काठमाडौं – वैदेशिक रोजगार विभागले गत जेठ महिनामा तीन वटा म्यानपावरलाई कारबाही गरेको छ । विभागले अघिल्लो सोमबार जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार ऐन २०६४ विपरीतको गतिविधि गरेकाले ती म्यानपावरलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा ग्राण्ड सुइट जब प्रालि, नून सिसोर्सेस प्रालि र गुड लक इन्टरनेसनल म्यानपावर रहेका छन् । ग्राण्ड सुइटले प्रचलित कानुनभन्दा बढी सेवा शुल्क लिएको विभागले जनाएको छ । उक्त संस्थालाई ऐनको दफा ५३ बमोजिम ५० हजार रुपैयाँ जरिवाना लिनुका साथै विभागको अभिलेखमा रहनेगरी दफा ५४ बमोजिम त्यस्तो कसुर नगर्न सचेत गराइएको विभागले जनाएको छ ।
विभागका अनुसार नून रिसोर्सेसले अन्तरवार्तामा प्रकाशित भएको सूची विभागलाई उपलब्ध नगराएकोले कारबाहीमा परेको हो । उक्त संस्थालाई ऐनको दफा ५० बमोजिम ५० हजार रुपैयाँ जरिवाना तिराउनुका साथै दफा ५४ बमोजिम सचेत गराइएको छ ।
त्यस्तै, गुड लक इन्टरनेसनलले निवेदकसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै लट इनएक्टिभ गरिएको विभागको सूचनामा उल्लेख छ ।