काठमाडौं - इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ नेपाली श्रमिक छनोट गरेको छ। आवश्यक मापदण्ड पूरा गरेका १ हजार १ सय १५ जना अन्तिम छनोटमा परेका हुन्।
इजरायली सरकारले छनोटमा परेका श्रमिकहरूको वरीयता सूची वैदेशिक रोजगार विभागलाई पठाइसकेको छ, जसका आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढाइनेछ। केयरगिभरका लागि इजरायलले २ हजार ३ सय जनाको माग गरेको भए पनि अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय ३१ जना मात्र उत्तीर्ण भएका थिए। तीमध्ये इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) ले लक्की ड्रमार्फत १ हजार १ सय १५ जनालाई अन्तिम रूपमा छनोट गरेको हो। छनोट भएकामध्ये ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला रहेका छन्।
वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार २ सय ३१ जनाको कागजात परीक्षण गरी १ हजार १ सय ४० जनाको नाम पिबामा पठाएको थियो। त्यसमध्ये आवश्यक मापदण्ड पूरा गरेका १ हजार १ सय १५ जना अन्तिम छनोटमा परेका हुन्। यसैबीच, पिबाले नेपालका लागि थप ८ सय जनाको नयाँ कोटा पनि स्वीकृत गरेको छ। यसअघि पूरा हुन नसकेको १ हजार १ सय ८५ जनाको कोटा र नयाँ ८ सय जनाको कोटा जोडेर अब १ हजार ९ सय ८५ जनाका लागि पुनः भाषा परीक्षा सञ्चालन गरिने तयारी गरिएको छ।

पिबाकी निर्देशक शिर्ले राइसिन स्यासनले नेपालका लागि छुट्याइएको कोटाअन्तर्गत श्रमिक छनोट प्रक्रिया छिट्टै अगाडि बढाइने बताइन्। उनले नेपाल–इजरायल श्रम सम्झौताअनुसार पारदर्शी र व्यवस्थित ढंगले श्रमिक भर्ना प्रक्रिया सञ्चालन भइरहेको उल्लेख गर्दै नेपाली श्रमिकलाई इजरायल लैजान आफूहरू उत्साहित रहेको बताइन्। नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले पनि दुई देशबीचको श्रम सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाए। उनले केयरगिभर क्षेत्रबाहेक कृषि तथा आवासीय क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने सम्बन्धमा दुईवटा नयाँ प्रोटोकल तयार पार्ने काम भइरहेको जानकारी दिए।
नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार नेपाली श्रमिकहरू सरकारी संयन्त्रमार्फत पारदर्शी प्रक्रियाबाट इजरायल जाने व्यवस्था रहेको छ।