काठमाडौं- नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले भोटेकोशी बाढीप्रभावितका लागि १० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको संघले जानकारी दिएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनले उक्त रकम बराबरको चेक मंगलबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई हस्तान्तरण गरेको हो । कांग्रेसको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको उक्त रकम पार्टीले एकमुष्ट रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिइएको छ ।
अध्यक्ष रामप्रसाद गैरेको नेतृत्वमा सानेपा पुगेको टोलीमा एसोसिएसनका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु, सल्लाहकार, संस्थाका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
एसोसिएसनले विपद् र संकटको घडीमा पीडित नागरिकको साथमा उभिनु मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्व भएकाले सहयोगको सानो प्रयासले गरेको जनाएको छ । आफूहरुको सानो सहयोगले विपद्मा परेकाहरुको जीवनमा ठूलो आशा जगाउन सक्ने एसोसिएसनका अध्यक्ष गैरेले बताए ।
सहयोग अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउने व्यवसायीप्रति एसोसिएसनले आभार व्यक्त गरेको छ ।