काठमाडौं- इपिएस भाषा परीक्षा उत्तीर्ण भएर कोरिया जान नपाएका युवाहरुले मंगलबार माइतीघर मण्डलमा धर्ना दिएका छन् । आफूहरुको मागलाई कसैले नसुनेकाले माइतीघरबाट दबाब दिन बाध्य भएको उनीहरुको भनाइ छ ।
गत माघ ६ गतेदेखि भैँसेपाटीस्थित एचआरडी कार्यालयमा धर्ना दिँदै आएका उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडान प्रस्तुत गरेका छन् । विगत एक वर्षदेखि सरकारले ‘पहल गर्दै छ’, ‘कूटनीतिक पहल हुँदै छ’ भनेर आफूहरुलाई झुक्याएकाले यसपटक निचोड निकालेरै छोड्ने उनीहरुको अडान छ । आन्दोलनमा भेटिएका राजेश लामाले आफूहरुले पटक-पटक धोका पाएकाले आन्दोलन जारी राख्ने बताए ।
‘हामीलाई कोरिया गएर छलफल गर्ने भनेर आश्वासन दिइएको छ । यसका लागि समन्वय नै भएको देखिँदैन,’ लामाले भने, ‘आन्दोलन स्थगित गर्ने भनेको हो तर हामीलाई पटक–पटक धोका भइसकेको छ । अब हामी रोकिदैनौं ।’ पीडित युवाहरुले कोटा थप गरेर ८० प्रतिशत रोजगारी सुनिश्चित् गर्नुपर्ने, रोस्टर अवधि बढाउनुपर्ने र छनोट प्रक्रियामा घुसपैठ भएकाले पारदर्शी बनाउनुपर्नेजस्ता माग राख्दै आएका छन् । सन् २०२५ मा कोरिया जानका लागि एक लाख ६३ हजार जना सहभागी भएको परीक्षाबाट १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार २०२६ भित्र आठ हजार ९०२ जना युवाको रोस्टर अवधि सकिँदै छ । जनवरीमा ८५३ जनाको रोस्टर अवधि सकिने छ भने फेब्रुअरीमा सबैभन्दा धेरै तीन हजार ७९६ जनाको सकिँदै छ । सरकारले दशौं हजार पीडितको माग सुनुवाइ नगरेर अप्रिय घटना निम्त्याउन खोजेको आन्दोलनको संयोजन गरिरहेका एक युवाले चेतावनी दिए ।
‘यत्रो दशौं हजार मान्छे पीडित हुँदा केही पनि नगर्ने त ? अहिलेसम्म शान्तिपूर्णरुपमा आन्दोलन भइरहेको छ । तर सरकारले पीडितलाई पीडितमात्र बनाइरहेको छ । दिनदिनै उनीहरुको आशा मरेको म¥यै छ,’ उनले भने, ‘जुन दिन सबको रोस्टर सकिन्छ त्यसपछि उग्र हुन्छन् । यदि समयमै हाम्रो माग सम्बोधन भएन भने अप्रिय घटना घट्न सक्छ ।’
श्रम मन्त्रालय र पीडितपक्ष माघ ८ र ९ गते वार्तामा बसेका थिए । त्यसपछि पनि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् । रोजगार अनुमति प्रणाली (इपिएस) मा विगतदेखि देखा पर्दै आएको समस्या समाधानका लागि श्रमसचिवको नेतृत्वको टोली कोरिया जाने मन्त्रालयले बताउँदै आएको छ । यसका लागि नेपालले पत्राचार गरिसकेको भए पनि कोरियाबाट स्वीकृत हुन बाँकी रहेको बताइएको छ । नेपालको टोली कोरिया गएर समस्याहरु नराखेसम्म यसको समाधान नहुने पीडित युवाहरुको भनाइ छ ।
कोरियामा आज वार्ता हुँदै
कोरियामा त्यहाँको रोजगार तथा श्रम मन्त्रालय र नेपाली दूतावासका अधिकारीहरुबीच आज (बुधबार) इपिएसमार्फत जान नपाएका युवाहरुको विषयमा वार्ता हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस शाखाका निर्देशक टीकाराम ढकालले आज नेपालका श्रम काउन्सेलर र कोरियाको श्रम मन्त्रालयका निर्देशकबीच वार्ता हुने बताए ।
‘बुधबार कोरियाको श्रम मन्त्रालय र नेपाली दूतावासको वार्ता छ । नेपालको तर्फबाट श्रम काउन्सेलर मैया कँडेल र कोरियाको श्रम मन्त्रालयका निर्देशकबीच वार्ता हुँदै छ,’ उनले भने, ‘उक्त वार्ताबाट निर्णय नै त नआउला तर यसलाई कसरी लान सकिन्छ भनेर छलफल होला ।’
पीडितपक्षको माग सम्बोधन गर्न आफूहरुले सक्दो प्रयास गरिरहेको ढकालले बताए । यद्यपि, नेपालले यस विषयमा निर्णय नलिने भएकाले यही दिन माग सम्बोधन हुन्छ भनेर भन्न सक्ने अवस्था नरहेको उनले बताए ।