काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समन्वयमा व्यवसायीहरुबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
संघका अध्यक्ष डिकबहादुर खत्री नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई एक करोड ५० लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको थियो । टोलीमा संघका पदाधिकारीहरु, शुभेच्छुक संस्थाका अध्यक्ष र पूर्वअध्यक्षलगायत सहभागी थिए । भोटेकाशी बाढीले ठूलो जनधनको क्षति गरेको छ । मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला मानवीय संवेदनालाई मध्यनजर गर्दै सम्पूर्ण व्यवसायीका तर्फबाट सहयोग रकम संकलन गरिएको संघका अध्यक्ष खत्रीले बताए ।
‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा रसुवा बाढी तथा पहिरोपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सञ्चालन गरिएको सहयोग अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थाहरूसमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाहरूको सहभागिता रह्यो । सहयोग प्राप्त हुने क्रम अझै जारी छ,’ अध्यक्ष खत्रीले भने ।
मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा व्यवसायीहरूले देखाएको एकता, सद्भाव र उदार सहयोगप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हार्दिक आभार व्यक्त गरेको छ । व्यवसायीहरुले पनि यस दुःखद घडीमा मानवीय र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आफूले सकेको सहयोग गरेको जनाएका छन् । आफूहरुले श्रमिकलाई रोजगारीमा पठाउने काममात्र गर्ने नभई संकटको घडीमा आफ्नो जिम्मेवारी पनि निर्वाह गर्दै आएको बताएका छन् । वैदेशिक रोजगार व्यवसायीहरुले विगतदेखि नै भूकम्प, बाढी, पहिरोलगायतका प्राकृतिक विपदका बेला अप्ठ्यारोमा परेका नागरिकहरुलाई सहयोग गर्दै आएको संघले उल्लेख गरेको छ ।