न्युरोडको पिपलबोट अहिले पनि उस्तै छ । फरक यत्ति हो, पहिले पिपलको छहारीमा मानिसहरू समाचार पढ्थे, अहिले मोबाइलको स्क्रिनमा औंला घोट्छन् । पहिले बिहानै पत्रिका बेच्नेहरू ‘गोरखापत्र, रन्को, जनताको शपथ, कमाण्डर’ भन्दै कराउँथे । अहिले त्यही ठाउँमा टिकटक र फेसबुकका रिलहरूको रिङटोन मोबाइलमा कराउँछ ।
एक समय थियो, यही पिपलबोटबाट सरकार बन्थे, सरकार ढल्थे । एउटा शीर्षकले मन्त्रीको निद्रा हराउँथ्यो । अहिले एउटा ‘भाइरल’ भिडियोले देशको राजनीति चलाउँछ ।त्यही ऐतिहासिक पिपलबोटमा एक दिन फेरि मट्यांग्रो र उसको जिग्री साथी बैरीको भेट भयो ।
‘ओए बैरी !’ मट्यांग्रोले टाढैबाट करायो ।
‘ए मट्यांग्रोे ! तँ पनि जीवितै रहेछस् ?’
‘किन मर्ने ? देशमा भ्रष्टाचार बाँकी छ, नेताहरू बाँकी छन् । यत्रो सामग्री हुँदा व्यंग्यकार कसरी मर्छ ?’
दुवै हाँसे... ।
पिपलको फेदमा ओछ्याएको ढुंगामा बसे । केहीबेर दुवैले वरिपरि हेरे । मट्यांग्रोले लामो सास फे¥यो । ‘यही ठाउँमा पहिले बिहानै पत्रपत्रिका किन्नेहरूको भीड हुन्थ्यो । अहिले हेर्न त परै जाओस्, एउटा पत्रिका बेच्ने पनि छैन ।’
बैरीले मोबाइल निकाल्दै भन्यो, ‘पत्रिका किन्ने मान्छेभन्दा चार्जर खोज्ने धेरै छन् ।’
‘त्यही त ।’
‘पहिले समाचार खोजिन्थ्यो, अहिले सनसनी खोजिन्छ ।’
‘पहिले सम्पादकीय पढिन्थ्यो, अहिले कमेन्ट ।’
फेरि दुवै हाँसे ।
मट्यांग्रोले पिपलको रुखतिर हेर्दै भन्यो, ‘यो पिपलले कति इतिहास देख्यो होला ।’
बैरीले सहमति जनायो ।
‘राणा शासनको अन्त्यदेखि पञ्चायत, बहुदल, जनयुद्ध, गणतन्त्र, जेन–जी, फेन–जी खै के–के सबै देख्यो ।’
‘अब टिकटकतन्त्र पनि यही पिपलले देख्यो ।’
बैरी हाँस्दै भन्यो, ‘अब देश चलाउने संसद् होइन, ट्रेण्डिङ ह्यासट्याग हो ।’
त्यत्तिकैमा कुरा भदौ २३ र २४ को जेन–जी आन्दोलनतिर मोडियो । मट्यांग्रो केही उत्साहित देखियो ।
‘मलाई त त्यो आन्दोलन ठीक लागेको थियो ।’
बैरीले आँखा तरेर हे¥यो । ‘किन ?’
‘कम्तीमा भ्रष्टाचारविरुद्ध त उठेका थिए ।’
‘उठेका थिए कि उठाइएका थिए ?’
‘के भन्न खोजेको ?’
‘भाइ, नेपालमा कुनै आन्दोलन आफैं उठ्दैन । कसैले उठाउँछ ।’
मट्यांग्रो रोकियो ।
‘तर युवाहरू त परिवर्तन चाहन्थे ।’
बैरी मुसुक्क हाँस्यो, ‘परिवर्तन ?’
‘हो ।’
‘कसको ?’ उसले सोध्यो तुरुन्तै जवाफ आयो ‘देशको ।’
‘अनि पछि ?’
‘पछि के ?’
‘परिवर्तन देशको भएन, पार्टीको भयो ।’
बैरीले भन्यो, ‘हिजो माओवादीले पनि त्यही भनेका थिए ।’
‘के ?’
‘भ्रष्टाचार अन्त्य गर्छौं । समानता ल्याउँछौं । गरिबको शासन ल्याउँछौं । जनताको राज्य बनाउँछौं ।’
मट्यांग्रो चुप लाग्यो ।
बैरीले फेरि भन्यो, ‘त्यसबेला गाउँ–गाउँमा आगो लाग्यो । घर जलाइयो । सामन्तका नाममा मान्छे रेडिए, सुराकीका नाममा मास्टर झुण्ड्याइए । मानिस विस्थापित भए । हजारौं मारिए । सबैको नारा एउटै थियो नयाँ नेपाल ।’
मट्यांग्रोले प्रतिवाद ग¥यो, ‘तर जेन–जी आन्दोलन त्यस्तो थिएन ।’
बैरी हाँस्यो, ‘नाममात्रै फरक । विधि उस्तै, रिस उस्तै, भावना उस्तै, अन्त्य पनि उस्तै हुने डर छ ।’
यत्तिकैमा एउटा परिचित अनुहार पिपलबोटतिर आयो । सेतो कपाल । पुरानो झोला । हातमा जनताको शपथ मुख्य नारा बोकेको जनशपथ पत्रिका । उनी थिए, पत्रकार राजन दाइ ।
मट्यांग्रोले सम्मानसहित उठेर दुई हात जोडेर अभिवादन ग¥यो ।
‘दाइ नमस्कार, बसौं न !’
राजन दाइ पनि उनीहरूसँगै बसे । बैरीले सोध्यो, ‘दाइ, तपाईंले त धेरै आन्दोलन देख्नुभयो ।’
राजन दाइ मुस्कुराए, ‘त्यतिमात्र होइन, धेरै नेताको जन्म र पुनर्जन्म पनि देखेँ ।’
मट्यांग्रोले सीधै प्रश्न ग¥यो, ‘जेन–जी आन्दोलन र अहिलेको अवस्था कस्तो लाग्यो ?’
राजन दाइले चस्मा मिलाए र भने, ‘मलाई त माओवादी आन्दोलनको ट्रेलर फेरि हेरेजस्तो लाग्यो ।’
दुवै अचम्म परे ।
‘किन दाइ ?’
‘किनभने सुरुवातमा सबैले जनताको कुरा गर्छन् । त्यसपछि आफ्ना नेताको र अन्त्यमा आफ्नै कुर्सीको ।’
राजन दाइले विस्तारै भन्न थाले, ‘माओवादीले गाउँमा घर जलाए । जेन–जी आन्दोलनका नाममा सिंहदरबारमा आगो लाग्यो ।’
दुवैले विद्रोह गरे । दुवैले व्यवस्था बदल्ने सपना देखाए । दुवैले जनताको भावना उपयोग गरे ।
बैरीले थप्यो, ‘अनि ?’
राजन दाइ हाँसे, ‘अनि विद्रोह सकिएपछि नेता गाडी चढे । जनता बस कुर्दै बसे । मट्यांग्रोले केही अहसजजस्तै गरी बोल्यो । सबै एउटै हुन्छन् र ?’
राजन दाइले उत्तर दिए, ‘नेपालमा क्रान्ति गर्नेहरू धेरै छन् । क्रान्ति सहनेहरू अझ धेरै । तर क्रान्तिको लाभ लिनेहरू गन्न सजिलो छ ।’
पिपलको पात हल्लियो । हावाले केही सुक्खा पात तल झारिदियो । राजन दाइले एउटा पात उठाए । यो पात जनता हो । रुख नेता । हावा आन्दोलन । हावा चल्दा पात झर्छ । रुख भने उभिइरहन्छ । मट्यांग्रो चुपचाप सुनिरहेको थियो ।
उसले बिस्तारै भन्यो, ‘तर भ्रष्टाचार त अन्त्य हुनुपर्छ ।’
राजन दाइले भने, ‘निश्चय हुनुपर्छ ।’
‘तर भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेले आफू भ्रष्ट नहुने ग्यारेन्टी पनि दिनुपर्छ,’ बैरी हाँस्दै भन्यो ।
‘नेपालमा आन्दोलन भनेको जागिरको इन्टरभ्युजस्तो भयो । पहिले धेरै प्रतिज्ञा । पछि कुर्सी । त्यसपछि जनता ब्लक,’ राजन दाइले थपे, ‘हिजोका विद्रोही पनि मन्त्री बनेर आलिसान महल जोडे । आजका विद्रोही पनि मन्त्री बनेका छन् । पद पाउनुभन्दा अगाडि नै सयौं तोला सुन र महल जोडिसकेका छन् ! फरक यत्ति हो– पहिले बन्दुक थियो, अहिले फेसबुक लाइभ छ ।’
मट्यांग्रोले मोबाइल निकाल्यो । समाचार हे¥यो । ‘फेरि अर्को आन्दोलनको चर्चा,’ उसले गम्भीर हुँदै भन्यो, ‘दाइ, अब के गर्ने ?’
राजन दाइ मुस्कुराए, ‘पहिले पढ्ने, सोच्ने, प्रश्न गर्ने अनिमात्र पछ्याउने ।’
बैरीले वरिपरि हेर्दै भन्यो, ‘पत्रिका हराएपछि प्रश्न पनि हराए ।’
राजन दाइले सहमति जनाए, ‘हो ।’
अब शीर्षक पढेर निर्णय हुन्छ । समाचार पढ्ने धैर्य छैन । इतिहास सम्झने फुर्सद छैन । पिपलबोट वरिपरि मानिसहरूको चहलपहल बढ्दै थियो । कोही सेल्फी खिच्दै त कोही लाइभ गरिरहेका थिए । कसैले राजनीतिलाई गाली गरिरहेका थिए । कसैले फेरि अर्को नेताको जयजयकार ।
राजन दाइ मुस्कुराए, ‘नेपालमा जनता कहिल्यै हार्दैनन् ।’
मट्यांग्रो उत्साहित भयो, ‘साँचै ?’
‘हो । किनकि जनता हरेक पाँच वर्षमा फेरि आशा गर्न तयार हुन्छन् ।’
बैरीले टाउको हल्लायो, ‘हामी साँच्चै आशावादी जनता रहेछौं । हात्ती आयो... हात्ती आयो... भन्दै दौडिन्छौं । अन्त्यमा के हुन्छ ?’
मट्यांग्रोले उत्तर दियो, ‘फुस्सा ।’
राजन दाइ उठे । झोला काँधमा भिरे । जाँदाजाँदै उनले अन्तिम कुरा भने, ‘क्रान्ति नारा होइन । क्रान्ति आगो पनि होइन । क्रान्ति त नागरिकको चेतना हो । जबसम्म चेतना आउँदैन, नेपालमा हरेक दशक नयाँ नामको आन्दोलन आउँछ । पुराना अनुहार नयाँ झण्डा बोकेर आउँछन् । जनताले फेरि विश्वास गर्छन् । नेताले फेरि शासन गर्छन् । अनि इतिहासले फेरि उही वाक्य लेख्छ– हात्ती आयो, हात्ती आयो, फुस्सा ।’