अबको आवश्यकता हाम्रो शिक्षा पद्धति गरिखाने शिक्षा, सीपयुक्त र व्यावहारिक ज्ञानसहितको शिक्षाको हो । समयको मागअनुसार शिक्षण संस्था रुपान्तरित भई व्यावसायिक र सीपमूलक प्राविधिक शिक्षाप्रदायक हुन सक्नुपर्दछ । त्यसतर्फ विद्यार्थी आकर्षण गर्ने शिक्षा पद्धति अवलम्बन होस् । आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालय पद्धतिलाई मोफसल र विविध भूगोलमा सञ्चालन गर्न सकिएमा श्रमबजारमा अवसर सिर्जना भई निकै हदसम्म बेरोजगारी समस्या समाधान गर्ने सरकारी नीतिमा मद्दत पुग्ने देखिन्छ ।
वि.सं. १९९० बाट विद्यालय शिक्षा परीक्षाको थालनीका रुपमा एसएलसी परीक्षा मुलुकमा सञ्चालनमा आयो । लामो समयसम्म एसएलसी परीक्षाको नामबाटै चल्यो । यो तहको परीक्षा विद्यालय शिक्षाको अन्तिम परीक्षाका रुपमा जनजिब्रोमा पर्याय नै बन्न गयो । मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई राज्य सञ्चालनको मियोका रुपमा लिएपश्चात् शिक्षा क्षेत्रमा पनि संघीयताका छनक देखिए । संघीयतामा रुपान्तरित भएसँगै अघिल्ला केही वर्षदेखि एसइईका नाममा सञ्चालन हुँदै आएको छ । विधि र कानुनी व्यवस्थाले प्रदेशगतरुपमा सञ्चालन गर्ने परिपाटीलाई लिइए पनि हालसम्म पनि राष्ट्रियस्तरमा केन्द्रीकृत ढाँचामा सञ्चालन भइरहेको छ । आशा छ, आगामी वर्षमा क्रमभंग हुनेनै छ । नेपाली जनजिब्रोमा अझै पनि यसको सान्दर्भिकता र चासो रही रहनु जनसरोकारको विषय रहेको छ ।
मुलुकमा भर्खरै प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । साथै मुलुकले देशको ४३औं प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संविधानको धारा ७६ (१) अनुसार मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीका रुपमा पाइसकेको छ । जनादेशसहितको सरकारले मुलुकको विकास, जनजीविकाका सवालमा छलाङ मार्नेमा द्विविधा नरहला ।

आमनिर्वाचन २०८२ को कारणले करिब दुई हप्ता पछि सरेर परीक्षा सञ्चालनको क्रममा छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुन गइरहेको छ । यो परीक्षाका लागि देशभरका एक हजार ९९१ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने छन् जसमा दुई लाख ५७ हजार ५२७ छात्रा तथा दुई लाख ५२ हजार ४३४ छात्र रहेका छन् । यो संख्यामा ६७ हजार पुनःपरीक्षा दिने समूहका परीक्षार्थी रहेका छन् । यस वर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या गत वर्षको कूल परीक्षार्थीभन्दा चार हजारको हाराहारीका न्यून हो । सबैभन्दा बढी काठमाडौं जिल्लाबाट परीक्षामा सहभागी रहने छन् । मुस्ताङको एकमात्र परीक्षा केन्द्रबाट यस वर्षको एसइई परीक्षामा १९८ परीक्षार्थी सहभागी रहने छन् । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्षको परीक्षाका लागि समग्रमा सबै तयारी पूरा भइसकेको छ ।
परीक्षा मूल्यांकन पद्धतिमा केही परिवर्तन तथा परिमार्जनले निरन्तरता पाइनै रहेको सम्भवतः आवश्यकताको सिद्धान्तका आधारमा मूल्यांकन विधि र प्रणालीमा सुधार गर्ने प्रयास आधिकारिक निकायले गर्दै आएको होला । न्यूनतम उत्तीर्णांक तथा अक्षरांक/ग्रेडिङ पद्धतिलाई समायोजितरुपमा मूल्यांकनको आधार बनाइएको छ । परीक्षालाई गुणस्तरीय र विद्यार्थीको ल्याकत परीक्षणमा यस किसिमको मापदण्ड केही कसिलो निश्चित रहला तर आशाको छनक दिनसक्ला । मूल्यांकन पद्धति फेरि घुमिफिरी रुम्जाटारकै सेरोफेरोमा आइपुगेको भान नपरोस् । न्यूनतम उत्तीर्णांक ल्याउनुपर्ने अनिवार्य प्रावधानले परीक्षा अवश्य पनि पेचिलो रहन्छ नै । यसको परीक्षण र मूल्यांकन पछिल्ला समय सन्दर्भमा निरन्तर रहला । शिक्षा आठौं संशोधन ऐन, २०७३ कार्यान्वयनमा आएसँगै कक्षा १० को एसइई र कक्षा १२ को परीक्षासम्बन्धी कार्यलाई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकारभित्र आबद्ध गरिएको छ ।
कक्षा कोठाका पठनपाठन, विद्यार्थीको नियमित ल्याकत जाँचकी, शिक्षण सिकाइ र बुझाइमा सुधार ल्याउने प्रयास के कति भए र परीक्षार्थीको सिकाइ र बुझाइको परीक्षण नियमितरुपमा हुँदै आएको सरोकारवालाले दाबी र पैरवी गर्दै रहलान् । परीक्षाको संघारमा यसको परीक्षण र विद्यार्थीले हासिल गरेको विषयगत ज्ञानलाई परीक्षामा निखार्ने प्रयास गर्ने नै छन् । आशा गर्न सकिन्छ, यस वर्षको एसइई परीक्षामा विगतमाभन्दा ताŒिवक सुधार भई उत्साहजनक परिणाम दिने छ ।
परीक्षालाई समयानुकूल अनुशासित, मर्यादित तथा व्यवस्थितरुपमा सम्पन्न गर्ने दिशामा शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डले आफ्नो तर्फबाट गरी आएको भूमिका तथा व्यवस्थापनका सवालमा अन्य सरोकारवाला निकायहरुको सहकार्यसमेत अपरिहार्य छ । विशेषतः परीक्षाको न्यूनतम मान्यता कायम राख्ने, परीक्षार्थीमैत्री तथा भयरहित वातावरणमा परीक्षा सञ्चालन तथा व्यवस्थापन हुनुपर्दछ । त्यसले खास मानेमा महŒव राख्दछ । केन्द्राध्यक्ष र निरीक्षकदेखि उपल्लो तहका निकाय र पदाधिकारीको समन्वयात्मक सहकार्य न्यूनतम आधार हुन् । सामान्यतः दुर्गम तथा पहाडीक्षेत्रका केही ठाउँ तथा तराई क्षेत्रमा परीक्षाको न्यूनतम मर्यादा र मूल्यलाई कायम गर्ने दिशामा विगतका अनुभवलाई मनन गर्दै थप मर्यादित र अनुशासित बनाउने कार्यमा कडाइका साथ पहल हुनुपर्छ । मिलिभगत र तदर्थ शैलीमा परीक्षामा अनियमितता नहोस् भन्नेतर्फ सजगता आवश्यक छ । यसमा सरोकारवालाको ध्यान तिखो रहनुपर्दछ ।
अहिले १२ कक्षाको परीक्षालाई विद्यालय तहको अन्तिम परीक्षाको रुपमा ग्रहण गरिसकेको छ । विधि र परम्पराका मानेमा १० कक्षा उत्तीर्ण परीक्षाको रुपमा एसइई परीक्षा हो र त्यसैअनुसार व्यवहार अघि बढ्नु सान्दर्भिक छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने १२ कक्षाको अन्तिम परीक्षापश्चात् विश्वविद्यालय कलेज शिक्षाको प्रारम्भ बिन्दु सुरु हुन्छ । अधिकांश मुलुकका शैक्षिक प्रणालीको अभ्यास पनि यही हो । मुलुक संघीयतामा रुपान्तरण भइसकेपछि परीक्षा व्यवस्थापन, अनुगमन, सञ्चालनलगायतका सम्पूर्ण कामको जिम्मा पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिएको छ । एसएलसी एसइईमा रुपान्तरण भइसके पनि पुरानै शैली र मानसिकतामा परीक्षा सञ्चालन भइरहनु र संघको जिम्मेवारीलाई पूर्णरुपमा प्रदेशमा हस्तान्तरण गर्न नसकिनु विडम्बना हो । परीक्षालाई अझै पनि अदृश्य हाउगुजीका रुपमा राज्यले प्रस्तुत गर्न खोजेको विश्लेषण सम्बद्ध शिक्षाविद् तथा सरोकारवालाको रहेको छ । हुनसक्छ, समयानुकूल रुपान्तरण र परिवर्तनको आभाष पाइने छ ।
विशेषतः विद्यार्थीको ल्याकतमा अपेक्षित सुधारको छनक दिन सक्नुपर्दछ । केही कसिलो र सुधारात्मक अभ्यास पछिल्ला समयमा भएका छन् । तर पनि अपेक्षित उपलब्धि दिन हम्मे नै रहला । फेरि पढ्ने पढाउने व्यवहार, मानक र परिपाटीमा सुधारका ताŒिवक परिवर्तन नपाइएको सन्दर्भको उठान रहनु र अर्कोतिर उत्तीर्ण हुने सबै विद्यार्थीले उच्च शिक्षामा सहज पहँुच कसरी प्राप्त गर्न सक्ला भन्ने कुराको बहस निरन्तर रहला नै । यस मानेमा उच्च शिक्षाको पहँुचमा सबै विद्यार्थीलाई समावेश गर्नुपर्ने आवश्यकता र बाध्यताबीच सरकारले उच्च शिक्षा प्रदान गर्ने निकायको सञ्चालन र व्यवस्थापन गर्न सक्नुपर्ने चुनौती आफैंमा अहम् छ । संविधानमा मौलिक हकअन्तर्गत धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था छ । साथै, संविधानको अनुसूची ८ मा व्यवस्था भएअनुसार विद्यालय शिक्षालाई स्थानीय सरकारको अधिकार क्षेत्रभित्र समेटेको छ ।
अबको आवश्यकता हाम्रो शिक्षा पद्धति गरिखाने शिक्षा, सीपयुक्त र व्यावहारिक ज्ञानसहितको शिक्षाको हो । समयको मागअनुसार शिक्षण संस्था रुपान्तरित भई व्यावसायिक र सीपमूलक प्राविधिक शिक्षाप्रदायक हुन सक्नुपर्दछ । त्यसतर्फ विद्यार्थी आकर्षण गर्ने शिक्षा पद्धति अवलम्बन होस् । आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालय पद्धतिलाई मोफसल र विविध भूगोलमा सञ्चालन गर्न सकिएमा श्रमबजारमा अवसर सिर्जना भई निकै हदसम्म बेरोजगारी समस्या समाधान गर्ने सरकारी नीतिमा मद्दत पुग्ने देखिन्छ । साथै, इच्छुक विद्यार्थीमाझ प्राविधिक धारका विषय अध्ययनको पहँुच पु¥याउन सकिएमा एसइई परीक्षामा प्रतिस्पर्धा कायम भई गुणस्तरीयताको सम्भावना देखिन्छ ।
परीक्षालाई विद्यालय शिक्षाको मूल्यांकनको मापनका रुपमा लिई मिहेनत र परिश्रम गरी परीक्षामा सहभागी हुनुपर्ने देखिन्छ । परीक्षालाई कुनै अदृश्य हाउगुजी वा कठिनतम् मापनका रुपमा नलिई तत् तहको शिक्षामा हासिल गरेको ज्ञानलाई परीक्षाका माध्यमबाट रुपान्तरण गर्ने अवसरका रुपमा लिनसके उच्च अंककासाथ उत्तीर्ण हुन सकिन्छ । परीक्षार्थीले डर र भयको नकारात्मक मनोविज्ञानबाट आफूलाई टाढा राखेर सकारात्मक सोचको विकास गर्नु आवश्यक छ । ११ कक्षाको अध्ययनतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन वा शिक्षाशास्त्र अनि प्राविधिक धारतर्फको विधामा निरन्तरता दिने दिशामा एसइई परीक्षा परिणामले मार्गनिर्देश गर्छ । मिहेनत र परिश्रम परीक्षामा सफलता पाउने आधार हो ।
परीक्षा सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा परीक्षा केन्द्रको आन्तरिक वातावरण तथा परीक्षा केन्द्रभन्दा बाहिरको आसपासको वातावरणले परीक्षालाई शान्तिपूर्ण, मर्यादित तथा अनुशासित बनाउने छ । जिम्मेवारी दायित्व निर्वाहमा कुनै मुलाहिजा तथा कञ्जुस्याइँ गर्नु हँुदैन । मनोवैज्ञानिक त्रास, आश, भयबाट मुक्त ढंगबाट परीक्षामा वातावरण बनाउनेतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनुपर्दछ । परीक्षाको न्यूनतम मर्यादा र आचारसंहितालाई पालना नगर्ने जो–कोही सरोकारवाला तथा परीक्षाका केन्द्राध्यक्ष र निरीक्षकहरुलाई आचरणअनुसार पुरस्कार र दण्ड जरिवानाको कार्यान्वयन गरिएको खण्डमा अवश्य चुस्त व्यवस्थापकीय सक्षताको छनक दिने छ ।
विद्यार्थीमा उच्च शिक्षातर्फको अग्रगमनका रुपमा चासो र सरोकार हुनुपर्दछ । मर्यादित, अनुशासित तथा परीक्षामैत्री वातावरण परीक्षाको गरिमा हो । एसइई परीक्षा सञ्चालन, व्यवस्थापन तथा सम्पन्नताका आयामले सफलता दिलाउन कार्यान्वयन तहमा खरो रुपमा उत्रिनु पर्दछ ।