नेपाली चिया क्षेत्र फेरि एक पटक भारतीय नीतिगत चक्रव्यूहको भुमरीमा परेको छ । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग आजदेखि बन्द हुने भएका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आजदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । एसोसिएसनमा ५३ उद्योग आबद्ध रहेका छन्, जसमा हजारौं किसानले उत्पादन गरेका चिया संकलन तथा प्रशोधन हुने गर्दछ ।
पूर्वी नेपालको आर्थिक मेरुदण्ड र हजारौं किसानको जीविकोपार्जनको मुख्य स्रोत मानिएको चिया क्षेत्रमाथि भारतले हालै लागू गरेको नयाँ मापदण्डले गम्भीर संकट निम्त्याएको छ । नेपाल र भारत दुवैतर्फका भन्सारबाट जाँचपास भई भारतीय आयातकर्ताको गोदाममा पुगिसकेको चियालाई समेत बजारमा जान नदिई प्रयोगशाला परीक्षणका नाममा हप्तौं र महिनाौं रोक्ने भारतीय कदम न्यायसंगत देखिँदैन । यो केवल एक सामान्य प्राविधिक वा गुणस्तर परीक्षणको प्रक्रियामात्र होइन, बरु नेपाली चियालाई भारतीय बजारबाटै विस्थापित गर्ने र नेपालको निर्यातमुखी कृषि उद्योगलाई धराशायी बनाउने नीति हुन सक्छ ।
एसोसिएसनका अनुसार अहिले कोलकाता र सिलिगुढीका गोदामहरूमा नेपालबाट पठाइएको दुई लाख किलोभन्दा बढी तयारी चिया अलपत्र परेको छ । नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया थन्किएको छ । निर्यात भएको चिया बिक्री नभई भुक्तानी नपाइने परिपाटीका कारण उद्योगीहरूको करोडौं रुपैयाँ रोकिँदा उनीहरू टाट पल्टिने अवस्थामा पुगेका छन् । फलतः उद्योगीहरूले बाध्य भएर उद्योग नै बन्द गर्ने घोषणा गरेका छन् । यो उद्योग बन्दको घोषणा केवल कारखानाको तालाचाबी मात्र होइन, यसले पूर्वी पहाडका इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका हजारौं साना चिया किसान, श्रमिक र आश्रित परिवारको रोजीरोटी खोसिने डरलाग्दो संकेत गरेको छ । उद्योगमा मौज्दात थुप्रिँदै जाँदा किसानले हरियो पत्तीको भुक्तानी पाउने छैनन् र अन्ततः यो नगदेबाली बोटमै कुहिने स्थिति आउने छ ।

नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय संस्थाहरूबाट ‘अर्गानिक’ प्रमाणीकरण पाएर तेस्रो मुलुक (युरोप र अमेरिका) सम्म निर्यात भइरहेको छ । उच्च गुणस्तरको अर्थोडक्स चियालाई समेत भारतीय चिया बोर्डले रोकेर दोष देखाउने हर्कत गरेको छ । भौगोलिक बनावट र अनुकूल मौसमका कारण नेपाली चियाको स्वाद र गुणस्तर भारतको दार्जीलिङ चियासँग सीधा प्रतिस्पर्धी रहेको कारण भारतले पछिल्लो नीति लिएको हुनसक्छ ।
नेपाल सरकारको अहिलेसम्म यो विषयमा ध्यान पुगेको देखिँदैन । नेपाली चिया निर्यात ठप्प हुँदा पनि सरकार बेखबरझैं बस्नु विडम्बनापूर्ण मान्नुपर्छ । कूटनीतिक पहलमार्फत समस्या सुल्झाउनुको सट्टा नेपाल सरकार मूकदर्शक बनेर बस्नु सरकारको गैरजिम्मेवारीपन र लाचारीपन हो । अब पनि सरकारले ढिलासुस्ती गर्ने समय छैन । परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयले तत्कालै भारतीय समकक्षीहरूसँग उच्चस्तरीय कूटनीतिक संवाद थाल्नुपर्छ । चियाको व्यापार दुई देशबीचको वाणिज्य सन्धिअन्तर्गत पर्ने भएकाले नेपालले आफ्नो बलियो अडान राख्न सक्नुपर्छ । यसतर्फ सरकारको तत्काल ध्यान जाओस् ।