नेपालको राजनीति पनि गजबको रंगमञ्च हो । यहाँ पात्र फेरिन्छन्, पार्टी फेरिन्छन्, भाषण फेरिन्छन्, तर जनताको पीडा र प्रश्न उस्तै रहन्छ । चुनावको बेला जनताको घरदैलोमा पुग्ने, हात जोड्ने, ‘देश बनाउँछौं’ भन्ने नेताहरू जब सत्ताको कुर्सीमा पुग्छन्, त्यही कुर्सीले उनीहरूको आँखामा यस्तो चस्मा लगाइदिन्छ कि जनताको दुःखभन्दा आफ्नै वरिपरिको भीड ठूलो देखिन थाल्छ ।
नेपालको राजनीति एउटा यस्तो बजार बनेको छ जहाँ सिद्धान्तको मूल्य घट्दै गएको छ र पहुँचको मूल्य बढ्दै गएको छ । जहाँ सेवा गर्ने सपना बोकेर आएको राजनीति कतिपयका लागि शक्ति, सुविधा र सम्पत्ति जोड्ने माध्यम बन्न पुगेको आरोप लाग्दै आएको छ ।
अहिले फेरि देशमा सम्पत्ति, सत्ता र जवाफदेहिताको विषय चर्चामा छ । शक्तिशाली पदमा बसेका व्यक्तिहरूमाथि छानबिन, अनुसन्धान र प्रश्न उठ्नु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । तर जनताको मनमा एउटा पुरानो प्रश्न अझै जीवित छ, ‘सार्वजनिक जीवनमा आएका मानिसहरूको जीवनशैली यति छिटो कसरी बदलिन्छ ?’
जनताको प्रश्न केवल एउटा व्यक्ति वा एउटा घटनासँग मात्र जोडिएको छैन । यो त वर्षौंदेखि जम्मा भएको असन्तुष्टिको आवाज हो । किनकि, जनताले देखेका छन् । एउटा सामान्य नागरिकले जीवनभर मिहेनत गर्दा पनि घर बनाउन संघर्ष गर्छ, तर केही मानिसहरू राजनीतिमा प्रवेश गरेपछि छोटो समयमै ठूलो सम्पत्तिका मालिक बन्न पुग्छन् । त्यसैले जनता सम्पत्तिको आकार होइन, त्यसको स्रोत खोज्न चाहन्छन् ।
‘राजनीति सेवा हो भनियो, तर कतै कतै त सेवा गर्ने नाममा सम्पत्ति जोड्ने कला पो सिकाइयो कि ?’ राजनीतिको सबैभन्दा ठूलो समस्या भ्रष्टाचारमात्र होइन, जवाफदेहिताको अभाव हो । गल्ती हुँदा पनि शक्तिको आडमा बच्ने संस्कारले जनताको विश्वास कमजोर बनाएको छ । कुनै पनि लोकतन्त्र बलियो हुनका लागि कानुन सबैका लागि समान हुनुपर्छ । पद ठूलो भयो भन्दैमा प्रश्नबाट माथि हुन पाइँदैन, र कमजोर भयो भन्दैमा अन्याय सहन बाध्य हुनु हुँदैन ।
नेपालमा वर्षौंदेखि अर्को एउटा समस्या देखिएको छ । विकासको नाममा बजेट आउँछ, योजना बन्छ, ठेक्का लाग्छ, तर कामको गुणस्तर र खर्चको पारदर्शिता सधैं प्रश्नको घेरामा पर्छ । सडक किन बिग्रियो ? पुल किन कमजोर भयो ? आयोजना किन ढिला भयो ? यी प्रश्नको उत्तर खोज्दा धेरैपटक राजनीतिक पहुँच, ठेकेदारको प्रभाव र प्रशासनिक कमजोरीको कथा भेटिन्छ ।
ठेकेदार, व्यापारी र राजनीतिक शक्तिको सम्बन्ध पनि जनताको चासोको विषय बनेको छ । कुनै व्यापारीले आफ्नो शक्ति र पहुँच प्रयोग गरेर राज्यलाई प्रभावित गरेको छ भने त्योमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ । तर अनुसन्धान पनि प्रतिशोध होइन, प्रमाण र कानुनको आधारमा हुनुपर्छ । किनकि, न्यायको नाममा अन्याय हुनु पनि अर्को समस्या हो ।
आज जनताले खोजेको कुरा केवल पक्राउको समाचार होइन, प्रणालीको सुधार हो । एउटा व्यक्ति पक्राउ पर्दैमा देश सुध्रिदैन । किनकि भ्रष्टाचार एउटा व्यक्तिको मात्र रोग होइन, कहिलेकाहीँ यो सोच र संस्कारको रोग हुन्छ । नेपालको राजनीति कहिलेकाहीँ यस्तो देखिन्छ । ‘एउटा मान्छे कुर्सीबाट झर्छ, अर्को मान्छे त्यही कुर्सीमा बस्छ, तर कुर्सीको धूलो भने उस्तै रहन्छ ।’ नयाँ पुस्ताले पुरानो राजनीतिक संस्कारमाथि प्रश्न उठाइरहेको छ । सहरका सडक, सामाजिक सञ्जाल र जनताको आवाजमा एउटा माग छ, अब भाषण होइन, काम चाहियो । अब नाराले होइन, परिणामले विश्वास जित्नुपर्छ ।
तर नयाँ नेतृत्वका लागि पनि चुनौती कम छैन । लोकप्रियता बढेपछि वरिपरि अवसर खोज्नेहरूको भीड लाग्छ । कसैले नाम बेचेर फाइदा लिन खोज्छ, कसैले पहुँचको व्यापार गर्न खोज्छ । देश परिवर्तनको अभियानमा लाग्नेहरूले आफ्नो वरिपरिको घेरा पनि सफा राख्नुपर्छ । किनकि, कहिलेकाहीँ बाहिरका विरोधीभन्दा भित्रका स्वार्थीहरू ठूलो समस्या बन्न सक्छन् । राजनीतिमा अर्को ठूलो विडम्बना पनि छ । आफ्नो पक्षको मान्छेले गल्ती गर्दा मौन बस्ने र अर्को पक्षको मान्छेले गल्ती गर्दा ठूलो आवाज निकाल्ने प्रवृत्ति । भ्रष्टाचार कुनै दल, झण्डा वा विचारधाराको हुँदैन । गलत काम गर्ने व्यक्ति जुनसुकै पक्षको भए पनि कानुनको दायरामा आउनुपर्छ ।
जनताले अब एउटा कुरा बुझ्न थालेका छन् । लोकतन्त्र भनेको केवल चुनाव होइन, निगरानी पनि हो । नेता छान्ने अधिकारसँगै प्रश्न गर्ने अधिकार पनि जनतासँग हुन्छ । जनताले तालीमात्र होइन, हिसाब पनि माग्न सिक्नुपर्छ । देशको ढुकुटी कुनै नेता, व्यापारी वा शक्तिशाली समूहको निजी पेवा होइन । त्यो किसान, मजदुर, कर्मचारी र आमनागरिकको योगदानबाट बनेको साझा सम्पत्ति हो । त्यसैले राज्यको स्रोत दुरुपयोग गर्ने जोसुकै भए पनि जवाफदेही हुनुपर्छ । तर देश बनाउने बाटो केवल रिस र आक्रोशबाट सम्भव छैन । बलियो कानुन, निष्पक्ष संस्था, पारदर्शी शासन र सचेत नागरिक नै वास्तविक समाधान हुन् ।
‘कुर्सीले केही समयका लागि शक्ति दिन सक्छ, तर जनताको स्मृतिबाट कसैलाई मेटाउन सक्दैन ।’ आजको नेता भोलि इतिहासको पात्र बन्न सक्छ । आजको शक्ति भोलि प्रश्नको कठघरामा उभिन सक्छ । त्यसैले सार्वजनिक जीवनमा आउने हरेक व्यक्तिले सम्झनुपर्छ । पद अस्थायी हो, कर्म स्थायी हो । देश हाँस्ने दिन त्यतिबेला आउँछ, जब राजनीति व्यापार होइन सेवा बन्ने छ । जब राज्यको सम्पत्ति व्यक्तिगत अवसर होइन राष्ट्रिय जिम्मेवारी बन्ने छ । जब नेता जनताभन्दा माथि होइन, जनताको सेवक बन्ने छ । किनकि, अन्तिम हिसाब किताब चुनावको मञ्चमा होइन, जनताको मनमा हुन्छ ।
नेपालको राजनीति पनि अचम्मको विद्यालय रहेछ । यहाँ प्रवेश गर्न जनताको विश्वास चाहिन्छ, तर पास हुनचाहिँ जनताको परीक्षा होइन, शक्तिको परीक्षा दिनुपर्ने रहेछ । चुनावअघि नेताहरू जनताको घरमा पुगेर ‘तपाईंको सेवक हुँ’ भन्छन्, तर कुर्सी पाएपछि त्यही सेवकको वरिपरि यति धेरै सुरक्षा घेरा लाग्छ कि जनता भेट्न जान पनि अनुमति लिनुपर्ने अवस्था आउँछ । मट्यांग्रोको हिसाबमा हेर्ने हो भने, नेपालमा नेताको सम्पत्ति बढ्ने गति र देशको विकासको गति तुलना गर्न मिल्दैन । देशको अर्थतन्त्र बिस्तारै हिँड्छ, तर केही व्यक्तिको जीवनशैली भने रकेटजस्तै उड्छ । जनताले यहीँबाट प्रश्न गर्छन्, ‘यो विकास कुन बाटोबाट आयो ? देशको बाटोबाट कि व्यक्तिगत भाग्यको गोरेटोबाट ?’
राजनीतिमा एउटा नयाँ संस्कार पनि देखिन थालेको छ । पदमा हुँदा सबै ठीक, पद गएपछि सबै फाइल खुल्ने । मानौं कुर्सीमा बस्दा कानुनले पनि सलाम गर्छ, तर कुर्सीबाट झरेपछि कानुनले पुराना कागज खोज्न थाल्छ । कहिलेकाहीँ लाग्छ, हाम्रो देशमा कुर्सीभन्दा शक्तिशाली अर्को कुनै वस्तु छैन । कुर्सीमा बसेपछि मानिसले आलोचना सुन्न छोड्छ, जनताको पीडा देख्न छोड्छ र आफ्नै प्रशंसकहरूको आवाजमात्र सुन्न थाल्छ । वरिपरि बसेकाहरू पनि ‘वाह ! कस्तो महान् नेता !’ भन्दै यस्तो ऐना देखाउँछन् कि वास्तविक अनुहार नै हराउन पुग्छ । तर इतिहासको ऐना फरक हुन्छ । त्यसले चाकडी देखाउँदैन, केवल कर्म देखाउँछ ।
नेपालमा अर्को रोचक दृश्य पनि छ । जब कुनै शक्तिशाली व्यक्ति समस्यामा पर्छ, उसको वरिपरिको भीड अचानक घट्न थाल्छ । हिजो ‘हजुरविना देश चल्दैन’ भन्नेहरू भोलि ‘हामी त चिनेकै थिएनौं’ भन्न तयार हुन्छन् । राजनीति पनि कस्तो सम्बन्ध रहेछ । फाइदा हुँदा परिवार, समस्या पर्दा अपरिचित ! मट्यांग्रो भन्छ, ‘राजनीतिको संसारमा कुर्सी हुँदा आफन्त धेरै हुन्छन्, कुर्सी जाँदा आफैंसँग कुरा गर्ने समय आउँछ ।’ देशको अर्को विडम्बना के हो भने, जनताले सामान्य जीवन बिताउन संघर्ष गरिरहेका छन् । महँगी बढ्छ, रोजगारी घट्छ, युवा विदेश जान बाध्य हुन्छन् । तर राजनीतिक वृत्तमा भने शक्ति, पहुँच र सुविधाको चर्चा चलिरहन्छ । यही दूरीले जनतामा निराशा बढाएको हो ।तर अब जनताले केवल गुनासो गरेर बस्ने समय छैन । उनीहरूले प्रश्न गर्न थालेका छन् । सम्पत्तिको स्रोत खोज्न थालेका छन् । कामको हिसाब माग्न थालेका छन् । यही चेतना लोकतन्त्रको असली शक्ति हो ।
नयाँ नेतृत्व आए पनि पुरानो रोग दोहोरिन नदिन जनताले सजग हुनुपर्छ । किनकि, भ्रष्टाचारको सबैभन्दा ठूलो शत्रु केवल प्रहरी वा अदालत होइन, सचेत नागरिक पनि हुन् । ‘देशलाई गरिब बनाएर आफ्नो दरबार बनाउने सपना देख्नेहरूले एउटा कुरा बुझ्नुपर्छ । जनताको धैर्यको पनि ब्याज लाग्छ । ढिलो होला, तर हिसाब माग्ने दिन आउँछ ।’ राजनीतिमा आउने मानिसले सम्झनुपर्छ । जनताले दिएको मत ऋण हो, माफीपत्र होइन । कुर्सी जिम्मेवारी हो, पुरस्कार होइन । राज्यको सम्पत्ति अवसर होइन, अमानत हो ।
देशलाई हँसाउने हो भने भाषणको मञ्चमा होइन, जनताको जीवनमा परिवर्तन देखिनुपर्छ । नत्र जनताको मौनता पनि एक दिन ठूलो झट्का लाग्न सक्छ । सिंहदरबार जलेजस्तै अरू दरबार पनि जल्न सक्छ ।