के कुराको उजुरी दिने ?
- वैदेशिक रोजगारका लागि गैरकानुनी शुल्क असुल गरेमा
- झूटो जागिरको प्रस्ताव वा नक्कली कागजात प्रदान गरेमा
- नेपाली कामदारको शोषण वा तस्करी गरेमा
- सहमतिविना जबरजस्ती श्रम गराएमा
- पैसा लिएर गायब भएमा वा सम्पर्क टुटाएमा
- मान्य इजाजतविना भर्ती व्यवसाय सञ्चालन गरेमा
कानुनले एजेण्टहरूलाई मान्यता दिएको छैन, तर व्यवहारमा उनीहरू अघोषितरूपमा सक्रिय भएका कारण यो अभियान प्रभावकारीरूपमा सुरु गरिएको हो ।
रामजी यादव
श्रममन्त्री
काठमाडौं- सरकारले सुरक्षित वैदेशिक रोजगारीका लागि भन्दै नयाँ अभियान थालेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले विशेष वेबसाइट र मोबाइल एप नै बनाएर ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ सुरु गरेको हो । श्रममन्त्री रामजी यादवले मंगलबार अभियानको घोषणा गर्दै अवैधरुपमा सक्रिय एजेण्ट हटाएर वैदेशिक रोजगारीको बेथिति अन्त्य गर्नु यसको प्रमुख उद्देश्य रहेको बताए । ‘कानुनले एजेण्टहरूलाई मान्यता दिएको छैन, तर व्यवहारमा उनीहरू अघोषितरूपमा सक्रिय भएका कारण यो अभियान प्रभावकारीरूपमा सुरु गरिएको हो,’ मन्त्री यादव भने ।

वैदेशिक रोजगारीमा एजेण्टबाट श्रमिक ठगिने क्रम वर्षौंदेखि चल्दै आएको थियो । श्रमिकसँग अनधिकृतरुपमा पैसा लिएर ठगी गरेका घटनाहरु बारम्बार सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समय सरकारले कडाइ गरे पनि एजेण्टबाट हुने ठगी पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ सुरु गरेको बताइएको छ । वि.सं. २०५६ सालदेखि परेका उजुरीहरूको विश्लेषण गर्दा अधिकांश समस्या गैरकानुनी एजेण्टहरूसँग सम्बन्धित देखिएकाले उनीहरूलाई पहिचान र कारबाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । ‘यसका लागि एक विशेष वेबसाइट र मोबाइल एप बनाएका छौं । यस प्रणालीमार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूहविरुद्ध विवरण संकलन गरिने छ,’ मन्त्री यादवले भने, ‘यो केवल उजुरी प्रणालीमात्र नभई ‘डेटामा आधारित सुशासन’को प्रारम्भ हो, जसले नीति निर्माणलाई तथ्यपरक र कारबाहीलाई उत्तरदायी बनाउने छ ।’
अभियानमा कसरी सहभागी हुन आह्वान
श्रम मन्त्रालयले अवैध एजेण्टविरुद्धको यस अभियानमा सहभागी हुन सरोकारवालासमक्ष आग्रह गरेको छ । वैदेशिक रोजगार विभागसँगको सहकार्यमा मन्त्रालयले सुरु गरेको ‘ओआइएसियुपी डट एमओएलइएसएस डट जिओभी डट एनपी’ वेब पोर्टलमार्फत एजेण्टका गैरकानुनी क्रियाकलापहरुविरुद्ध उजुरी दर्ता गर्न सकिने भएको छ । साथै, आफूले दर्ता गरेको उजुरीमाथि के कारबाही भइरहेको छ भन्ने ट्र्याकिङ गरेर हेर्न मिल्ने व्यवस्थासमेत गरिएको छ ।
‘युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संयुक्त पहलमा अवैध एजेण्ट र मध्यस्थकर्ताहरूविरुद्ध राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको छ । आफूले थाहा पाएका गैरकानुनी क्रियाकलापहरू तुरुन्त उजुरी गर्नुहोस्,’ उक्त वेबसाइटमा भनिएको छ । वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली कामदारहरूलाई ठग्ने, शोषण गर्ने वा जबरजस्ती श्रम गराउने एजेण्ट वा मध्यस्थकर्ताहरूको विवरण प्रदान गरी न्याय दिलाउन सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
के कुराको उजुरी दिने ?
मन्त्रालयले वैदेशिक रोजगारका लागि गैरकानुनी शुल्क असुल गरेमा उक्त वेबसाइट वा मोबाइल एपमार्फत उजुरी दर्ता गर्न सकिने जनाएको छ । यसैगरी झूटो जागिरको प्रस्ताव वा नक्कली कागजात प्रदान गरेमा, नेपाली कामदारको शोषण वा तस्करी गरेमा, सहमतिविना जबरजस्ती श्रम गराएमा, पैसा लिएर गायब भएमा वा सम्पर्क टुटाएमा वा मान्य इजाजतविना भर्ती व्यवसाय सञ्चालन गरेमा तुरुन्त उजुरी दर्ता गर्न भनिएको छ । यसरी उजुरी दिने व्यक्तिको पहिचान गोप्य राखिने पनि मन्त्रालयले जानकारी दिएको छ ।