- इजरायलको माग दुई हजार ३०० जना
- अंग्रेजी भाषा परीक्षामा उत्तीर्ण एक हजार २३१ जना
- भाषा परीक्षामा सहभागी १५ हजार ६२६ जना
- भाषा परीक्षामा उत्तीर्ण सबैले अवसर पाउने सम्भावना
- यसअघि मागभन्दा बढी उत्तीर्ण हुँदा चिट्ठामार्फत छनोट गर्दै आएको थियो
काठमाडौं- इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि लैजान सञ्चालन गरिएको अंग्रेजी भाषा परीक्षामा माग गरिएकोभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् । इजरायलले हालै खुलाएको आवेदनमा दुई हजार ३०० जना नेपाली श्रमिक माग गरेको छ । तर, भाषा परीक्षामा एक हजार २३१ जनामात्र उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उक्त परीक्षामा १५ हजार ६२६ जना सहभागी भएका थिए ।
इजरालयका लागि आवश्यक अंग्रेजी भाषा परीक्षा विगतकोभन्दा कठिन भएकाले थोरै परीक्षार्थी उत्तीर्ण भएको बुझिएको छ । हाल परीक्षार्थीहरुले सिआइआइएन इन्टरनेसनल क्वालिफिकेसनले लिने ‘बी वान् लेभल’को परीक्षा उत्तीर्ण गर्नुपर्छ । केही समयअघि सिआइआइएनले लिने परीक्षाको व्यवस्थापनका विषयमा संसद्मा समेत प्रश्न उठेको थियो । यसअघि ब्रिटिस काउन्सिल या क्यामब्रिजले लिने टेस्ट तुलनात्मकरुपमा सजिलो भएको बताइँदै आएको छ । यद्यपि, भाषा परीक्षा कसले लिने भनेर इजरायलको पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी (पिवा)ले तोक्ने गरेको छ ।
इजरायलले विगतमा मागभन्दा धेरै योग्य कामदारको सूची तयार पारेर चिट्ठा प्रणालीबाट छनोट भएका कामदार लग्दै आएको थियो । यसपटक भने आवश्यकताभन्दा न्यून उत्तीर्ण भएकाले बाँकी प्रक्रिया पूरा गर्ने कामदार लग्न सक्ने वैदेशिक रोजगार विभागको इजरायल शाखाका एक अधिकारीले बताए । ‘विगतमा धेरै पास गराएर लट्री गर्दै आएको थियो,’ उनले भने, ‘यो चोटि अरू डकुमेन्टेसनमा पास हुनुभयो भने सायद सबैलाई लिन्छ होला । यद्यपि, कसरी अघि बढ्ने भनेर इजरायलसँग छलफल गर्छौं ।’
अब प्रारम्भिक छनोटमा परेका उम्मेदवारको नामावली इजरायली पक्षलाई पठाउने तयारी विभागको रहेको छ । अन्तिम छनोटपछि मात्रै रोजगार प्रक्रियामा सहभागी गराउने प्रावधान छ । हाल २०८१ मा आवेदन दिएकाहरु इजरायल गइरहेका छन् । त्यसबेला आवेदन दिएकामध्ये दुई हजार ११२ जना गोलाप्रथाबाट छनोट गरिएको थियो । हालसम्म एक हजार ६०० भन्दा बढी इजरायल गइसकेका छन् । नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलले कियरगिभरका रुपमा नेपाली श्रमिक लग्दै आएको छ ।