सुन्ताखान माथि तारेभिर गाउँ । गाउँमा दुई जना व्यक्ति निकै चर्चित थिए । एक मट्यांग्रो र अर्को बैरी । उनीहरू नेताभन्दा कम बोल्दैनथे र रेडियोभन्दा बढी समाचार सुनाउँथे । गाउँलेहरू भन्थे, ‘यी दुईलाई एकै ठाउँ राख्यो भने संसद् बैठक बस्छ ।’ मट्यांग्रो दुब्लो-पातलो, लामा कान भएको, पुरानो टोपी लगाउने किसान थियो । बैरी भने अलिक मोटो, पेट अगाडि र विचार झन् अगाडि हुने खालको । बैरीले कहिल्यै पत्रिका किन्दैनथ्यो । अनलाइन पनि हेर्दैनथ्यो तर गाउँका सबै खबर थाहा हुन्थ्यो । कसैले सोध्यो भने भन्थ्यो, ‘हावा चल्यो भने समाचार आफैं कानमा ठोक्किन्छ ।
त्यो दिन बिहान गाउँको चौतारोको छेउमा रहेको चिया पसलमा मट्यांग्रो र बैरी भेटिए । पसले धनबहादुरले रेडियो ठूलो स्वरमा बजाइरहेको थियो । ‘सरकारले आगामी जेठ १५ गते नयाँ बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।’ यति सुन्नासाथ बैरीले चियाको गिलास टेबलमा राख्यो । ‘ए मट्यांग्रो ! यो बालेन सरकारले गरिब किसानका लागि कस्तो बजेट ल्याउला ?’ मट्यांग्रोले गम्भीर अनुहार बनायो, ‘मलाई त आशा छ ।’ बैरी छक्क पर्दै भन्यो, ‘किन ?’ ‘किनभने धेरै दिनदेखि कोठाभित्र मौन बसेका छन् रे ।’ बैरी झन् अचम्ममा पर्यो ।
‘मौन बस्दा बजेट राम्रो हुन्छ र ?’ मट्यांग्रोले आँखा चिम्लियो । ‘हेर बैरी, मौन बस्ने मानिस दुई किसिमका हुन्छन् । एकथरी रिसाएका, अर्कोथरी काम गरिरहेका । मलाई लाग्छ यिनीहरू काम गरिरहेका होलान् ।’ बैरीले टाउको कन्यायो ।‘अरूले त हल्ला गर्थे । पार्टीनिकट पत्रकार संगठनहरुलाई बोलाएर अनेकौं लेख्न लगाउँथे,’ मट्यांग्रोले मुसुक्क हाँस्यो । ‘यिनले चुपचाप जनताको मन जित्ने बजेट तयार गरे होलान् ।’
त्यत्तिकैमा चिया पसलतिर गाउँका विद्यालय शिक्षक टीकाराम आए । ‘के कुरा चल्दै छ ?’ बैरीले भन्यो, ‘देश बचाउने योजना ।’ टीकाराम हाँसे । ‘तिमीहरूले देश बचाउने भए अब प्रधानमन्त्री बेरोजगार हुने भए ।’ मट्यांग्रोले भन्यो, ‘हामी बजेटको कुरा गर्दै छौं ।’ टीकाराम पनि बसे । ‘ल भन्नु त किसानका लागि के बजेट आउला ?’ बैरीले तुरुन्त भन्यो, ‘मलाई त मलको लाइन हटाउने बजेट चाहियो ।’ मट्यांग्रोले थप्यो, ‘मलाई सिँचाइ चाहियो ।’ टीकारामले भने, ‘मलाई शिक्षा ।’ त्यसैबेला आइपुगिन् आमा समूहकी अध्यक्ष टंककला । उनले भनिन्, ‘ए... के हो ? बिहानै संसद् चल्यो ?’ बैरीले हाँस्दै भन्यो, ‘देशको बजेट तयार गर्दै छौं ।’ टंककलाले भनिन्, ‘त्यसो भए महिलाका कुरा पनि राख्नुपर्छ ।’ बैरीले सोध्यो, ‘के चाहियो त ?’ ‘स्वास्थ्य सेवा । गाउँमा बिरामी भयो भने अस्पताल पुग्दा आधा रोग बाटोमै बढ्छ,’ टंककलाले भनिन् ।

मट्यांग्रोले सहमति जनायो । ‘ठीकै हो ।’ बैरी अचानक निकै गम्भीर बन्यो । ‘तर अर्थमन्त्रीले त पढ्ने काम गर्छन् ।’ सबैले हेरे । ‘कस्तो पढ्ने ?’ ‘बजेट पढ्ने,’ मट्यांग्रो हाँस्न थाल्यो । ‘त्यो त संसद्मा पढ्ने काममात्र हो,’ बैरी झन् तर्क गर्न थाल्यो, ‘अनि भत्ता लिने हो । देश बनाउने त प्रधानमन्त्रीले हो जस-अपजस लिनुपर्ने प्रधानमन्त्री भएपछि, अर्थमन्त्रीको काम भनेकै प्रधानमन्त्रीको निर्देशनमा बनाएको बजेट पढ्ने, भत्ता लिने !’ चिया पसले धनबहादुर पनि सुन्दै थियो । उसले भन्यो, ‘तिम्रो हिसाबले त भैँसी दुहाउने मान्छे मालिक होइन, दूध बेच्ने मालिक पो भएछ ।’ सबै हाँस्न थाले । बैरीले अझै उत्साहित भएर भन्यो, ‘म जे भन्छु ठीकै भन्छु । प्रधानमन्त्रीले चुपचाप जनताका लागि बजेट बनाउन लागेका होलान् ।’
मट्यांग्रोले टाउको हल्लायो । ‘हो, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बजेट आउनुपर्छ ।’ टीकाराम शिक्षकको जोश बढ्यो, ‘विद्यालयमा कम्प्युटर आउनुपर्छ । बच्चाले किताबमात्र होइन, सीप पनि सिक्नुपर्छ ।’ बुक फ्रि फाइडेलाई सबैतिर लैजानुपर्छ । अनि उनी पालिकामा भएका बेला स्कुल-स्कुलमा डिजिटल बोर्ड बाँडेजस्तै देशैभरि बाँड्नुपर्छ । टंककलाले थपिन्, ‘अस्पतालमा औषधि हुनुपर्छ ।’ मट्यांग्रोले भन्यो, ‘किसानलाई मल, बीउ, बजार त अनिवार्य नै हुनु पर्छ नि ।’
बैरीलाई के भयो कुन्नि निराशजस्तै देखियो । उनले भन्यो, ‘उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउनुपर्छ । गाउँको अन्नबाली सहर पुर्याउनुपर्छ । उ बेला पारिको तरकारी नखाऊ पहाडको तरकारी खाउँ भनेर भाषण गरेका हैनन् ?’ त्यसै बेला गाउँका बेरोजगार सन्तोष कार्की आइपुग्छ । र, सोध्छ, ‘के कुरा हुँदै छ ?’ मट्यांग्रोले भन्यो, ‘हामी त अब जेन-जी देश बनाउने तयारी गर्दै छौं ।’ सन्तोषले हाँस्दै भन्यो, ‘पहिला मलाई जागिरे बनाइदेऊ अनि देश बनाउला ।’ बैरीले सोध्यो, ‘तँ के गर्न सक्छस् ?’
‘जे भन्यो त्यही ।’ ‘खेती गर्छस् ?’ ‘त्यो त गर्दिनँ, घाम लाग्छ ।’ ‘चुरोट कारखाना खोल्ने रे काम गर्छस् ?’ ‘अहँ त्या पनि धूलो लाग्छ ।’ ‘गाउँपालिकाले सीप मेलाबाट उद्यम गर्न सिकाउँदै छ त ? उद्योग खोल्ने त ?’ ‘अहँ त्यो त झन् गर्दै गर्दिनँ नोक्सानी हुन्छ ।’ मट्यांग्रोले भन्यो, ‘अनि के गर्न सक्छस् ?’ सन्तोषले गर्वका साथ भन्यो, ‘मोबाइल चलाउन सक्छु । टिकटक इन्स्टाग्राम, रिल सबै बनाउन सक्छु ।’ बैरीले भन्यो, ‘तँ जस्तै देशका आधा बेरोजगार यही योग्यता लिएर बसिरहेका छन् ।’ सबै फेरि हाँसे । टीकारामले गम्भीर हुँदै भने, ‘साँचो कुरा के हो भने मुलुक बनाउन रोजगार सिर्जना हुनुपर्छ ।’
टंककलाले भनिन्, ‘हो नि, अब कोही पनि विदेश जानु नपर्ने अवस्था बनाउनुपर्छ ।’मट्यांग्रोले आकाशतिर हेर्दै भन्यो, ‘हाम्रो गाउँका धेरै युवा विदेश गए । खेत बाँझो भयो ।’,केही बेर सबै चुप लागे । त्यही बेला बैरी फेरि बोल्यो, ‘तर एउटा कुरा मलाई डर लाग्छ । बजेट भाषण धेरै लामो भयो भने ?’,सबैले सोधे, ‘किन ?’ बैरीले लामो सास फेर्दै भन्यो, ‘पोहोर साल मोबाइलमा बजेट हेर्दाहेर्दै निदाएछु ।’
मट्यांग्रोले भन्यो, ‘हामीलाई भाषण लामो भए मतलब छैन । जनताको हितमा आए पुग्यो ।’ बैरीले बोल्यो, ‘सही कुरा ।’ टीकारामले थपे, ‘कागजमामात्र होइन व्यवहारमा पनि देखिनुपर्छ ।’ टंककलाले भनिन्, ‘गाउँको गरिबको भान्सासम्म पुग्नुपर्छ ।’ सन्तोषले भन्यो, ‘मैले जागिर पाउनुपर्छ ।’ सबै फेरि हाँसे । मट्यांग्रोले अन्तिम कुरा भन्दै फेरि बोल्यो, ‘हेर बैरी, सरकार जो आए पनि जनताको अपेक्षा एउटै हुन्छ । किसानले आफ्नो पसिनाको मूल्य पाओस्, बिरामीले उपचार पाओस्, बच्चाले राम्रो शिक्षा पाओस्, युवाले काम पाओस् ।’
बैरीले टाउको हल्लायो । ‘अनि बजेट कागजमा होइन, खेतमा उम्रियोस् ।’ टंककलाले थपिन्, ‘अस्पतालमा औषधि पाइयोस् ।’टीकारामले भने, ‘विद्यालय उज्यालो बनोस् ।’ सन्तोषले भन्यो, ‘अनि मेरो खातामा तलब आओस् ।’ सबै यति जोडले हाँसे कि चौताराको रुखमा बसेको काग पनि तर्सिएर उड्यो । बैरीले आकाशतिर हेरेर भन्यो, ‘हे भगवान् ! यस्तो बजेट ल्याउने शक्ति देऊ, किसानले मल खोज्दै लाइन नबसोस्, विद्यार्थीले किताब खोज्दै नरोओस्, बिरामीले अस्पतालमा उपचार गर्दा गर्दै घरबारविहीन भएर पैसा खोज्दै नदौडियोस्, र मेरो साथी मट्यांग्रोले ऋण खोज्दै गाउँ नघुमोस् ।’ चौतारोमा भएका सबै गलल्ल हाँसे !