ठूलो घरे काकाको लामपाटोमे ठूलो भोज चलिरहेको छ । पूर्वतर्फको कागतीको बोटमुनि भान्सा लगाइएको छ । माघे संक्रान्तिपछि भोजका लागि काकाको लामपाटो खाली नै छैन । कान्छा हजुरबाउको ठूलो पाटोको सिमाना त्यही कागती र कोइरालोको बोटले छुट्याएको छ । डिलमा ठूलाघरेहरुले पूजा गर्ने सानो मन्दिर छ । कुलदेवता राख्ने गरेको पाटी थियो रे अलि पहिले । मन्दिरसँगै कान्छा हजुरबाले वरपिपलको बोट रोपेका हुन् रे ।
कान्छा हजुरबाले सन्तान नभएपछि वरपिपल रोपेर ठूलो भएपछि विहे पनि गरिदिए । तर पनि कान्छा हजुरबाको सन्तान भएनन् । कान्छाबा बितेपछि कुलदेवताको मन्दिर संरक्षणसमेत हुन सकेन । विस्तारै मन्दिर भत्कियो । कुलदेवतालाई वल्लो टोलबाट पल्लो टोल सारियो । कुलदेवतालाई सारिएन मात्रै, सँगैको वरपिपलको रुख पनि ढालियो । कान्छा हजुरबाले जाने बेलामा मन्दिर भएको जग्गा नै बेचे रे ! राताघरे माइला भन्दै थिए- बूढाले निकै जोगाएर राखेको मन्दिर पनि भत्कियो, वरपिपलको रुप पनि ढल्यो ।
‘वरपिपलको रुखमात्र ढलेन, त्यहाँको इतिहास नै खरानी भयो’ चिरञ्जीवी काका कागतीको बोटमुनिको भान्सामा रायोको साग भुट्दै अनन्तलाई सुनाउँदै थिए । ‘कहाँ त्यत्तिमात्र हो र, त्यो मन्दिरसँग हाम्रो कुलको वासस्थान नै स¥यो नि । यतिका वर्ष यही मन्दिरलाई दायाँ घुमेर विद्यालय जाने मै हुँ ।’ चिरञ्जीवी काकाको कुरालाई थप्दै अस्ति भर्खरै शिक्षकबाट अवकाश भएका भवनान काकाले आफ्नो मुख खोले ।
अगेनामा रहेको कालो फलामे कराईमा मस्यौरालाई ‘झ्वाइँय’ पारेर तार्दै केशव बोले, ‘यस्तै हो, जसको जति समय भोग हुन्छ त्यत्ति नै अड्ने हो । हामीले कुरा गरेर के गर्नु, यति नगरिदिएको भए यो लामपाटोमा मन्दिर छेउ यसरी भोज गर्न कहाँ पाइन्थ्यो र ?’ चिरञ्जीवी खित्का छाडेर हाँसे । ‘हो हो केशवले भनेको कुरा एक दिन ठीक ।’ ऊ बेला बूढाले सभ्यता र संस्कृति जोगाउनुपर्दछ भन्दै भोजभत्तेर गर्न खोला किनाराँ पठाउँथे ।’
भान्सामा चारवटा अगेनो बनाइएको थियो । सबै आफूले जानेको पकवान्न पकाउन व्यस्त थिए । डाँडा खेतमुनिको खोलामा स्वस्थानीको व्रतकथा वाचन भइरहेको थियो । कोही घण्टी बजाउँदै थिए, कोही कोही स्वामीको रुपमा पानी चढाउँदै थिए, कोही नदीको किनारामा बसेर सुर्जेलाई अर्घ दिँदै थिए । कोही सालीनदीजस्तै गरी वारिपारि डोरी जोड्ने प्रयास पनि गर्दै थिए । खोला सानै भएकाले होला बाटेको डोरी वल्लोतिर र पल्लोतिरको डिलमा रहेको नासपतीको बोटमा बाँधिरहँदा चुँडिने गर्दथ्यो । चुँडिएको डोरीलाई फेरि बटार्ने कोसिस गर्नेहरु पनि उस्तै थिए । बाबियाको डोरी बलियो हुनुपर्ने किन चुँडियो भाष्कर मामा खोलाको डिलमा रहेको ढुंगामा बसेर कराउँदै थिए ।
तार चुँडिएको चुँडियै भएर दिक्दार भएर बसेका मुरारी भन्दै थिए, ‘बाबियोमा क्यात्तुके पनि मिसाएको रैछ, त्यही भएर चुँडिएको हो । झन् नमिसाइकन बाट्नु भनेर भनेको कसले टेर्ने हो र ?’भास्करले अलि ठूलै स्वरमा भने, ‘हुन्देऊ हुन्देऊ अब, छाडिदेऊ नमिसिएको कहाँ छ र जहाँ पनि घुसपैठ भनेजस्तै हो, व्यापारीले बेच्ने सामान यस्तै हो ।’ उता भान्सामा बसेकाहरु पकाइतुल्याइ गरी भक्तजनहरुलाई ‘प्रसाद’ ग्रहण गर्न आउनु है भन्दै कराउँदै थिए । प्रविधिको जवाना छ । हेडमास्टरबाट जागिर छाडेका भवनाथले मुहार पुस्तिकामा पोस्ट गर्दिए । ‘आउने आउनुहोला नआउनेलाई रेल गाडी छुटेपछि छुट्यो छुट्यो’ ।
पहेँलो धोतीमा अर्जुन काका आइपुगे । ‘ल प्रसाद तयार भइहाले छ, अब तिमीहरु उता गएर टपरी मिलाउँदै गर, यहाँ बस्ने हो भने अब धोती फेरेर आऊ,’ भान्सामा बसेका केशव, चिरञ्जीवी भवनाथ लगायतलाई भने । भान्सामा बसेकाहरुले के-के चाखे कुन्नि ? अर्जुन काकाले भनेको मान्दै मानेनन्, भान्सा छाड्नै गाह्रो गरे । ‘ठीकै छ त यही फेरेकै छ त ? किन चाहियो धोती नै ?,’ केशवले अर्जुन काकालाई भने ।
‘होइन, अब भान्सामा बस्ने हो भने धोती नै फेरेर आउनुपर्दछ । भक्तजनहरुको अगाडि त्यसै बस्न र प्रसाद वितरण गर्न कहाँ पाइन्छ र ?।’ अर्जुन काकाले सम्झाए । ‘अब पर्दैन !’ कुरो बुझ्दै नबुझी अड्डा अदालत गरिरहने मुुकुन्दले थपे । ‘अब गुगोलबाटै हेडमास्टरले हाल्दिसके । गुगलमा टन्नै भेटिएका छन् । अब भूगोलमा के हुन्छ हेर्र्दै गरौंला !’ लाइक र कमेण्ट यति भएपछि प्रसाद टन्नैले पाए भन्ने भइहाल्छ । कथा समाप्त कहाँ भाको छ र !
‘लौ लौ कुरो ठिकै हो । अब मन्दिर भत्किसकेकै हो । चरु होमेरै भए पनि खरानी बनाएकै हो । नन्दी, भृंगीलाई पनि हटाएकै हो । अब पूर्व-पश्चिम दक्षिण-उत्तर चारै दिशाका देवताहरुलाई खुसी बनाएकै छौं । यति भएपछि सिंहासनमा बस्ने राजा त कसो नपाइला ?,’ अर्जुन काकाले भने । ‘पाउन त पाइएला तर कस्तो पाइएला भन्ने पो चिन्ता छ ?,’ आफ्नै राज्य अरूलाई सुम्पिएर दास बन्ने लेण्डुपजस्तो भेटिने हुन् कि ? अपहरण भएर जाँदा पनि स्वाभिमान नछाड्ने मादुरोजस्तो भेटिने हुन् । भगवान्ले पक्कै न्याय त देलान्,’ केशवले थपे ।
कथा मण्डपबाट प्रसाद ग्रहणका लागि भन्दै मुरारीले टपरी टन्नै बोकेर ल्याए । भान्सामा भएकाहरुले धमाधम टपरीमा प्रसाद हाल्दै थिए । टपरीमा हालेको प्रसाद चुहिन थाल्यो । केशवले यसो टपरी हेरे । पूरै प्वालै प्वाल । पालैपालो टपरी हेर्न थाले । न्यायको भोज दिन तयार गरिएको टपरी एउटा पनि सद्दे भेटिएन । कतै के कट्कटिएका । कतै प्वाल । कतै हेर्न नहुने टाटा । खै के, खै के ! फाटेको टपरी । केशव एक्लै भतभताउन थाले, ‘यस्तो फाटेको टपरीमा कसरी दिने होला न्यायको भोज ?’
न्याय भोज दिन भन्दै दौडिएका छन् । टर फाटेको टपरी बोकेर कसरी भोज देलान् र ? गुगलमा भेटिएजस्तै गरी भूगोलमा नभेटिन पनि सक्छन् नि भक्तजनहरु ! गुगलमा त फाटेकै टपरीमा न्यायको भोज खान सकिएला ? तर भूगोलमा फाटेको टपरीमा कसरी न्यायको भोज खान सकिएला र ? सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, फाटेको टपरीमा भक्तजनले न्यायको भोज खाला कि नखाला ?