काठमाडौ- खनियाबास विद्रोहका नायक दामन पाख्रिन पुस्तकको विमोचन नेपाली काँग्रेसका सभापति गगन थापाले गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ पुस्तक विमोचन गर्दै राजनीति दलले गर्नुपर्ने काम पुस्तकका लेखक गोपाल फ्युवा तामाङले गरेको उनले बताएका छन्।
नेपाली काँग्रेसका अग्रज दामन पाख्रिनले खनियाबास विद्रोहमा गरेकाे याेगदानकाे बारेमा चर्चा गर्दै इतिहासमा उनकाे जीवनीका बारेमा राजनीतिक दलले गर्नुपर्ने काममा पुस्तक लेखक फ्युवा तामाङलई आभार व्यक्त गरे ।
नेपाली काँग्रेसका सभापति थापाले पूरानो कुरालाई खराब र थोत्रोका रूपमा चित्रण गर्ने नयाँ भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन्। विमोचनमा बोल्दै उनले पूरानो भनेकै नराम्रो र नयाँ भनेकै राम्रो भन्ने सोच सतही रूपमा सरल देखिए पनि दीर्घकालीन रूपमा खतरनाक हुन सक्ने बताए। उनका अनुसार यस्तो धारणा व्यापक रूपमा फैलिँदा समाजले पूरानो अनुभव र ज्ञान गुमाउने जोखिम रहन्छ, जसले परम्परा र इतिहासमा असर पार्न सक्छ।
थापाले अहिले बाहिरबाट हेर्दा नेपाली कांग्रेसको धेरै समय आन्तरिक विवाद समाधानमै बितिरहेको जस्तो देखिए पनि पार्टीको मुख्य प्राथमिकता राष्ट्रप्रतिको जिम्मेवारी हुनुपर्ने बताए। उनले सरकारजस्तै प्रतिपक्षको पनि उत्तिकै जिम्मेवारी हुने उल्लेख गर्दै प्रतिपक्ष कमजोर भए लोकतन्त्र नै जोखिममा पर्न सक्ने चेतावनी पनि दिएका छन् । साथै उनले आगामी केही समयमै कांग्रेसकाे भेला गरी नेपाली कांग्रेसलाई थप सशक्त बनाउने जानकारी दिए ।