अहिले हरेक दिन करिब २१ सय टोकन खपत भइरहेको छ । केही मुलुकको नयाँ श्रम स्वीकृति बन्द हुँदा पनि यति हुनु भनेको कम होइन । यद्यपि, अहिले पुनः श्रम स्वीकृति लिने बढी छन् ।
मीरा आचार्य
महानिर्देशक, वैदेशिक रोजगार विभाग
काठमाडौं- इजरायल-अमेरिका र इरानबीचको द्वन्द्वले खाडी क्षेत्रको रोजगारी प्रभावित हुँदा वैदेशिक रोजगार विभागमा नयाँ श्रम स्वीकृति लिने श्रमिक घटेका छन् । प्रमुख रोजगार गन्तव्य बन्द हुँदा विगतकै हाराहारीमा श्रम स्वीकृति जारी गरिरहेको भए पनि अधिकांश पुनः श्रम स्वीकृति लिने रहेको विभागले जनाएको छ ।
सामान्य अवस्थामा दैनिक दुई हजारदेखि दुई हजार ५०० जनाले विभागबाट श्रम स्वीकृति लिने गरेका थिए । जसमा ८० प्रतिशतभन्दा बढी श्रम स्वीकृति खाडीका छ वटा देश र मलेसियाका लागि जारी गरेको पाइन्छ । हाल खाडी मुलुकहरुमा भने नयाँ श्रम स्वीकृति स्थगन गरिएको छ । जसले गर्दा नयाँ स्वीकृति लिनेको संख्या घटेको हो । पुनः श्रम स्वीकृति लिनेले श्रमिकका कारण विभागमा चाप भने विगतमा जस्तै रहेको विभागकी महानिर्देशक मीरा आचार्यले बताइन् ।
उनकाअनुसार अहिले औसतमा दैनिक दुई हजार १०० जनाले श्रम स्वीकृति लिइरहेका छन् । ‘अहिले हरेक दिन हाम्रोमा २१ सयको टोकन छ, त्यो सबै खपत भइरहेको छ,’ उनले भनिन्, ‘केही मुलुकको नयाँ श्रम स्वीकृति बन्द हुँदा पनि यति हुनु भनेको कम होइन । यद्यपि, अहिले पुनः श्रम स्वीकृति लिने बढी छन् ।’
सुरक्षा जोखिम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन १६ गतेदेखि पश्चिम एसियाका १२ मुलुकका लागि श्रम स्वीकृति स्थगन गरेको थियो । पछि चैत ३ गते साउदी, कतार, युएई, ओमान, यमन, जोर्डन र टर्कीका लागि श्रम स्वीकृति नवीकरण खुला ग¥यो । त्यसयता श्रम स्वीकृति नवीकरण गर्नेको संख्या बढेको आचार्यले बताइन् । ‘प्रतिनिधिसभा चुनावका लागि र नियमित छुट्टीमा धेरै श्रमिकहरु नेपाल आउनुभएको थियो । उहाँहरु फर्किने क्रममा हुनुहुन्छ । त्यसको पनि प्रभाव हो,’ उनले भनिन् ।
विगतका केही तथ्यांक हेर्दा वैदेशिक रोजगार क्षेत्र चलायमान नहुँदा रोजगारीमा जानेमध्ये श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको संख्या आधाभन्दा बढी हुने गरेको देखिन्छ । चालु आर्थिक वर्षको साउनमा वैदेशिक रोजगार क्षेत्र सामान्य थियो । उक्त महिना पुनः श्रम स्वीकृति लिएर ३४ प्रतिशतको हाराहारीमामात्र श्रमिक गएका थिए । सोही महिनामा संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर जम्मा ६८ हजार ११० जना रोजगारीमा जाँदा २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । जबकि, जेन-जी आन्दोलनले भदौको अन्तिमबाट युएई रोजगारी करिब चार महिना बन्द भयो । त्यसबीचको कात्तिक महिनाको तथ्यांक हेर्दा ७३ हजार ९४ जना रोजगारीमा जाँदा ५० हजार ५८० अर्थात् ६९ प्रतिशतभन्दा बढी श्रम स्वीकृति नवीकरण गरेर गएको पाइन्छ ।
त्यस्तै, आव २०७७/७८ मा रोजगारीमा गएकामध्ये ५६ प्रतिशतभन्दा बढी पुनः श्रम स्वीकृति लिएर गएकाहरु छन् । त्यस वर्ष कोरोना महामारीका कारण कूल एक लाख ६६ हजार ६९८ जनामात्र रोजगारीमा जाँदा ९४ हजार ६१७ जना श्रम स्वीकृति नवीकरण गरेर गएका थिए । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा रोजगार क्षेत्रमा कुनै ठूलो समस्या देखिएन । त्यस वर्ष आठ लाख ३९ हजार २२६ जना विदेसिँदा तीन लाख ३३ हजार ३०९ जना अर्थात् ३९ प्रतिशत श्रम स्वीकृति नवीकरण गरेर गएका थिए ।
अहिले इरान, इजरायल, कुवेत, लेबनान, बहराइन र इराकमा सबै प्रकारको श्रम स्वीकृति बन्द गरिएको छ । खाडी मुलुकहरुबाहेक मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, साइप्रस, मरिसस, माल्दिभ्स, क्रोएसियालगायतका मुलुकमा बढी श्रमिक जाने गरेका छन् ।