फागुन २१ गते जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्ता सञ्चालनको म्यान्डेट दियो । जनताले रास्वपालाई १८२ सिट जिताएर स्पष्ट दिएको सन्देश दिएको हो - अब स्थिर सरकार चलाउनु । परिपक्व निर्णय गर्नु । सुशासन कायम गर्नु । तर प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयहरु एकपछि अर्को गरेर असफल हुन थालेको छ । कुनै निर्णयमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ भने कुनै निर्णय आफैले खारेज गरिदिएको छ ।
यस्तै एउटा निर्णय मंगलबार गर्यो । शिक्षा र स्वास्थ्यमा सरकारले ३ प्रतिशत कर लगाउने घोषणा गर्यो । कतिपयले यो घोषणाको स्वागतसमेत भयो । तर सरोकारवालाहरुले चर्को विरोध गरे । सरकारलाई यो कर नीति यति महँगो पर्यो कि, पार्टीभित्रै अप्ठेरो पर्ने देखिएपछि प्रधानमन्त्री शाहले शिक्षा र स्वास्थ्यमा लगाएको कर खारेज गरे ।
सोमबारमात्र सरकारले लोकसेवा आयोगमा वर्षदिनसम्म भर्ती नलिने निर्णय गरेको थियो । स्थायी जागिरको तयारीमा बसेका लाखौ युवाले तुरुन्तै विरोध जनाएपछि सरकार तत्काल यो निर्णय फिर्ता लिन बाध्य भयो । सरकार ब्याक भएको र बालेन सरकारलाई धक्का लागेको पहिलो घटना भने होइन । सरकारले सुरुमै ब्रिज कोर्सको अध्ययनलाई रोक लगाउने निर्णय गरेको थियो । यो निर्णयमा पनि सरकार ब्याक भयो ।
सरकारले प्रतिष्ठा बनाएको सुकुम्बासी व्यवस्थापन अहिले सबैभन्दा सकसपूर्ण बनेको छ । एउटा किनारबाट अर्को किनारमा लगेर सुकुम्बासीलाई दुःख दिइएको छ । पासपोर्ट छपाई प्रकरणमा विवाद ल्याउन प्रधानमन्त्रीको सचिवालय नै संलग्न भएको खुलेको छ । पासपोर्ट छाप्ने जिम्मा जर्मनी कम्पनीलाई दिइसकेको ठेक्का तोड्न प्रधानमन्त्रीको टिमले गरेको दबाबबाट पछि आफै ब्याक बन्नपर्यो ।
सरकारले धमाधम निर्णय गर्ने तर अदालतले उल्टाउने क्रम पनि यो छोटो समयमा देखिएको छ । सम्पत्ति छानबिनका नाममा सरकारले आयोग बनाएर पूर्वमन्त्रीसम्मलाई दबाब बढाएपछि अदालतले एकपछि अर्को आदेश दिएको हो । सम्पत्ति विवरण बुझाउने कुरालाई अनिवार्य गरेपछि सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग गठनको क्षेत्राधिकारमै प्रश्न उठाइदिएको हो । सरकारी विज्ञापन निजी मिडियामा कटौति गर्ने निर्णयलाई अदालतले खारेज गरिदियो । ट्रेड युनियन खारेज गर्ने निर्णय गरे पनि आधिकारिक रूपमा खारेज भएका छैनन् ।
यसरी एकपछि अर्को गर्दै बालेन सरकारको निर्णय खारेज भइरहेको छ । लहडको भरमा निर्णय गर्दा आलोचना त्यसपछि ‘ब्याक’ हुनुपर्ने बाध्यता छ । त्यसैले अलकाँचो निर्णय अघि जमिनमा टेकेर निर्णय गर्नु नै बुद्धिमता हुनेछ ।