नेपालको गौरवको रुपमा उभिएको विश्वको सर्वोच्च शिखर सगरमाथा दिनानु दिन संकटमा पर्दै गएको छ । विश्वकै अनुपम प्राकृतिक सम्पदा, मानवीय साहस, चुनौती र अद्वितीय सौन्दर्यको साझा प्रतीकका रुपमा लिइने सगरमाथा पछिल्ला वर्षहरूमा विश्वव्यापी जलवायु परिवर्तन र मानवीय लापरवाहीको दोहोरो चपेटामा परेको छ । यही कारण सगरमाथाले आफ्नो रैथाने स्वरूप गुमाउँदै गएको छ । हिमनदीहरू तीव्र गतिमा पग्लिनु र हिउँको तह घट्दै जानु सम्पूर्ण मानव जगत् र विशेषगरी नेपालका लागि गम्भीर खतराको घण्टी हो ।
आरोहीहरुका अनुसार विगतमा आधार शिविरबाट पाँच मिनेटमात्र हिँड्दा भेटिने हिउँका ढिक्काहरू हेर्न अहिले डेढ घण्टाभन्दा बढी हिँड्नुपर्छ । सगरमाथा विस्तारै नांगा चट्टान र काला पत्थरहरूमा परिणत हुँदै छ । यसरी हिउँ पग्लिएर बरफको संरचना अस्थिर बन्दा विशेषगरी खुम्बु आइसफल क्षेत्रमा चिरा र दरारहरू थपिँदै गएका र त्यसले आरोहणलाई झन् बढी कठिन र जोखिमपूर्ण बनाएको आरोहीहरुको भनाइ छ । मौसममा आउने अचानक उतारचढावले पर्वतारोहीहरूको सुरक्षामा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ । यदि यही गतिमा हिउँ पग्लिने क्रम जारी रहने हो भने हाम्रा आगामी पुस्ताले हिउँविनाको फुस्रो सगरमाथामात्र देख्नुपर्ने दुर्भाग्यपूर्ण दिन नआउला भन्न सकिन्न ।
सगरमाथाको अर्को डरलाग्दो चित्र फोहोर व्यवस्थापनको संकट हो । क्याम्प २ सम्म केही हदसम्म सरसफाइ देखिए पनि क्याम्प ३ र ‘डेथ जोन’ मानिने क्याम्प ४ को अवस्था चिन्ताजनक रहेको आरोहीहरु बताउँछन् । दशकौं पुराना पाल, अक्सिजन सिलिण्डर र प्लास्टिकका फोहोरहरू हिमालको गर्भमा थुप्रिँदै जाँदा सगरमाथाको गरिमा धमिलिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) जस्ता संस्थाहरूले प्रयास गरे पनि माथिल्लो क्षेत्रको सफाइ अझै ठूलो चुनौती बनिरहेको छ ।

हिमाली क्षेत्रको यो संकट दृश्य परिवर्तनमामात्र सीमित छैन, यसले मुलुकको पर्यटन उद्योग र समग्र अर्थतन्त्रमा धक्का पु¥याउँदछ । किनभने सगरमाथा र अन्य हिमालहरुकै कारण नेपालको पर्यटन उद्योग मुलुकको अर्थतन्त्रका मुख्य खम्बा बन्न सक्ने स्थितिमा छ । सगरमाथा र अन्य हिमालको रोयल्टीबापत अहिले वार्षिक अर्बौं रुपैयाँ आम्दानी गरिरहेको छ । यसलाई अझ बढाउनसक्ने प्रशस्त सम्भावना रहेको विभिन्न अध्ययनले देखाइसकेको छ । हिमालमा हिउँ नै नरहने र आरोहण असुरक्षित बन्ने हो भने विदेशी पर्यटकको आगमन घट्ने निश्चित छ । यसले पर्यटन क्षेत्रबाट हुने आम्दानीमा ठूलो गिरावट आउने छ । पर्यटन क्षेत्रमा आश्रित स्थानीय समुदाय र हजारौं व्यवसायी तथा मजदुरको रोजीरोटी गुम्ने छ । र, मुलुककै अर्थतन्त्रको मेरुदण्ड भाँचिने छ ।
यति हुँदाहुँदै पनि संकट समाधानका लागि राज्यको उदासीनता देखिनु विडम्बनाको विषय हो । संकट समाधानका लागि नीतिगत कमजोरी खड्किएका छन् । पर्वतारोहण कम्पनीहरूबीच सस्तो मूल्यमा आरोहण गराउने अस्वस्थ प्रतिस्पर्धा चल्दा सेवाको गुणस्तर र सुरक्षामा ह्रास आएको छ । कम अनुभवी जनशक्ति परिचालन हुनु र विश्वमै नेपालको नाम चम्काउने दक्ष शेर्पाहरू उचित राज्यसुविधा र सम्मानको अभावमा विदेश पलायन हुनु अर्को दुःखद पाटो हो । यसतर्फ सरकार र सरोकारवाला निकायहरूको ध्यान तत्काल जान जरुरी छ । सगरमाथाको अस्तित्व रक्षा गर्नु केवल पर्वतारोहीको मात्र होइन, सिंगो राष्ट्र र विश्व समुदायकै साझा दायित्व हो । समयमै ठोस कदम नचाले भोलि पछुताउनुको विकल्प रहने छैन ।