पाटन- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताएका हुन् ।
“संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” उनले भने, “२०८२ देखि २०८७ सम्मको अवधि सुशासन, सेवा र विकासको गतिमा अगाडि जान राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कांग्रेसको सहयोग र साथ रहन्छ, अबको पाँच वर्ष कुनै पनि द्वन्द्व र दुर्घटना नआउने गरी भूमिका निर्वाह गर्छौं ।”
प्रतिकूल अवस्थामा निर्वाचनमा होमिनु परेको बताउँदै सभापति थापाले निर्वाचन परिणामपश्चात् जवाफदेही भएर सभापति पदबाट राजीनामा दिएको बताए । “मेरो अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको छ, बाँकी ठिक बेठिकको निर्णय आगामी महाधिवेशनले गर्छ, अब हामी महाधिवेशनतर्फ अगाडि बढ्छौँ,” उनले भने ।
सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकको विशिष्ट अपेक्षा रहेको उल्लेख गरे । उनले अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचारको विषयमा प्रस्ट छानबिन गर्नुपर्नेमा जोड दिए । “२०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गरेर जानुपर्छ, अवैध सम्पत्ति जफत गर्नुपर्छ, यसका लागि आयोग बनाएर जानुपर्छ,” उनले भने । निर्वाचनको विषयमा पार्टीको समीक्षा भइसकेको र आजको बैठकबाट निर्णय गरेर सातै प्रदेशमा समीक्षा गरिने जानकारी दिए ।