काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)बाट नेपाली कामदारले मोबाइलबाटै विप्रेषण (रेमिट्यान्स) पठाउन मिल्ने भएको छ । ‘डियू पे’ले इसेवासँग साझेदारी गरेर अब मोबाइलबाटै रेमिट्यान्स पठाउने प्रणाली बनाएको हो ।
‘डियू पे’ युएईको केन्द्रीय बैंकद्धारा नियन्त्रित भुक्तानी प्रणाली हो । यसको प्रयोगबाट २०० भन्दा बढी देशमा पैसा पठाउन सकिने जनाइएको छ । यो साझेदारीले कमाएको पैसा घर पठाउने नेपाली कामदारको समस्यालाई समाधान गर्ने दाबी गरिएको छ । यसअघि रेमिट्यान्स पठाउन बैंक गएर लामो लाइन बस्नुपथ्र्यो । साथै, प्रक्रिया पनि ढिला हुन्थ्यो । अब भने त्यहाँ भएका नेपालीहरुले ‘डियू पे’ एपमा दर्ता भएपछि इसेवा वालेटमा तत्कालै रकम पठाउन सकिने मध्यपूर्वको सञ्चारमाध्यम जाव्याले उल्लेख गरेको छ ।
यस माध्यमबाट युएईमा रहेका नेपालीहरुले रकम घर पठाउँदा विशेष प्रमोसन दिने योजनासमेत बनाइएको समाचारमा भनिएको छ । जसमा दैनिक सुनका सिक्का वितरण तथा निःशुल्क दुई जिबी डेटा बोनस रहेका छन् । यसले ट्रान्सफरलाई अझ आकर्षक बनाउने जनाइएको छ । डियू पेकाअनुसार यो साझेदारीले विशेष समुदायका लागि लक्षित प्रोत्साहन थप्ने छ ।
समाचारका अनुसार रकम बुझ्ने व्यक्तिले आफ्नो मोबाइलबाटै सो रकमको प्रयोग गरेर युटिलिटी बिल तिर्न, मोबाइल रिचार्ज गर्ने, अनलाइन किनमेल गर्न, चलचित्रको टिकट खरिद गर्न वा बैंक खाता ट्रान्सफर गर्न सक्ने छन् । यसले सीधा वालेट-देखि-वालेटलाई जोडेर परम्परागत बैंकिङ संरचनालाई मोडुलर बनाउँछ ।
नेपाल युएईको सबैभन्दा ठूलो रेमिट्यान्स गन्तव्यहरूमध्ये एक हो । नेपाल पैसा पठाउने ढाँचा अनुमान गर्न सकिनेखालको हुने भएकाले डिजिटल वालेट प्रदायकहरु ठूला बजारको साटो विशेष भेगका लागि प्रतिस्पर्धा गरिरहेको समाचारमा भनिएको छ । एफ्वान् सफ्ट ग्रुपको सहायक कम्पनी इसेवा मनि ट्रान्सफरले नेपालको प्रमुख डिजिटल रेमिट्यान्स कम्पनीको रूपमा काम गर्ने छ । जसले सीधै ‘डियू पे’सँग साझेदारी गरेर प्रयोगकर्तालाई थप आकर्षक सुविधा दिँदै परम्परागत प्रणालीको झण्झटबाट मुक्त गर्ने बताइएको छ ।
यो प्रणालीले एक पटकको ग्राहकलाई भन्दा उच्च-वार्षिक प्रयोगकर्तालाई लक्षित गर्ने समाचारमा उल्लेख गरिएको छ । नेपाली प्रवासीहरूले सामान्यतया मासिकरूपमा पैसा पठाउने भएकाले सुनको सिक्का जित्ने मौका र डेटा बोनसलाई समयसँगै थपिँदै गएर लाभ लिन सकिने जनाइएको छ ।
युएईमा भारत, पाकिस्तान, फिलिपिन्स र बंगलादेशबाट ठूलो जनसंख्या बस्ने गर्छन् । आफ्नो मुलुकमा ठूलो रेमिट्यान्स भित्र्याउने यस्ता मुलुकहरुमा डिजिटल सेवा प्रदायकहरु प्रतिस्पर्धा गरिरहेका बुझ्न सकिन्छ । डियू पेका ग्राहकहरुले आफ्नो मोबाइल नम्बर र इमिरेट्स आइडी प्रयोग गरेर यो प्रणालीमा दर्ता हुन सक्ने छन् ।
युएई नेपालीहरुको प्रमुख रोजगार गन्तव्य हो । वार्षिकरुपमा दुई लाखभन्दा बढी युवा नेपालबाट त्यहाँ जाने गरेका छन् । गत आर्थिक वर्ष २०८१÷८२ मा दुई लाख ७४ हजारभन्दा बढी युवा व्यक्तिगत, संस्थागत तथा श्रम स्वीकृति नवीकरण गरेर युएई गएका थिए । हाल युएईमा चार लाख ५० हजार नेपाली रहेको बताइन्छ । उनीहरुले विभिन्न मनी एक्सचेञ्ज, बंैक खाताबाट बैंक खातालगायतबाट पैसा पठाउँदै आएका छन् ।