काठमाडौं- रसियन हाउस, काठमाडौंको प्रस्तुतिमा नेपाल-रसिया आर्ट क्लब र सुषमा आर्ट ग्यालरीको संयुक्त आयोजनामा नेपाली कलाकारहरूको सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको उद्घाटन माननीय सांसद तथा पूर्वमन्त्री पद्मा अर्यालले पानसमा दीप प्रज्ज्वलन गरी गरेकी हुन्।
कार्यक्रममा रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभा, नेपाल-रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारी, नेपाल-रसिया फ्रेन्डसिप तथा कल्चरलका महासचिव स्वराज शाक्य, कलाकारहरू शिवजी यादव, दिवस अमात्यलगायत वरिष्ठ कलाकार, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन प्राज्ञ, गायक तथा संगीतकार माधव प्रधानले गरेका छन्। रसियन हाउसकी निर्देशक खोख्लोभाले उपस्थित अतिथिहरूलाई खादा लगाएर स्वागत गर्नुभएको थियो भने नेपाल-रसिया आर्ट क्लबका सचिव मदन श्रेष्ठले अतिथि तथा कलाकारहरूलाई स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा प्राज्ञ धर्मराज शाक्यले प्रदर्शनीमा राखिएका कलाकृतिहरूका बारेमा समीक्षा गरेका थिए।
रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले नेपाली कलाकारहरूको सामूहिक चित्रकला प्रदर्शनी आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल-रसिया आर्ट क्लबसँग सहकार्य गरी नेपाल र रसियाका कलाकारहरूको संयुक्त सामूहिक चित्रकला प्रदर्शनी आयोजना गर्ने जानकारी दिए।
प्रमुख अतिथि पद्मा अर्यालले नेपाली कलाकारहरूको सामूहिक चित्रकला प्रदर्शनी उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै प्रदर्शनीमा राखिएका चित्रहरू अवलोकन गर्दा आफूले नौलो अनुभव प्राप्त गरेको उल्लेख गरिन् । त्यस्तै, नेपाल-रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारीले प्रदर्शनीमा सहभागी कलाकार तथा उपस्थित सम्पूर्ण महानुभावप्रति धन्यवाद व्यक्त गरिन्। उनले आगामी दिनमा पनि नेपाल-रसिया आर्ट क्लबले निरन्तर कला प्रदर्शनी आयोजना गर्दै जाने बताउँदै महिला कलाकारहरूका कलाकृतिलाई समेत प्रदर्शनीमा समेट्न पाएकोमा खुशी व्यक्त गरे।
कार्यक्रमका अवसरमा नेपाल-रसिया आर्ट क्लबका नयाँ सल्लाहकार तथा पदाधिकारीहरूको समेत घोषणा गरिएको थियो। प्रदर्शनीमा २८ जना कलाकारका कलाकृति राखिएका छन्। प्रदर्शनीमा प्राज्ञ विजय थापा, प्राज्ञ चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, गजेन्द्रमान श्रेष्ठ, प्राज्ञ सुषमा राजभण्डारी, विजयराज शाक्य, राजाबाबु शाक्य, प्राज्ञ धर्मराज शाक्य, प्राज्ञ धनु याक्खा, प्राज्ञ उमेश श्रेष्ठ, पुरुषोत्तम मानन्धर, दीपान्जली प्रधान, रेनुका महर्जन, ज्योती खड्का, सजनी श्रेष्ठ, उमा श्रेष्ठ, सुनेना ठाकुर, सरुनादेवी महर्जन, प्रविण श्रेष्ठ, मदन श्रेष्ठ, राखी कर्न, हेमा दास, जेम्स महर्जन, विनोद गिरी, सुमित्रा थुस, कृपा जोशी र हरिराम चौधरीका चित्रहरू रसियन हाउसको भित्तामा सजिएका छन्।
प्रदर्शनी आगामी असोज ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।