पौराणिककालमा देवताका कुरा दैत्यलाई र दैत्यका कुरा देवतासम्म पु¥याउने नारदमुनिले धेरै नै मिहेनत गर्दथे । उनले आफ्ना लागि भन्दा पनि दुवैका लागि एक एर्काको सन्देश पु¥याउँथे । कहिले भएका कुरा भन्थे होला कहिले नभएका कुरा भनेर झगडा पनि पारिदिन्थे होला !
त्यही नारदजीको विकसित रुप २१औं शताब्दीमा पत्रकार बनेका छन् । पत्रकारका अनेक रुप छन् । गरिखाने पत्रकार, धम्क्याएर खाने पत्रकार, सरकारी आदेश मान्ने पत्रकार, सरकारलाई झकझक्याउने पत्रकार, पार्टीको हरिलठ्ठक पत्रकार, भोले पत्रकार अनि गोजे पत्रकार ! हुबहु पत्रकार, विज्ञप्ति पत्रकार, सिण्डिकेट पत्रकार, खोज पत्रकार, सत्य निष्ठावान् पत्रकार यस्तै यस्तै... ।
उसबेला पनि नारदजी न त भगवान्का थिए । न दैत्यका थिए ! उनी यताको कुरा उता र उताको कुरा यता पु¥याउने साधकमात्र थिए । न लोभी थिए न पापी थिए । जोसुकै रिसाओस् कुराचाहिँ पु¥याउथे । अहिलेको जस्तो प्रविधि थिएन अनि अरुका इसारामा असत्यलाई पनि सत्य बनाउने झुण्ड पनि थिएन । गोबरलाई गोबर नै हो भन्थे । तर अहिले गोबर र उ छुट्याउन सक्दैनन् ।
त्यही भएर पनि उसबेलाको नारद र यसबेलाको पत्रकार एकै हुन् । व्यवहारमात्र फरक गरेका हुन् । ३६ सालतिर लुकेर पत्रकारिता गर्नेहरुले साँच्चै नै विचार र वादलाई नारदजीले जस्तै घरघरमा पु¥याए । प्रजातन्त्र प्राप्तिपछि फस्टाएको सञ्चार यसरी अगाडि बढ्यो कि हरेक नागरिकका सुख दुःखका कुरा, बेथिति, भ्रष्टाचार छर्लंग पारिदिन्थे । पत्रकारितालाई मलजल गर्न निरंकुश भए पनि पञ्चायत शासनकालमा प्रकाशकहरुलाई राहतस्वरुप लोककल्याणकारी सूचनामार्फत बचाउने काम भए । त्यसपछि क्रमशः नारदजी भर्सेस पत्रकार भनेजस्तै पत्रकारितामा सकुनीहरुको हाबी भयो ।
त्यही सकुनीहरुको हाबी भए पनि सत्यतथ्य कुराहरु, भुइँमान्छेका कुरा आउन छाड्यो । पत्रिका फलानो पार्टीको र ढिस्कानो पार्टीको बन्यो । त्यही भएर नि होला । पत्रिकामा सम्पादकभन्दा साहु हाबी भयो । सत्यतथ्य कुरा ल्याउनेभन्दा पनि लेख्नुपर्ने कुरालाई लुकाएर लेख्नै नपर्ने तथ्यहरुलाई बनावटी बनाउन थालियो । कसैले समाचारलाई विज्ञापन बनाए । कसैले समाचारलाई कम्पनीको आधा हिस्सेदारमा परिणत पनि गरिदिए । लोककल्याणकारीमा पनि आँखा लाग्यो ।
बिरामीलाई औषधि खुवाउनुपर्नेमा बिरामी नभएकालाई पनि औषधि खुवाउन थालियो । सत्ताको अघिपछि हिँड्नेको त कुरै छाडौं । रावणभन्दा पनि बढी शक्तिशाली बन्न थाल्यो । मैले लेखिदिएपछि साइजमा ल्याउँछु भन्नेकै दिन बल्यो । आफूलाई ठूलो भन्ने अनि सानाको घाँटी निमोठ्नेहरुकै दिन बल्यो । झलल्ल भयो । सरकारको मुखपत्रमाथि अन्धकारको बादल मडारिन थाल्यो । सत्तामा पुग्नेहरुले पनि त्यही बल्नेहरुकै आगो तापे ।
समय सधैं कहाँ बलवान् हुन्छ र ? आपूmलाई एकछत्र गराउने दिन खुम्चन थाल्यो । साना–साना घाँटी भएकाहरु पनि फुत्तफुत्त निस्कन थाले । आ–आफ्नै बाटो समाउन थाले । साना घाँटीका रमाएको एकछत्र राज गरेकोलाई कहाँ मन पर्दथ्यो र ? गरिखाएको त देखी नै सहन्नन् नि ?
अझ प्रविधिको प्रयोग यसरी बढ्यो कि पत्रकार को हो ? पत्रकाारिता के हो ? सब त्यसका बाजे हुन थाल्यो । न त दैत्य भेटिए न त भगवान् नै ! नारद नै नारदको भीड लाग्न थाल्यो । नारद पनि प्राकृतिक भए त हुन्थ्यो नि ? अप्राकृतिक बन्न थाले । न प्रक्रिया, न तालिका, दुवैले काम गर्न छाडे ।
पाएसम्म अलकत्रामा पनि चिनी हालेर खान थाले । उता दुश्मन, एता कमिसनको चक्र घुमी नै रह्यो । न टिप्नेले पायो न रोप्नेले खायो । बिचौलियामात्र रमायो । त्यही भएर होला अहिले ती साना घाँटी भएकालाई सिध्याउँछ भनेर शेर गर्जिरहँदा न आफू रह्यो न अरुलाई रहने अवस्थाको सिर्जना नै ग¥यो । राज्यले बचाउनुपर्नेलाई पनि बचाउन चाहेन । त्यही बाँच्नै गाह्रो हुने भएपछि कोलाहल सुरु भयो
सरकार छ ! कसका लागि छ ? न्यायका लागि छ ? किन बेथिति अन्त्य गर्नका लागि छ ? सरकारले कसले बनायो ? नागरिकको पीडा कसले ल्यायो ? त्यसो भए सरकार त्यही वस्तुलाई निक भीरबाट खसाउन खोजिरहेको छ ? किन घाँटी निमोठ्ने काम गर्दै छ ? रोग लागेको छ भने उपचार गर्ने होला नि होइन र ? दुईतिहाइको सरकार छ । अनि साना घाँटी भएका सञ्चारगृहलाई संरक्षण गर्नुपर्ने सरकारले तरबार देखाइरहेको छ । नारद बिग्रे कि नारदरुपी पत्रकार बिग्रे ? सरकारी सेता कपडा लगाउने बिग्रिएका काला अक्षर छपाउने र छाप्न बिग्रे ?
जो बिग्रे तिनैलाई पाखा लगाउने हो ? नीति नियम बनाउने हो र ठोक्ने हो ? ठोक्ने नाममा हात्तीदेखि बिरालोसम्मलाई एकैपटक ठोक्न थाल्यो भने के होला ? सरकार बलियो छ । यो बलियो सरकारले निर्धोलाई घाँटीमा पासो लगाउने काम किन गर्दै छ ? आजको अवस्था र व्यवस्था ल्याउनका लागि तिनै सानाले नारदरुपी कर्म गरेकै कारण भएको हो ।
सत्ताको रजगज गर्न सक्ने बनाएकै तिनले हो । निजी र सरकारीमा फाटो ल्याउने को हो ? सरकार अनिवार्य हो । सरकारले अह्राएको बाध्यता हो ? बाध्यतामा जे पनि हुन सक्छ ? सत्तामा नपुगुञ्जेल निजी चाहिनेलाई सत्तामा पुगेपछि सरकारी नै चाहिनेचाहिँ किन हो ? व्यापारलाई व्यापार बनाऊ ? सेवालाई सेवा बनाऊ मेवा नबनाऊ ?
सेवा मेवा बन्न थाल्यो भने अनि सरकारी तरकारी बन्न थाल्यो भने त्यसले संकट निम्त्याउँछ । संकटको हुरीले जसलाई पनि उडाउँछ । भो छाड नारदमुनिको घाँटीमा पासो लगाउन ! केटाकेटी आए गुलेली खेलाए मट्याङग्राको सत्यानाश !