माफिया र बिचौलियाहरुको खोजी र तिनका वित्तीय अपराधमाथि अंकुश नलगाई सेयरबजारको दिगो भविष्य हुँदैन । त्यसकारण साना तथा व्यावसायिक लगानीकर्ताहरुले आत्तिएर सेयर बेच्न जरुरी छैन । बरु सेयर किन्ने बेला छ अहिले । किनकि सरकारले राम्रो संकेत देखाएको छ । १०० कार्यसूचीमा अर्थतन्त्र सुधारका धेरै कुरा आएका छन् । निजी व्यावसायिक संस्थाहरु लगानीका लागि हौसिएका छन् । त्यसकारण लगानीकर्ताहरु आत्तिने हैन, बरु आशावादी हुने समय छ ।
निर्वाचान हुने सुनिश्चित भएर काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि सेयरबजार एक्कासि ४७.५५ अंकले बढेको थियो । त्यसअघि त्यही पुस महिना र अघिल्ला महिनाहरुमा पनि सेयरबजार करिब निदाएको थियो । लगानीकर्ता निराश थिए । रास्वपामा बालेन्द्रको मिलनपछि उत्साहित बजार चुनाव नजिकिँदै गर्दा बढ्दै गइरहेको थियो ।
फागुन २१ गतेको निर्वाचनमा नयाँ भनिएको र ‘जान्नेलाई छान्ने’ नारासहित घण्टी चिह्न लिएर निर्वाचनमा होमिएको दल रास्वपाले करिब दुईतिहाइ (१८२ सिट) बहुमत ल्यायो । निर्वाचनपछि खुलेको बजारले त झन् भावी प्रधानमन्त्री बालेन्द्र शाहलाई अघि सारेको रास्वपाको जितलाई एकैदिन तीन हल्ट हानेर स्वागत ग¥यो । बजार एकै दिन छ प्रतिशत अर्थात् १६२ अंकले बढ्यो । त्यसपछि थोरै ‘करेक्सन’ हुँदै बढ्ने क्रममै रहेको सेयरबजार बालेन्द्र नेतृत्वको सरकार बनेपछि भने निरन्तर घटिरहेको छ । चैत १३ गते नयाँ सरकार बनेपछिको चार कारोबार दिनमा भने बजार १७४ अंकले घट्दा लगानीकर्ता निराश छन् । यद्यपि, बिहीबार ५.८२ अंकले नेप्सेमा सुधार आएको छ ।

दुईतिहाइ बहुमत प्राप्त सरकार बनेपछि बजार घट्नु दुईवटा कारण महŒवपूर्ण देखिन्छन् । पहिलो कारण सरकार गठन भएकै दिन मन्त्रिपरिषद्बाट पास भएको सरकारको १०० कार्यसूची हो । जहाँ ०४७ सालयताका उच्चपदस्थ कर्मचारी, सांसद, मन्त्री तथा प्रधानमन्त्रीको सम्पत्ति आयोग बनाएर छानबिन गरिने कुरा आएको छ । सम्पत्ति शुद्धीकरणको कुरा व्यापक कार्यान्वयनमा लैजाने कुरा आएको छ । त्यसलगत्तै जुनै सरकार आए पनि त्यसलाई प्रभावमा राखेर बिचौलिया धन्दा चलाएर अकुत आर्जन गर्दै आएको आरोपमा दीपक भट्ट र अग्रवाल थरका उनका साझेदारका वित्तीय अपराधको अनुसन्धान सुरु भएका छन् । त्यसैगरी व्यवसायी तथा पूर्वमन्त्री दीपक खड्का पनि सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि यही बीचमा पक्राउ परे ।
तीसँगै धेरै सेयरबजारसँग जोडिएका कतिपय अन्य व्यापारीहरु पनि तानिने व्यापक हल्ला भए । खासगरी दीपक भट्ट र तिनका साझेदारहरुका रकम सेयरबजारका कतिपय कम्पनीहरुमा भएको पाइएकाले पनि बजार तीव्र घटेको हो । नेपालजस्तो वित्तीय अपराध, अनियमितता र भ्रष्टाचारको दुश्चक्रमा परेको देशमा दीपक भट्टहरु अरु धेरै होलान् । त्यस्ता अपराधको माध्यमबाट आर्जित धन सेतो बनाउने थलो सेयरबजार पनि बन्ने गरेको अनुमान धेरैका छन् । त्यस्तो परिस्थितिबाट गुज्रँदै आएको बिचौलियाहरुले नै चलाएको देशमा सरकारले पहिलो दिनदेखि नै त्यस्ताहरु खोज्न थालेपछि बजार घट्ने नै भयो । त्यसकारण यो बजार त्यस्तै बिचौलियाहरुले आत्तिएर सेयर घटाएर भए पनि बेच्न थालेपछि घटेको हो । तर बजारका असल एवं व्यावसायिक लगानीकर्ताहरु आत्तिनुपर्ने छैन ।
बालेन्द्र सरकारले वास्तवमा वित्तीय अपराधमा संग्लनहरुलाई सुरुदेखि नै कारबाही गर्न थालेको हो । त्यो अत्यन्त सराहनीय काम हो । अझ सकिन्छ भने हरेक नेपालीको आम्दानीको अडिट हुनुपर्छ र देशलाई सङ्लो पानीझैँ वित्तीयरुपमा सफा बनाउन जरुरी छ । त्यसकारण अहिलेको घटाइ वित्तीय बजारको फोहोर सफा गर्न खोज्दाको परिणाम हो । सेयरबजारमा सबै त्यस्ता छैनन । ती भनेका सीमित छन् । ६३ लाख मानिस बजारसँग जोडिएका छन् । धेरैले आफ्नो खाइ नखाइ गरेर जोगाएका पैसा सेयरमा हालेर आर्थिक स्तर बढाउन खोजेका छन् । सानो–सानो जागिरदेखि मकै पोलेर, चिया बेचेर आर्जन गर्नेहरु पनि सेयरबजारमा छन् ।
फोहोर सफा गर्नैपर्ने थियो । देशलाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट हटाउन पनि वित्तीय अपराधमाथि कारबाही जरुरी थियो । त्यो सुरु भएको छ । धेरै व्यवसायीहरु पनि सम्पत्ति शुद्धीकरणको छानबिनको दायरामा आउने डरले पनि बजार घटेको हो । बालेन्द्र सरकारले त्यसको थालनी ‘डे वान’देखि गरेको छ । हामीले के बुझ्नुपर्छ भने हाम्रो घर जति नै नयाँ, भव्य वा आर्कषक भए पनि फोहोर एवं दुर्गन्धित भयो भने त्यहाँ बस्न सकिँदैन । तर घर परम्परागत भए पनि वा पुराना भए पनि सफा एवं चिटिक्क भयो भने बस्नलायक हुन्छ र बस्न सकिन्छ पनि ।
त्यसकारण आर्थिक अपराध, अपचलन, ठगी, बेइमानी र भ्रष्टाचारको सफाइ जरुरी छ । त्यसमाथि कारबाही भएन भने त्यसले सेयरबजारमात्र होइन समाजलाई नै निकम्मा बनाइदिन्छ । त्यसकारण ती कदम ढिलोचाँडो उठाउनु नै थियो । बालेन्द्र सरकारले शपथ खाएको पहिलो दिनबाटै सुरु गरेको छ । त्यो अत्यन्त राम्रो हो । तर यस्ता कदमहरु भेदभावरहित ढंगले र पूर्णता पाउनेगरी सतत् अघि बढाउनुपर्छ । र, त्यसलाई निष्कर्षमै पु¥याउनुपर्छ । कतै अपलपत्र पार्नु हुँदैन ।
माफिया र बिचौलियाहरुको खोजी र तिनका वित्तीय अपराधमाथि अंकुश नलगाई सेयरबजारको दिगो भविष्य हुँदैन । त्यसकारण साना तथा व्यावसायिक लगानीकर्ताहरुले आत्तिएर सेयर बेच्न जरुरी छैन । बरु सेयर किन्ने बेला छ अहिले । किनकि सरकारले राम्रो संकेत देखाएको छ । १०० कार्यसूचीमा अर्थतन्त्र सुधारका धेरै कुरा आएका छन् । निजी व्यावसायिक संस्थाहरु लगानीका लागि हौसिएका छन् । विदेशमा रहेकाहरु पनि अलिकति राम्रो भए सम्पत्ति यतै ल्याएर केही गर्नेगरी सरकारको कार्यसम्पादन हेरिरहेका छन् । सरकारले अनावश्यक संघसस्था तथा खर्च कटौती गरेर डुबेका संस्थानहरु चलाउने, विकास निर्माणमा स्रोत जुटाउने जुक्तिहरु निकालिरहेको देखिन्छ । खासगरी ती काममा अन्तर्राष्ट्रियरुपमा ख्याती कमाएका अर्थविद् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लागिरहेका देखिन्छन् । त्यसकारण लगानीकर्ताहरु आत्तिने हैन, बरु आशावादी हुने समय छ ।
अर्को, बजार अहिले घट्नुको दोस्रो कारण रास्वपाले वाचापत्रमै करार गरेका गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्नुले हो । नयाँ सरकारले जेन–जी आन्दोलनको जगमा भएको निर्वाचनबाट अनुमोदित भएपछि त्यो प्रतिवेदन कार्यान्वयनमा लैजानु नौलो कुरा होइन । सो निर्णयपछि नयाँ गृहमन्त्री तथा जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ रकेट गतिमा प्रतिवेदन कार्यान्वयन गर्न लागे । आन्दोलनमा लापारवाही गरेर हिंसा भएको भन्दै ज्यान मुद्दामा अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र उनको क्याबिनेटका गृहमन्त्री रमेश लेखकलाई सरकारले गिरफ्तार ग¥यो । ओलीको गिरफ्तारीसँगै एमालेले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक ग¥यो । त्यसले पनि बजारमा अन्योल र त्रासदी बढ्यो, जुन बजार घट्ने कारण बन्यो । तर एमाले–कांगे्रसजस्ता जिम्मेवार पार्टीले कानुनलाई सघाएर आन्दोलनका गतिविधिहरु रोक्नुपर्छ र विषय त्यतै गएको पनि छ ।
उल्लिखित दुवै घट्नाक्रमका कारणले सेयरबजारमा पहिरो गएको हो । तर त्यो दिगो हुँदैन । केही दिन, हप्ता वा महिनामा विगतका धेरै फोहोरहरु सरकारले सफा गर्ने छ । त्यसपछि सेयरबजारले रकेट गति लिनेमा दुईमत छैन । किनकि, एकातिर दुईतिहाइ बहुमतसिद्ध रास्वपाको नयाँ सरकार बनेको छ । १५ मन्त्रालयमा ४० वर्षमुनिकै नौ मन्त्री सहभागी बालेन्द्र नेतृत्वको सरकारमा पढेलेखेका जोशिला युवाहरुको बाहुल्यता छ । त्यसकारण पनि सेयरबजारलाई एक किसिमको आशा छ । नयाँ भनिएका र धेरैजसो पढेलेखेका युवाहरु आइरहँदा बजारले आश गरेको छ । आर्थिकरुपमा देशले परिवर्तन पाउने जनतामा आशा छ ।