‘अर्थ न बर्थ गोविन्द गाई, टाउको दुख्या औषधि के मा लाई !’ हाम्रा गाउँघरका बूढापाकाले बनाएको यो उखान अहिले आएर नेपाली अर्थतन्त्रको आधिकारिक नाराजस्तै बनेको छ । जसले जे भन्यो, त्यही नै नीति । जसले जे कल्पना गर्यो, त्यही नै योजना । अनि जसले जे भाषण गर्यो, त्यही नै सुधार । अहिले देशमा एउटा नयाँ शब्द निकै चर्चामा छ, गार्जेनसिप । यो शब्द सुन्नासाथ मट्याङ्ग्रोले पहिले त सोचेको थियो, ‘अब सरकारले हामीलाई अभिभावक भएर हेर्छ होला । बेरोजगारलाई काम दिन्छ होला । किसानको उत्पादन किन्छ होला । उद्योग खोल्छ होला । स्वास्थ्य बिमा बलियो बनाउँछ होला ।’
तर केही महिनामै उसले बुझ्यो, गार्जेनसिप भनेको भाषणमामात्र हुने रहेछ । घण्टी बज्यो, तर रोजगारी बजेन । निर्वाचनको बेला घण्टी यति बज्यो कि गाउँभरिका कुकुरलेसमेत रातभर सुत्न पाएनन् ।‘घण्टी बजाउनुहोस्, परिवर्तन ल्याउनुहोस् ।’ मट्याङ्ग्रो पनि उत्साहित थियो । ‘यसपालि त केही होला ।’ उसले पहिलोपटक कुनै नेताको भाषण पूरा सुनेको थियो ।भाषणमा भनिएको थियो, हामी युवालाई विदेश जान दिँदैनौं । मट्याङ्ग्रोले घर फर्केर श्रीमतीलाई भनेको थियो, ‘अब त पासपोर्टको नवीकरण नगरे पनि हुन्छ ।’ श्रीमतीले खुसी हुँदै भनेकी थिइन्, ‘त्यसो भए छोरालाई यहीँ राम्रो स्कुलमा पढाऔं ।’
तर चुनाव सकियो । सरकार बन्यो । मन्त्री बने । सल्लाहकार बने । उपसल्लाहकार बने । अनि फेरि नयाँ समिति बन्यो । तर एउटा कुरा बनेन, रोजगारी !
घण्टी त बजिरह्यो । तर उद्योगको साइरन बजेन । कारखानाको मेसिन बजेन । रोजगारीको सूचना बजेन । गार्जेनसिपको नयाँ परिभाषा एकदिन मट्याङ्ग्रोले टेलिभिजन खोल्यो ।अर्थमन्त्री भाषण गर्दै थिए । सरकारले नागरिकको गार्जेनसिप लिन्छ । मट्याङ्ग्रोले कान सफा गर्यो । अब केही राम्रो घोषणा आउँछ । तर घोषणा आयो, स्वास्थ्य बिमा सुधार गर्नुपर्छ । मट्याङ्ग्रो मुस्कुरायो । उसले सोचेको थियो, अब अस्पतालमा सहज उपचार पाइन्छ । तर अर्को वाक्य आयो, ३५ सय तिरेर एक लाख खाने प्रवृत्ति रोक्नुपर्छ । मट्याङ्ग्रो एकछिन स्तब्ध भयो ।
उसले श्रीमतीलाई सोध्यो, ‘ए कान्छी, बिरामी हुने मान्छेले बिमाको पैसा खान्छ कि औषधि खान्छ ?’ श्रीमतीले भनिन्, ‘मलाई त ज्वरो आएको बेला औषधि खान पनि गाह्रो हुन्छ, पैसा कसरी खानु ?’ नेपालमा कुनै बेला स्वास्थ्य बिमा आशाको कार्यक्रम थियो । गरिबलाई राहत थियो । क्यान्सर भएका बुबालाई उपचार गराउन सकिन्थ्यो । सुत्केरी आमाले अस्पताल जान सक्थिन् । ज्येष्ठ नागरिकले औषधि पाउँथे । तर अहिले बिमाको चर्चा उपचारभन्दा बढी भाषणमा हुन थालेको छ । मट्याङ्ग्रोले भने, ‘सरकारलाई त बिरामी देख्दा दया होइन, खर्च देखिन्छ । कृष्ण कन्हैयाले थपे, अब त अस्पताल जानुभन्दा भाषण सुन्नु सस्तो पर्ला ।’

मट्याङ्ग्रोको छोरो कक्षा पाँचमा पढ्थ्यो । विद्यालयले नयाँ सूचना निकाल्यो, वार्षिक शुल्क बढ्यो । यातायात शुल्क बढ्यो । कम्प्युटर शुल्क बढ्यो । डिजिटल शुल्क बढ्यो । विकास शुल्क बढ्यो । अभिभावक शुल्क बढ्यो । मट्याङ्ग्रोले हिसाब गर्यो । विद्यालयभन्दा त एउटा सानो होटल सस्तो पर्ने रहेछ । उसले शिक्षा मन्त्रालयतिर हेर्यो । सोच्यो, अब केही नियन्त्रण हुन्छ । तर मन्त्रालय चुप । मन्त्री चुप । नीति चुप । विद्यालयमात्रै बोल्यो, ‘अर्को वर्ष अझ बढ्छ ।’
मट्याङ्ग्रोले हाँस्दै भन्यो, ‘अब स्कुल होइन, पाँचतारे होटलमा बच्चा राखे पनि यति धेरै खर्च नलाग्ला ! गार्जेनसिप कहाँ छ ?’एक दिन सदरमुकामको बसपार्कमा मट्याङ्ग्रो र कृष्ण कन्हैया भेटिए । कृष्णले सोध्यो, ‘कता हिँडिस् ?’ :मट्याङ्ग्रोले भने, ‘रोजगारी खोज्न ।’ ‘पायौ त ?’ उसले फेरि सोध्यो । मट्याङ्ग्रो भन्यो, ‘पाएँ, भाषण । अनि घोषणा ।’ ‘अनि काम त ?’ ‘अर्को आर्थिक वर्षमा ।’ दुवै हाँसे... । कृष्णले भन्यो, ‘अस्ति अर्थमन्त्रीले गार्जेनसिप भनेको त नागरिकलाई सुरक्षित बनाउने हो भन्दै थिए त !’
मट्याङ्ग्रोले भन्यो, ‘हो नि, तर यहाँ त नागरिकले सरकारलाई पाल्नुपरेको छ ।’हरेक मन्त्रीहरू भन्छन्, युवा विदेश नजाऊन् । तर मट्याङ्ग्रोले एउटा कुरा बुझ्न सकेन । जसले विदेश नजानू भन्छ, उसको छोरा विदेशमा । छोरी विदेशमा । उपचार विदेशमा । सम्पत्ति विदेशमा । बैंक खाता विदेशमा । छुट्टी विदेशमा । तर भाषणमात्रै नेपालमा ।मट्याङ्ग्रोेले भन्यो, ‘हामीलाई देश माया गर्न सिकाउनेहरू आफैं किन विदेशतिर माया गर्छन् ?’ त्यसैबेला मट्याङ्ग्रोलाई फोन आयो । ऊ अचम्म पर्दै खुसी व्यक्त गर्दै थियो । ‘धन्यवाद दाइ ! सरकारभन्दा त तपाईंले नै मेरो गार्जेनसिप लिइदिनुभयो । अनि मेरो टिकट पनि भयो नि ?’
उताबाट दलेले फोनमा भन्यो, ‘सबै भइसक्यो ।’मट्याङ्ग्रोले फोन काट्यो । यता कृष्ण कन्यहैया भन्दै थिए, ‘विदेश नजा ।’ ‘किन ?’ ‘देशलाई तिमीहरू चाहिन्छ ।’ मट्याङ्ग्रो मुस्कुरायो, ‘देशलाई हामी चाहिन्छ कि रेमिट्यान्स ?’ कृष्ण चुप । ‘मैले देश छोडेको होइन कृष्ण, देशले मलाई छोडेको हो ।’ कृष्णको आँखामा आँसु आयो । ‘पर्सी एयरपोर्टमा भेटौंला है’ भनेर मट्याङ्ग्रो हिँड्यो । नेपालको झण्डा काँधमा राखेर सुटकेश गुडाउँदै मट्याङ्ग्रो एयरपोर्टबाट भित्र छिर्ने लाइनमा थियो । कोही कतार जाँदै । कोही दुबई । कोही जापान । कोही कोरिया । सबैको अनुहार फरक, कथा एउटै– नेपालमा काम पाइएन ।
मट्याङ्ग्रोेले झोलाबाट एउटा सानो घण्टी निकाल्यो । त्यो चुनावमा बाँडिएको घण्टी थियो । उसले एकपटक बजायो । ‘टिङ... टिङ...’ त्यसको आवाज विमानस्थलभरि गुञ्जियो । कृष्णले सोध्यो, ‘किन बजाएको ?’ मट्याङ्ग्रोले भन्यो, ‘देशलाई सम्झाउन ।’ ‘के ?,’ कृष्णले प्रश्न गर्यो । ‘घण्टीले सरकार त आयो, तर रोजगारी आएन ।’ कृष्णले भन्यो, ‘फर्केर आउँछस् नि ?’
मट्याङ्ग्रोले मुस्कुराउँदै भन्यो, ‘जब गार्जेनसिप भाषणबाट सडकमा झर्छ । जब स्वास्थ्य बिमा बोझ होइन अधिकार बन्छ । जब विद्यालय व्यापार होइन शिक्षा बन्छ । जब युवा विदेश जान बाध्य होइन, नेपालमै बस्न इच्छुक हुन्छ । जब मन्त्री सचिवका छोराछोरी पनि यही देशमा बस्छन् । जब उपचारका लागि उनीहरू पनि नेपाली अस्पतालमा लाइन बस्छन् । त्यो दिन म पहिलो जहाज चढेर फर्किन्छु ।’ मट्याङ्ग्रो भित्र पस्यो । उसले अन्तिमपटक पछाडि फर्केर हेर्यो । कृष्ण कन्हैया हात हल्लाइरहेको थियो । मट्याङ्ग्रोेले पनि हात हल्लायो । अनि फेरि त्यो सानो घण्टी बजायो । टिङ... टिङ... टिङ... घण्टीको आवाजसँगै विमान आकाशतिर उड्यो ।