‘ए थाहा पाइस् ? त्यसलाई पनि भ्रष्टाचार मुद्दा लागे छ नि !,’ कृष्णले किरणलाई भने । कृष्णको भनाइ सुनेर किरणले भने, ‘हो र ? त्यस्तो मान्छे त थिएनन् त ! कति ज्ञानी, कति सञ्जन थिएन कसरी परे छन् त हो ती भ्रष्टाचार मुद्दामा ?’ ‘खै ! यी हेर त यहाँ रिलमा पूरै भाइरल भएको छ,’ कृष्णले किरणलाई थपे । यसो मुण्टो तन्काएर कृष्णको मोबाइलमा किरणले आँखा लगाए । एउटी केटी घाँटी सक्ने गरी एक मिनेटजति फलाक्दै थिई । सायद उसलाईबाहेक अरुलाई यो खबर नै थाहा छैन । अनि भ्रष्टाचारको मुद्दा दायर भएको व्यक्तिले निकै ठूलो अपराध गरेर जेल नै गइसकेको जस्तो ।
‘यस्तै हो,’ किरणले सान्त्वना दिँदै भने, ‘शक्ति र सत्ता हुँदा यिनकै अघिपछि लाग्छन् अनि थोरै तलमाथि भयो भने अपराधी नै बनाउँछन् । यो पनि त्यस्तै होला ।’‘खै ! त्यस्तो होला र अहिलेको अवस्थामा ? कतै न कतै चुकेका थिए होलान् र त मुद्दा नै दर्ता भयो होला त,’ कृष्णले थपे । ‘मुद्दा दर्ता हुँदैमा पूरै अपराधीकरण गर्ने हाम्रो बानी भएर हो । कतिपय इमान्दार मानिसहरुलाई पनि मुद्दा लाग्ने अनि फेरि फुकुवा हुने गरेको पनि छ नि । यहाँ त सामाजिक सञ्जाल चलाउने नै न्यायाधीश बनिदिन्छन् । अनि अपराधी भगवान् बन्छन् । इमान्दारलाईचाहिँ डाका बनाइदिन्छन् !,’ किरणले आफ्नो मत राखे ।
‘त्यस्तो हुँदैन होला । सबै कुरा छानबिन नगरी त मुद्दा के हाल्लान् र हो ? हावा नचली पात हल्लँदैन भन्ने हाम्रो उखान नै छ नि,’ कृष्णले भने । ‘हो हुनु त ! हावा नलागी पात हल्लँदैन । तर कहिलेकाहीँ रुखै हल्लाएर पनि पात हल्लाउने हाम्रा सामाजिक सञ्जाल छन् नि त ! बाहिर एउटा कुरा, भित्र अर्कै कुरा,’ किरणले अलि बुझाउने किसिमले भने । ‘हामीमा यति धेरै प्रजातन्त्र आको छ कि, कुरै नगरौं । जसलाई जे मन लाग्छ त्यही गर्ने पाउने । त्यही भएर पनि मलाई त कतिपय कुरा विश्वास नै लाग्दैन ।’ ‘तपाईंले विश्वास नगरेर के गर्ने गर्ने ? यसरी मोबाइलमै आइसकेपछि सबैले विश्वास गर्छन् । अहिले केटाकेटीदेखि बूढापाकाले पनि यही मोबाइल नै हेरेर निर्णय गर्ने हो । को कस्तो थियो, के छ भन्ने कुरा बुझ्न छाडिसके,’ कृष्णले पनि आफ्नै अनुभव सुनाए ।
‘जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै हो । हल्लाखल्ला गर्छन् । साना-साना पहुँच नभएकाहरुलाई बद्नाम गराउँछन् । पहुँच भएकाहरुले जति लुटे पनि कसैको आँखा लाग्दैन । हामीले सबै बुझेका छौं, तर हामीले बुझेर नहुने,’ किरणले सुनाए । ‘त्यही त... । दिनदिनै यसलाई भ्रष्टाचार, उसलाई भ्रष्टाचार भनेको सुनिन्छ । तर जेल गाको त कोही देखिँदैन । घुस नखाने मान्छे पनि भेटिँदैन । खरिदारदेखि सचिवसम्म, ठेकेदारदेखि हकदारसम्मले यो वा त्यो बहानामा कमिसन हानेका छन् । तर कुरा कहाँँ बिग्रेको छ क्या ?,’ निकै खुल्दुली हुनेगरी कृष्णले सोध्छ ।

किरणले हाँस्दै भन्छ, ‘यी सब ‘मुखमा राम राम, बगलीमा छुरा’ भनेजस्तै हो । अर्बाैं कर छली कसरी हुन्छ ? जाँदाजाँदै सरकारमा बस्नेहरुले गर्ने गैरकानुनी नियुक्ति पनि त भ्रष्टाचार नै त हो । कसरी सेटिङ हुन्छ भनेर छर्लंगै छ । त्यसकारण यो मुद्दासुद्दा भन्ने कुरा छाड्नुस् ।’ ‘त्यसो भनेर कहाँ हुन्छ ? हेर्नुस् त यत्रा युवा मरेर परिवर्तन भएको छ । अब त परिवर्तन हुनुपर्यो नि ! उही मान्छेमात्र फेरियो भने त के काम र ?,’ कृष्णले प्रश्न उठाए । ‘सबैको आशा त्यही नै हो । सुशासनका लागि युवाहरु लडे । भ्रष्टाचारका विरुद्ध सबै लडे । शक्तिको दुरुपयोग गर्नेहरुका विरुद्ध रगत बगाए । अब फेरि उही दोहोरिने छैन भन्ने मलाई विश्वास छ । अब पनि मुखमा एउटा र व्यवहार अर्को गर्न थाले भने त कोही बाँकी रहँदैनन्,’ किरणले आशावादी हुँदै भने ।
‘त्यस्तो होला र ?,’ उत्साहपूर्वक कृष्ण सोधे । ‘के हुन्छ के हुँदैन भन्ने होइन । समय हो, जे पनि हुन सक्छ । सोचेजस्ता पनि हुन सक्छ । हामीले कल्पना गरेकोभन्दा फरक पनि हुन सक्छ । किनकि, यहाँ त ‘मुखमा राम राम, बगलीमा छुरा’ बोकेर हिँड्नेहरुको भीड छ,’ किरणले भने । ‘त्यसो भए के गर्ने त ?,’ कृष्णले फेरि सोधे ।
किरणले हाँस्दै भने, ‘खासमा मेरो भनाइ मान्ने हो भने अब बन्ने सरकारको पहिलो निर्णय नै भिआइपीका नाममा पद सकिएपछि खरानी नहुञ्जेलसम्म दिने सुविधा कटौती गर्नुपर्छ ।’‘ओहो ! गज्जबको कुरा गर्नु भो तपाईंले । तर त्यसो गर्लान् र ? आफैंले पनि लिनु छ,’ कृष्णले भने । ‘ल... त्यसो गर्न नसक्ने हो भने त पुराना र नयाँमा के फरक भो र ?,’ किरणले भने ।
‘जेन-जी विद्रोहले मागेकै सुशासन होइन र ? एकपटक प्रधानमन्त्री वा विशिष्ट पदमा पुगेपछि जीवनभर राज्यको ढुकुटी रित्याएर सुविधा लिइरहने होइन । पदमा रहुञ्जेल राज्यले दिएको सुविधा लिने, पद छाडेपछि सर्वसाधारण बन्ने । त्यसो गरेमात्र राज्य राज्यजस्तो हुन्छ । नत्र फेरि उही हो । मुखमा राम राम बगलीमा छुरा,’ किरण खित्का छाडेर हाँस्छन् ।
‘ठिकै हो कुरा । अब रामराज्य बनाउने भनेरै होला रामनवमीको दिन पारेर सत्ता सम्हाल्दै छन् क्यार ! राम लक्ष्मण बनवास जाँदा पनि भरतले राज्य चलाएका हुन् ! अहिले त्यही रामराज्य होस् भने ड्याम- ड्याम आँखा चिम्म गरेर जिताएर पठाएका छन् । उही पहिलेकै जस्तो सुविधाभोगी बन्ने, राज्यको ढुकुटी रित्याउने अनि आर्यघाट पुगुञ्जेलसम्म सुविधा लिइरहनेगरी बसे भने तिनलाई पनि तिलको पहाड बनाएर तालुमा आलु पलाइहाल्छन् नि,’ कृष्णले निष्कर्ष निकाले ।
‘जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने गीताको सारलाई बुझौं । मुखमा राम राम, बगलीमा छुरा नगरौं । अहिलेलाई बिदा होऔं,’ किरण जुरुक्क उठेर हिँडे ।