काठमाडौं- बहराइनको पेट्रोलियम कम्पनीमा कार्यरत झापाका राजुबाबु ढुंगानाले आफू नेपाल फर्किन चाहेको बताए । मध्यपूर्वमा विकसित घटनाक्रमले त्रसित भएका उनी युद्ध नरोकिएकाले कुनै पनि स्थान सुरक्षित नहुने बताउँछन् । सात वर्षअघि बहराइन गएका ढुंगानाले अब परिवारसँग सुरक्षित बस्न चाहेको बताए ।
‘युद्ध चर्कंदै गएको छ । हिजो हामी बस्ने ठाउँबाटै ड्रोन गयो,’ प्रभावसँगको ‘भर्चुअल’ कुराकानीमा उनले भने, ‘यहाँ घरभित्रै बसे पनि सुरक्षित छैन । सरकारले कसरी हुन्छ नेपाल फर्काउन पहल गर्नपर्यो ।’ संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका चितवनका प्रवीन सिलवाल भने अहिले आफू नियमित काममै रहेको बताउँछन् । सात महिनाअघि उक्त मुलुक गएका उनी नेपाली नागरिकको मृत्युले त्रास बढाए पनि काम भने नरोकिएको बताउँछन् । ‘अहिले डेरा भन्ने ठाउँमा छु । यता खासै केही छैन, काममा गइरहेका छौं । नेपाली साथीको मृत्यु भएपछि हामी त्रासमै छौं तर पनि काम गर्नै पर्यो,’ उनले भने, ‘अलि पर जबेल अली भन्ने ठाउँमाचाहिँ मिसाइलहरु आइरहेका छन् । मैले पहिला काम गरेको पाम जुमेरातिर काम बन्द छ ।’
साउदीमा रहेका झापाका डिल्ली रिजालले दूतावासले नागरिक कहाँ छन् भनेर अपडेट राख्ने संयन्त्र तयार गर्नुपर्ने बताए । १० वर्षअघि साउदी गएका उनले अहिलेसम्म यस्तो संयन्त्रको विकास नभएकोमा गुनासो गरे । ‘साउदीमा रहेका नेपालीले आफू भएको स्थान, काम गर्ने कम्पनी, बस्ने ठाउँको सुरक्षा अवस्थालगायतका जानकारी लिन सक्ने अनलाइनको व्यवस्था गर्नुपर्यो,’ उनले प्रभावसँगको भर्चुअल कुराकानीमा भने, ‘म यत्रो वर्षदेखि काम गरिरहँदा सरकारले यी विषयमा ध्यान दिएको देखेको छैन । यसपटकबाट सुरु गर्नुपर्यो । फेरि भोलि ठूलो संकट आयो भने असम्भव हुनसक्छ ।’
मध्यपूर्वका साउदी अरब, युएई, कतार, ओमानलगायतका मुलुकमा इरानले ब्यालेस्टिक क्षेत्रप्यास्त्र तथा ड्रोन आक्रमण जारी राखेको छ । गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको असर नेपालीहरुको रोजगार गन्तव्यमा देखिएको हो । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार मध्यपूर्वका १६ वटा मुलुकमध्ये १२ वटामा १७ लाख २९ हजार २८८ जना नेपाली रहेका छन् ।
नेपालजस्तै श्रमिक पठाउने फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तानलगायतका मुलुकले आफ्ना नागरिक कुन–कुन स्थानमा छन् भनेर ट्र्याक गर्नुका साथै उनीहरुलाई मुलुक फर्काउने योजनाहरु बनाइरहेको बताएका छन् । यस्ता विषयमा कमजोर देखिने गरेको नेपालले रोजगारीमा रहेका श्रमिकलाई सुरक्षित राख्न के कस्तो भूमिका खेल्छ भन्ने चिन्ता र चासो विदेश रहेका श्रमिकका साथै यहाँ भएका परिवारजनमा देखिन थालेको छ । यद्यपि, सरकारले भने नेपालीहरुको सुरक्षाका लागि नियोगलगायत संयन्त्रको परिचालनमा कुनै कसर बाँकी नराख्ने बताएको छ ।
विज्ञको सुझाव
आधिकारिक सूचना प्रवाहमा जोड दिऔं
श्रमविद् रामेश्वर नेपालले श्रमिक र परिवारजनलाई विश्वस्त बनाउन सरकारले प्रभावकारी ढंगबाट सूचना प्रवाह गर्नुपर्ने बताएका छन् । हाल दूतावासले जारी गरेका विज्ञप्तिहरु पर्याप्त नभएको उनको भनाइ छ । साथै, अहिले कुनै कदम चालिहाल्ने परिस्थिति नभएकाले विमानस्थल खुलेपछि के गर्ने भन्नेमा सरकारले गृहकार्य गर्नुपर्ने नेपालको भनाइ छ ।
‘खाडी मुलुकमा कार्यरत श्रमिक र यहाँ भएका परिवारजनले आधिकारिक माध्यमबाट पर्याप्त सूचनाहरु सम्प्रेषण गरिरहनुपर्यो भनेका छन् । परराष्ट्रले वैकल्पिक उपायहरु अपनाएर कम्तीमा दुईपटक अथेन्टिक अपडेट गराउनुपर्छ,’ उनले भने, ‘विमानस्थल बन्द भएको हालको अवस्थामा नेपाल फर्काउन पर्नेे प्राथमिकतामा को छन्, कसरी फर्काउने भनेर योजना बनाउनुपर्छ ।’
सबै मुलुकका दूतावासले नेपालीहरुलाई सुरक्षित रहन अपिल गरेका छन् । तर कसरी सुरक्षित बस्ने भन्नेमा श्रमिकहरु स्पष्ट नभएको पाइएको छ । दूतावासले कसरी सावधानी अपनाउने भन्नेखालको सूचना दिनुपर्ने नेपालको सुझाव छ । ‘दूतावासहरुले सुरक्षित बस्नु भनिरहँदा कसरी बस्दा सुरक्षित भइन्छ भन्ने कुरा स्पष्ट नभएको गुनासो कामदारहरुले गरेका छन्,’ उनले भने, ‘त्यहाँको सरकारले कसरी सावधानी अपनाउन भनेको छ भनेर जानकारी लिनुपर्यो । जस्तैः हाम्रोमा भुइँचालो गयो भने कसरी सावधानी अपनाउने भनिन्छ नि, त्यो खालको सूचना दिनुपर्यो ।’
सीमित स्रोतसाधनका कारण विभिन्न मुलुकमा रहेका नेपाली दूतावासलेमात्र समस्याको सम्बोधन गर्न सकेको देखिँदैन । यो अवस्थामा गन्तव्य मुलुकमा भएका हेल्पलाइन लगायतका सपोर्ट सिस्टममा कसरी सम्पर्क गर्ने, त्यहाँबाट कस्ता कस्तो सेवा लिन सकिन्छ ? लगायतका विषयमा पनि जानकारी दिन आवश्यक रहेको जनाइएको छ । साथै, गैरकानुनीरुपमा रहेकाहरु अझ जोखिममा हुने भएकाले उनीहरुलाई विशेष ध्यान दिनुपर्ने विज्ञको सुझाव छ ।