संघको निर्वाचनमा नराम्रोसँग हारेर कमजोर प्रतिपक्षमा खुम्चिएको नेपाली कांग्रेस र नेकपा एमाले अहिले प्रदेशको सत्ता समीकरण फेर्ने दौडमा उत्रेको छ । कांग्रेसले सातै प्रदेशको समीकरण तोड्ने घोषणा गर्दा एमाले भने मौन सुनिएको छ ।
अहिले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीको हालीमुहाली छ । प्रतिनिधि सभामा भने गत फागुन २१ गते भएको निर्वाचनले यी दलको अवस्था निकै कमजोर बनेर राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित शक्तिशाली बन्यो । प्रदेश र स्थानीय तहमा निर्वाचन हुन अब केही समय बाँकी छ । यही मुखमा कांग्रेस र एमाले भने सत्ता समीकरणको होडमा निस्किएको हो । सत्ताको कूर्सीमात्र ताक्ने कांग्रेस - एमालेको यही बानीका कारण फागुन २१ को निर्वाचनमा जनताले नयाँ दल रोजे ।
ठुला र शीर्ष दल भन्दै हुँकार छाड्ने यी दल यसरी भित्तामा पुग्दा पनि अझै चेतेको देखिन्न । अन्तिमसम्म पनि सत्ताको ललीपपमा लोभिइरहेको देखिँदा अबको प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि यी दल बढारिने संकेत देखिन्छ । झन्डै घाम झैं छर्लाङ्ग हुन लागेको यो कुरा कांग्रेस-एमालेलाई कसले सम्झाइदिने ?

दुई दलले बजेटलाई सत्ता यात्रा टुङ्ग्याउने झगडाको बीउको रुपमा लिएको छ । यता कांग्रेसले आलोपालो नीतिअनुसार अब मुख्यमन्त्री फेर्नुपर्ने रटान शुरु गरेको छ । जब जब कमजोर हुँदै जान्छ, तब तब एकले अर्कोलाई दोष देखाउँदै झगडा गर्ने पुरानै बानी पुरानो दलमा पनि सल्किएको छ । नयाँ दलले संघमा सरकार बनाएसँगै अपरिपक्वता प्रदर्शन गरिरहेको बेला कांग्रेस-एमालेले केही सहनुभूति बटुलिरहेको थियो । तर यो सत्ताको लुछाचुँडीले भने फेरि जनता कांग्रेस-एमालेसँग अझै आक्रोशित हुन थालेका छन् । एक त आफ्नै दलभित्र चरम झगडा छ । त्यसमाथि विकास र स्थिरता चाहेको जनताले सत्ताको हेरफेर रुचाइरहेका छैनन् । त्यसै त व्यवस्थाविरोधीहरुको निशानामा प्रदेश र लोकतन्त्र मान्ने दलहरुमाथि परेको छ, त्यसमाथि कांग्रेस-एमालेको यो दाउपेचले उनीहरुको मुद्दा बलियो बन्ने देखिन्छ ।
लोकतन्त्रलाई बलियो बनाउने हो भने कांग्रेस-एमालेले तत्कालका लागि यस्तो गडबढी गर्न हुन्न । नयाँ दलबाट जनताले आशा गर्ने ठाउँ नपाउँदा सम्झने पुरानालाई नै हो । आफूलाई पुनस्थापना गर्ने चाहना यदि कांग्रेस-एमालेले राख्छ भने प्रदेशको सरकार चलाइराख्न हुन्न । जनताको विश्वास जितेर फेरि अघि बढ्न यस्ता स्वार्थपूर्ण कलहलाई तत्काल त्याग्नुपर्छ ।