रविबार मध्याह्नमा टन्टलापुर घाम चर्किएर टुँडिखेलको भूइँबाट धूलो उड्दै थियो । शिवरात्रीको रौनकमा शिवबुटी खाएर धुँवा उडाउनेहरु पनि उत्ति नै थिए । टुँडिखेलका वरिपरिबाट भूइँमान्छेहरु फलामे बारबाट चियाइरहेका थिए । किनकि, भूइँमान्छेका लागि टुँडिखेल आफ्नो थिएन । टुँडिखेलको बीच मैदानमा धूलो उडाउँदै खैरा आँखा भएका हरितकाले सेना डम्फु ढ्यांग्रो बजाउँदै स्याँऽस्याँ गर्दै थिए । त्यही भएर पनि भूइँमान्छेहरुलाई अचम्म लागेर आफ्नो आँखा त्यही डम्फु बजाउनेहरुतिर चियोचर्चो गरिरहेका थिए ।
भूइँमान्छेहरुलाई फलामे बारबाट हटाउन नीला बर्दीधारीहरु कटवाँस लिएर कहिले यता कहिले उता गरिरहन्थे । नीला बर्दीधारीहरु देख्नासाथ फेरि भूइँमान्छेहरु गुटुङऽटुङ भाग्थे अनि फेरि आएर चियाउँथे । ‘नेपाली मान, अम्रिकन सान’ले हरितकाले सेनाहरु डम्फु र ढ्यांग्रो फुट्लाजस्तै गरी उफ्री-उफ्री ताल दिइरहेका थिए ।
नेपाली भूइँमान्छेहरुलाई केही असहज भएछ कि क्या हो ! मोबाइलबाट तस्बिर खिचिरहेका थिए । फलामको बारबाट टाउको घुसाउँदै भित्र डम्फु र ढ्यांग्रो बजाउँदै उफ्रिरहेको हेर्दै कौशलेन्द्रसँगैको साथीलाई भन्दै थियो, ‘देखिस् अम्रिकन सेनाले टुँडिखेलमा परेड खेल्छ भन्थे नि ! आयो कि आएन ? खेल्यो कि खेलेन ?’
कौशलेन्द्रको कुरा सुनेर हेर्दै नहेरी साथीले जवाफ दियो । ‘परेड खेलेर के भयो त ? परेड खेल्न लगाउनेहरु ऊऽमाथि बसेर ताली ठोकिरहेका छन् !’ ऊ बेला त्यसै भनेको हो र ? ‘सुझ न बुझ टुँडिखेलका कुद’ । अहिले अम्रिकाबाट एमसिसी ल्याएपछि परेड खेलेर मनोरञ्जन गर्नु परेन त ? अस्ति भदौतिर ‘बन्दुक बन्दुक’ खेल खेलेका थिए । अहिले परेड खेले ! के भयो र ? हामी यसैगरी बाहिर बस्ने, ताली ठोक्ने ।
साथीको कुराले कौशलेन्द्रलाई कता-कता भित्रै छोएको जस्तो भएछ क्यार ! रविबारको दिन । त्यसमाथि पनि शिवताण्डव नृत्य गर्दै टुँडिखेलमा परेड खेल्नु भनेको त आकाश गड्गडाउनुजस्तै हो नि । कौशलेन्द्रले आकाश गड्गडाउनु भन्दै गर्दा टुँडिखेलमा परेड खेलेको धूलोले नै होला । आकाशसमेत धुम्म परेको थियो । हुन त आकाशलाई पनि त्यही धुलोको कणले डर लागेको हुनुपर्दछ । स्वर्णिम युग बनाउँछु भन्दै चारडाँडा काटेर आकाशमा बादल मडारिएको थियो ।
साथीले सोध्यो, ‘साँच्चै, अम्रिकन सेनाले टुँडिखेलमा परेड खेलेको दिन चारपाटा मुडेर डाँडा कटाउनु भन्ने बाख्रा कता भ्याऽभ्याऽ गर्दै छ ?’ उसले कौशलेन्द्रलाई सोध्यो । साथीको प्रश्नले कौशलेन्द्र नीलो कालो भयो । नहोस् पनि किन ? ऊ पनि आकाशजस्तै गरी नीलो क्रान्तिमा तर मार्न हिँडिसकेको थियो । अलि पहिलेसम्म फाटेको दूधबाट तर फाल्नुपर्छ भन्ने कौशलेन्द्र अहिले त्यही शिवताण्डवमा घण्टाको रालो समाएर ट्वाङऽ ट्वाङऽ पार्दै वल्लो गाउँ र पल्लो गाउँ गर्दै थियो ।
नीलो क्रान्तिका नाममा भ्रान्ति फैलाउँदै घण्टा बजाउँदै रालो फुस्किएको पत्तै नपाउने कौशलेन्द्र हरितकाले सेनाको परेडमा किन अचम्म पथ्र्यो र ! उनै हरितकालेहरुले बनाएको घण्टाको रालोमा झुण्डिएरै दौडिरहेको थियो । न ताल, न सुर । एकातिर टुँडिखेलमा डम्फु ढ्यांग्रो बज्दै थियो, अर्कोतिर घण्टाको रालो तर्संदै थियो ।
जेन-जी विद्रोहले मुलुकलाई स्वर्णिम युगमा रुपान्तरण गर्नुपर्ने भाका सर्दै थियो ! स्वर्णिम युगका ती भाकाहरु फेरिँदै थिए । अम्रिकन हरितकाले सेना परेडमा रमाइसकेको थियो । उनैले चौरासी पूजालाई बयासीमा सारे भनेर टण्टलापुर घामले थेग्न नसकेपछि रुखको चौतारीमा बसेकाहरुले कुरा काटिरहेका थिए ।
त्यही चौतारामा बसेर विद्धान तक्लु काका भन्दै थिए । ‘त्यो आकाशेलाई डाँडा कटाउनुपर्दछ ।’ तक्लु काकाको कुरा काट्दै किरण भान्दाइ भन्दै थिए- कटाउनु नै पर्दैन आफैं चार डाँडा काटेर तराईको रापमा ताप खोजिरहेका छन् । विचरा आफ्नै चौतारोले पनि शितल दिन नसक्ने भएपछि के गर्नु ?
जन्मे हुर्केको ठाउँ भनेर हुँदो रहेनछ । आफ्नै आँगनमा बसेर छिमेकीलाई घरमा डढेलो लगाउन उक्साएपछि खोल्साको पानीले डढेलो कसरी निभाउन सकिन्थ्यो र ? टुँडिखेलमा परेड भन्दै ताण्डव गर्ने अनि त्यही परेड हेरेर ताली बजाउनेहरु नै हरितकालेका मुख्य नाइके हुन् । फलामको बारमा टाउको चियाएर परेड हेर्नेलाई के थाहा ? उसैको टाउकोमा परेड बजारिन सक्छ भनेर ! फलामको बारमा बसेर चियाउनेहरु उही चौरासीको पूजा बयासीमा गर्ने सुरसार गर्नेकै लयमा रमाइरहेका छन् ।
विचरा गरुन् पनि के ? न बोल्ने ठाउँ छ, न सुनिदिने नै कोही छ ? त्यही भएर पनि होला चौरासीको पूजा बयासीमा गर्नु हुन्न भन्दै उत्तरतिरका पाञ्चायन मन्दिरका पुजारी र दक्षिणतिरका साधकहरु बालुवाटार, कौशलटार र खुमलटारतिर यज्ञ गर्दै छन् ।
साधक पुजारीहरु यज्ञ गर्न होमिन थालेपछि जजमानहरुको के लाग्छ र ? जसै जसै बाहुन उसै उसै स्वाहा ! न प्रसादको तयारी न त पूजा सामग्रीकै । गाई दानका नाममा सिक्का चढाएजस्तै । गाई त भए पो ! नीलो क्रान्ति भन्दै रविको बारमा छिरेर शिवबुटी तान्दै सोमरस खानेहरु गाई काट्नुपर्छ भन्दै हिँडेपछि सिक्का नचढाएर कहाँ खोज्न जानु त विचरा जजमान । त्यसै टुँडिखेलमा परेड खेल्न आको हो र गाईखानेहरु !
शक्तिको उपासनाका लागि मान्छेको मासुसमेत लुछ्न नछाड्नेहरुले परेड देखाउनु त कुन ठूलो कुरा भयो र ? मध्यरातमा सुतिरहेको दम्पतीलाई अपहरण गरेर लैजाने आधुनिक सामन्तहरुले मन्दिर त भत्काउने प्रयास गर्लान् नै । हिमालको माटो खोतल्ने प्रयास पनि गर्ला । पहाडको जडीबुटी उखेल्न सक्छन्, अनि तराईको उर्वरभूमिलाई मरुभूमि बनाउने कूचेष्टा पनि गर्न सक्छन् ।
‘भाइ फुटे, गँवार लुटे’ पुर्खाले त्यसै कहाँ भनेका हुन् र ? पुर्खाले आर्जेको धर्तीलाई पुस्तालाई दिन नसक्नेगरी हरितकालेहरुलाई परेड खेल्न दिनेहरुसँग के गुनासो गर्नु छ र ! इतिहास जलाउनेहरुले के नै नयाँ भाका कोर्न सक्छन् र ? ऋषिमुनिहरुको तपोभूमि उनै भगवान् पशुपतिनाथले रक्षा गरुन् ! जय शम्भो !!