रात छिप्पिँदै गएको छ । पूर्णिमा नजिकिँदै गरेको भए पनि जून देखिएको छैन । बादलले आकाश ढाकेकाले पनि जून लुकिरहेको छ । चैतमा चिसो हावा अनि सिमसिम पानी परिरहेको छ । बस्तीका मानिसहरुले चुपचाप आफ्नो दैलो बन्द गरिसकेका छन् । अधिकांशले त एक गाँस तातो खाएर भर्याङ उक्लिसकेका छन् । आज के होला वा भोलि के होला ? भन्दै हरेक घरका व्यक्ति हातमा भएको मोबाइलको स्क्रिनमा आँखा तानीतानी हेरिरहेका छन् ।
चुनाउ सकिएपछि पहिलेपहिले त विजयोत्सव नै मनाउँथे । तर अहिले त खुसुक्क आएर लुसुक्कै सरकार बनिसकेको थियो । यो वा त्यो कारणले होइन । जनमतको कदरअनुरुप नै बाहिर जे देखियो त्यही नै स्वीकार गर्नुपर्ने अवस्था पनि थियो ।
जे कुराको पनि समय हुन्छ । साइत हुन्छ । अब साइत जुराएर काम गर्न थालेपछि त्यसले पक्कै पनि फल त राम्रै हात पार्ला भन्ने त हो । त्यही भएर पनि संस्कार भुल्नु पनि अन्याय नै हुन्छ । हजुरबाहरुलाई खाटमा सुताएर नाति केटाहरु रातभर जागा देखिए । मध्यरातमा पूर्वशक्तिशालीहरुका घरभित्र क्रमशः सत्ता जाग्न थालिसकेको छ । उसबेला भन्थे- अहिले पाप गर्यो भने अर्को जुनीमा सास्ती पाइन्छ ! तर होइन, अहिले गरेको अपराधको अहिले नै सजाएँ हुन्छ भन्ने भाष्य निर्माणमा लागिरहेको देखिन्छ ।
ढोका खित्रिंग गर्यो । ‘भित्र कोही छ ? ढोका खोल्नुस् त !’भित्रका मानिसहरु झसंग भए । यति राति को आयो ? कसैलाई समस्या पो परेछ कि क्या हो ? तर होइन, फौजी पोसाकका मानिस देखिएपछि मन चसक्क त हुने नै भो नि ! पद, शक्ति र यौवन सधैं कहाँ पो अडिन्छ र ? नदी बगेजस्तै बगिरहन्छ निरन्तर । त्यसैले पनि होला कसैलाई जंगबहादुर बन्न मन लाग्ने । कसैलाई बहादुर नै बन्न मन लाग्ने । अनि कसैलाई जंगलको सिंहजस्तै लाग्ने ! सत्ताको उन्मादले आफैंलाई खाल्डो खन्छ भन्ने कुरा बेलैमा होस पुर्याउनुपर्छ नि ! रामराज्य बनाउँछु भन्ने रामलाई त वनबास जानुपरेको थियो । सुग्रिवले नै रामसँग मिलेर बालीलाई नाश गरेको थियो । राजकाज त्यागेर जंगल हिँडेका रामसँग मिलेर सुग्रिवले बालीलाई मारेको थियो नि ।
बाली र सुग्रिवको कथामा जस्तै गुँडमा माउ र बाउको बिचल्ली भइरहेको थियो । जसरी जंगलमा सिकार खेल्नेहरुले सिकार नपाएपछि जे पनि गर्छ भनेजस्तै हो । प्रतिशोध, रिसइबी अहंकारले नै विनास निम्त्याउँछ भनेजस्तै होइन र ! लंका जसरी खरानी भयो । जंगल पनि त्यही खरानीको भुमरीमा नपरोस् भन्दै । गाउँघरमा उखानै छ नि- ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो ।’ पहिले सासूले बुहारी कजाएकी थिइन् । अहिले बुहारी सासु बनेर बुहारी कजाउँदै छिन् । आखिर कजिनुपर्ने त बुहारी नै रहेछ नि !
अहिले अवस्था उस्तैउस्तै देखिएको छ । सत्ताको उन्मादले अहिले सिकार खेल्ने प्रयत्न भयो भने ! गुँडमा माउ र बाउको अवस्था के होला ? छिप्पिसकेको रातपछिको सुनसान अनि फेरि बिहानीको पर्खाइमा रुखको टोड्कामा बसेका चराचुरुंगीको चिरबिर । सिकार खेल्नेहरु पनि सायदै जंगलतिर हराएर हो कि वा सिकार नपाएर हो । सर्याक-सुरुक्क गर्दै थिए । जंगलको छेउको घरमा फौजी देखिएपछि गुँडमुलि डराए । रातभर जंगलमा सिकार खेल्नेहरुले हल्ला गरिरहेका थिए । सिंहको गर्जन निकै ठूलो सुनिएको थियो । सायद सिकारीले गज्जबकै सिकार पाएर दंग परेजस्तै ।
ढोकाको प्वालबाट चियाएर हेर्दा अवस्था त्यत्ति सहज भने थिएन । माउको वरपर बसिरहेकाहरु च्यार्रचुर्र गर्न थाले । बिहानीको मिर्मिरे हुँदै थियो । गुँडबाट माउ नै उठाएर लैजाने प्रयास फौजी किराहरुले गर्दैै थिए । कोही चिच्याउँदै थिए । कोही ढोकामा बलियो चुकुल लगाउँदै थिए । तर फौजी किरा न परे । जस्तोसुकै मूल्य चुकाएर भए पनि गुँडको माउ लैजानु नै थियो ।
फौजी किराले वरिपरिबाट घेरा हाले र गुँडबाट माउ लिएर गए । आफ्ना माउ र बाउ जोगाउन बचेराहरु किन पछि पर्थे र ! फौजी किरालाई बलजफत गर्ने, घेरा हाल्ने वा ङ्यार्र ङ्यार्र गर्न थालिसकेका थिए । सूर्यको उज्यालो घाम आउन कठिन भइरहेको थियो । बादलले सूर्यलाई छोपिरहेको थियो । खुल्न सकिरहेको थिएन ।
आकाश पनि संकटको संकेत गरिरहेको थियो । किनकि, सधैं मिर्मिरेमै उज्यालो हुनुपर्ने गुँडबाट माउ नै लिएर गएपछि रुखका पातहरु पनि मौन थिए । आकाश अझै धुम्म परेर बसिरहेको थियो । खुल्नै सकिरहेको थिएन वा मानिरहेको थिएन । ऊ पनि बेसहारा बन्दैै गएको थियो । हुन पनि पूर्णिमाको उज्यालो जून र औँसीको रात क्रमशः पालैपालो त आउँछ नै । कुमालेको चक्र घुम्छ भनेजस्तै त हो !
‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तो नहोस् । गँुडका वरपर रहेका चराचुरुंगी पनि भुर्रभुर्र उडेर अन्तै लागे । चारा खुवाउने बेलामा सिंह गर्जेर बेसुर बचेराहरुलाई च्यापेपछि सिकारीको जालबाट जोगाउन के सक्थे र बचेराहरुले ! माउले ख्याल नगर्दा बाउहरुको पनि त बदनाम हुन्छ नि । अनि बाउले बेचराहरुलाई न्याय नगर्दा गुँड भत्किन कति बेर पो लाग्छ र ? माउ र बाउको त ढल्केको समय त हो ! खुट्टा र पखेटा कहाँ लाग्छ र ? तिनै बचेराहरुले यता र उता चिथोर्दा चिर्थोदै गुँड प्वाल पर्छ अनि त्यही गुँडका अल्झेर झुण्डिनुको विकल्प नै नहुने । न पखेटाले काम गर्न सकेको छ, न त खुट्टाले नै साथ दिएको छ ! अब त तुन्द्रुंग झुण्डिएर गुँडमा अड्किनुको विकल्प नै छैन !