि हदैसम्मको कानुनी कारबाही अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त भएको छ।’
भेटमा संघले वैदेशिक रोजगार क्षेत्रमा एकाधिकार, अस्वस्थ प्रतिस्पर्धा र सीमित समूहको प्रभाव स्थापित हुने कुनै पनि प्रयासले श्रमिक, व्यवसायी तथा दुई देशबीचको श्रम सम्बन्धमासमेत नकारात्मक असर पार्ने स्पष्ट धारणा राखेको जनाइएको छ। श्रमिक भर्ना प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र समान अवसरमा आधारित हुनुपर्ने माग संघको छ।
सो क्रममा वैदेशिक रोजगार क्षेत्रका अन्य समस्याप्रति पनि सभापति लामिछानेको ध्यानाकर्षण गराउँदै यस क्षेत्रलाई व्यवस्थित, सम्मानित, मर्यादित र श्रमिकमैत्री बनाउन आवश्यक नीतिगत सुधारको पहल गर्न अनुरोध गरिएको जनाइएको छ। संघले नीतिगत सुधारविना यो क्षेत्र सम्मानित र मर्यादित हुन नसक्ने भन्दै यसका लागि सरकारका सरोकारवाला निकायसँग निरन्तर सहकार्य गर्दै आएको पनि अवगत गराएको छ।
वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या र नीतिगत कमजोरीलाई अविलम्ब सम्बोधन गर्न आवश्यक पहल गरिदिन पनि संघले अनुरोध गरेको अध्यक्ष खत्रीले बताए। श्रमिकको हित, व्यवसायीको समान अधिकार र वैदेशिक रोजगार क्षेत्रको संस्थागत सुधारका लागि राजनीतिक दल, सरकार र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको विषयमासमेत छलफल भएको जनाइएको छ।