- दुवै अभिभावक वैदेशिक रोजगारीमा हुने बालबालिकाको संख्या २.३ प्रतिशत
- सबैभन्दा बढी सुदूरपश्चिमका ६.९ प्रतिशत बालबालिका दुवै अभिभावकविना हुर्किरहेको तथ्यांक
- २९ प्रतिशत बालबालिकाका बुबा वैदेशिक रोजगारीमा
- रोजगारीको सिलसिलामा अभिभावक विदेसिँदा ३३.२ प्रतिशत बालबालिका कम्तीमा एक जना अभिभावकविनै हुर्किरहेको तथ्यांक
काठमाडाैं- वैदेशिक रोजगारीका कारण बालबालिकाहरु अभिभावकको अनुपस्थितिमै हुर्किने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको ‘नेपाल बहुसूचक क्लस्टर सर्भे २०२४-२५’ले यस्तो संख्या बढ्दै गएको देखाएको छ ।
सो अध्ययनले दुवै अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा बालबालिकाहरु अभिभावकको हेरचाहविना हुर्किरहेका उल्लेख गरेको छ । उक्त सर्वेक्षण १८ वर्ष मुनिका १५ हजार ९४६ जना बालबालिकामा गरिएको थियो । जसमध्ये दुवै अभिभावक वैदेशिक रोजगारीमा हुने बालबालिकाको संख्या २.३ प्रतिशत रहेको पाइएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिमका ६.९ प्रतिशत बालबालिका दुवै अभिभावकविना हुर्किरहेको देखिएको छ । कर्णालीमा यस्तो संख्या चार प्रतिशत रहेको छ । मधेस प्रदेशमा भने यस्तो संख्या ०.३ प्रतिशत र बागमतीमा १.३ प्रतिशतमात्र पाइएको छ । दुवै अभिभावक रोजगारीमा हुने बालबालिकाको संख्या कोशी, मधेस र गण्डकी प्रदेशका सहरी क्षेत्रमा बढी हुँदा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण भेगमा बढी पाइएको छ ।
२९ प्रतिशत बालबालिकाका बुबा वैदेशिक रोजगारीमा गएको पाइएको छ । रोजगारीमा जाने पुरुषको संख्या बढी हुँदा बुबाविनै हुर्किरहेका बालबालिका बढिरहेका छन् । यसमा सबैभन्दा बढी गण्डकी प्रदेशबाट ३६.६ प्रतिशत र मधेसबाट ३५.८ प्रतिशत रहेका छन् । सबैभन्दा कम बागमती प्रदेशबाट १५.६ र कोशीबाट २३.३ प्रतिशत छन् । त्यस्तै, कर्णालीबाट २५.४, सुदूरपश्चिमबाट ३२.३ र लुम्बिनीबाट ३४.७ प्रतिशत रोजगारीका लागि अन्य मुलुकमा रहेका छन् ।
त्यस्तै, १.८ प्रतिशत बालबालिकाका आमा वैदेशिक रोजगारीमा रहेको पाइएको छ । यस्तो संख्या सबैभन्दा बढी बागमती प्रदेशमा चार प्रतिशत र कोशी प्रदेशमा ३.३ प्रतिशत छ । सबैभन्दा कम मधेस प्रदेशमा ०.३ प्रतिशत तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा ०.९ प्रतिशत रहेको छ । लुम्बिनी १.२ र गण्डकीमा २.१ प्रतिशत बालबालिकाका आमा वैदेशिक रोजगारीमा रहेको पाइएको छ ।
हाल वैदेशिक रोजगारीमा ४० लाखभन्दा बढी नेपाली रहेको बताइन्छ । मुलुकमा भएका रोजगारीले गुजारा चलाउन नसकेको भन्दै वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दो छ । गत आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ४९ हजार २६६ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेसिएका थिए । जसमा सात लाख ४४ हजारभन्दा बढी पुरुष र ९४ हजारभन्दा बढी महिला छन् ।
यहीबीच मुलुक भित्रने रेमिट्यान्स पनि विगतको भन्दा उल्लेख्य बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो । रोजगारीका लागि विदेसिँदा व्यक्तिको आर्थिक स्थितिमा सुधार हुनुका साथै मुलुक भित्रने रेमिट्यान्समा वृद्धि भए पनि बालबालिकामा यसका नकारात्मक मानसिक-सामाजिक प्रभाव भने देखापरेको सर्वेक्षणको रिपोर्टमा भनिएको छ । यद्यपि, यसले निम्त्याउने समस्या भने उल्लेख गरिएको छैन ।
बालअधिकारसम्बन्धी कन्भेन्सन (सिआरसी)का अनुसार हरेक बालबालिकाले आफ्नो व्यक्तित्वको पूर्ण विकासका लागि परिवारिक वातावरणमा, खुसी, माया र समझदारीको वातावरणमा हुर्किनुपर्छ । तर रोजगारीको सिलसिलामा अभिभावक विदेसिँदा ३३.२ प्रतिशत बालबालिका कम्तीमा एक जना अभिभावकविनै हुर्किरहेको तथ्यांक छ । दुवै जना अभिभावक नभएकाहरुको हेरचाह भने आफन्तलगायतले गर्ने गरेको उल्लेख गरिएको छ । सो अध्ययनले यस्ता बालबालिकाको हेरचाह र भलाइ प्रवद्र्धन गर्ने लक्षित कार्यक्रम तय गर्न आवश्यक रहेकोसमेत भनिएको छ ।