सुनसरी देवानगञ्ज स्थानीय युवा बोलबम यात्रामा निस्केका थिए । डिजेको आवाज बजाउँदै उनीहरु जाँदा अर्को समूहले आवाज ठुला भएको भन्दै प्रतिवाद हुँदा भएको विवादकै कारण प्रहरीको गोली लागेर एक युवाको मृत्यु भयो । प्रहरीको गोली लागेर देवानगञ्ज- ४ का ३० वर्षीय ओमप्रकाश मेहताको गत आइतबार नै मृत्यु भएको थियो । यही विवादको बीउ अहिले मधेशमा फैलिएको छ । देवागञ्जमै २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भयो । विहीबार सर्लाहीको गालबजारमा गणेश यादवको सडकमै ज्यान गयो ।
देवानगञ्जबाट फैलिएको प्रर्दशनको आगोले तीन जना युवाको ज्यान गइसकेको छ । यही कारण मधेशका विभिन्न जिल्लामा आगो फैलने क्रममा छ । बिहीबार सिरहा, धनुषा, पर्सा लगायत ठाउँमा प्रदर्शन भइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । प्रहरीले चलाएको गोली लागेर गोलबजार क्षेत्रका गणेशको मृत्युपछि प्रदर्शन लहानतिर पनि सरेको छ । प्रदर्शन नफैलियोस् भनेर प्रशासनले कफ्र्यु आदेश जारी त गरेको छ । तर स्थानीयहरू कफ्र्यु उल्लंघन गर्दै प्रदर्शन, नाराबाजी र तोडफोड गरिरहेका छन् ।
धार्मिक समूहले शुक्रबार सिराह बन्द गरिएको छ । चितवनदेखि तराईंका विभिन्न जिल्लासमेत बन्दको घोषणा विभिन्न समूहले गरेको छ । यो बीचमा प्रधानमन्त्री वालेन्द्र शाहले देशबासीको नाममा सम्बोधन गर्दै आपसी एकता, सहिष्णुता र विवेकी बन्न आग्रह गरेका छन् । प्रधानमन्त्री बालेनले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनसमेत आग्रह गरेका छन् ।
सुनसरी घटनाको चार दिनपछि गृहमन्त्री सुधन गुरुङ पनि मधेश झरेका छन् । काठमाडौंलाईमात्र देश मान्ने उहिल्यैको सत्ताधारीले झैं यसपटक पनि सरकारले त्यस्तै व्यवहार गर्दा मधेशमा चार दिनमै दनदनी आगो सल्किन शुरु भएको छ । यस्तो अवस्थामा शान्ति भड्कन नदिन सरकारले पहिलो जिम्मेवारी हो । यसका लागि सरकारले सुरक्षाकर्मीलाई संयम बनाउनुपर्छ । सेना परिचालन गरेर जनजीवन त्रसित बनाउनुभन्दा सरकारले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । भयानक स्थितिको सिर्जना भइसकेको अवस्थामा अब परिस्थिति सम्हाल्न सरकारमात्र लागेर हुने स्थिति देखिन्न । त्यसैले सम्बन्धित क्षेत्रका जनताले पनि शान्ति कायम गर्न सरकारलाई साथ दिनुपर्छ ।
समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति धर्म हो । तर अहिले धर्मकै नाममा घृणा र अशान्ति मच्चिएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै सबैले अआफ्नो तवरबाट स्थितिलाई सामान्य बनाउनेतिर भूमिका खेलौं । आगो निभाउनेतिर लागौं ।