काठमाडौं - वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक शनिबार काठमाडौँमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको हो ।
भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्राडा आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी, लेखक भण्डारीलगायत व्यक्तिको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।
‘समय सूत्र’मा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामका बारेमा वैज्ञानिक र दार्शनिक चिन्तनसहितको चर्चा गरिएको छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तु समावेश छन् । पुस्तक लोकार्पण समारोहमा समयबारे प्राज्ञिक व्यक्ति र लेखकबीच समय–संवाद गरिएको थियो । “समय बुझ्न/बुझाउन एकदमै कठिन विषय हो”, संवादमा सहभागी हुँदै भौतिकस्त्राशी खनालले भने, “यो पुस्तक मूलतः समयबारे जान्न र यसलाई अझ गहिरोसँग बुझ्न चाहने पाठकका लागि हो ।” समयसम्बन्धी जटिल वैज्ञानिक अवधारणालाई यो पुस्तकले स्पष्ट, सटिक र प्रवाहपूर्ण नेपालीमा प्रस्तुत गरेको उनले बताए ।

वैदिक र अन्य महत्वपूर्ण ग्रन्थका सम्बद्ध विषयलाई मूल उद्धरणसहित उल्लेख गरी प्रामाणिक बनाइएकाले यो पुस्तक समयबारे जान्न चाहने विद्यार्थीवर्ग र आमपाठकका लागि उपयोगी रहेको प्रा कौण्डिन्न्यायनले बताए । “युवा तथा नयाँ पुस्तालाई समयप्रति आम रूपमा सजग गराउन यो महत्वपूर्ण माध्यम हुन सक्छ”, उनले भने । वरिष्ठ चित्रकार रागिनी उपाध्यायले असल कर्मबाटै समयलाई सार्थक बनाउन सकिने धारणा व्यक्त गरे । “यो किताबले हामीलाई समयको वास्तविक अर्थबोध गराउनेछ भन्ने मलाई लागेको छ”, उनले भने ।
लेखक भण्डारीले पुस्तकबारे जानकारी दिँदै भने, “समय बुझ्नु भनेको घडीको चाल हेर्नु मात्र होइन, अस्तित्वको भाषा बुझ्नु, भाव अनुभूति गर्नु र लय पक्रनु हो । यो किताब पढिसकेपछि कुनै पनि पाठकले आफ्ना पललाई बितिजाने एकाइमा मात्र नभई अर्थयुक्त सम्भावना पनि हो भनेर बुझ् सक्नुभयो भने म आफ्नो अभीष्ट सिद्ध भएको मान्नेछु ।” समय संवादको सहजीकरण पत्रकार यात्रीले गर्नुभएको थियो । उहाँले भन्नुभयो, “कृति पक्कै गहन र मननयोग्य छ ।” इटर्नल पब्लिकेसन प्रालिले सार्वजनिक गरेको यो किताब २६४ पृष्ठको छ भने मूल्य रु ५०० रहेको यो पुस्तक आजैदेखि बजारमा उपलब्ध छ ।