- विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा दुई हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५६१ वटा
- उजुरीमध्ये ९०।१५ प्रतिशत व्यक्तिगत र ९।८५ प्रतिशत म्यानपावरका
- म्यानपावरका ५६८ उजुरीमध्ये १४५ जनाको उद्धार, २०० जनालाई क्षतिपूर्ति
काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगार विभागमा साढे पाँच हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणका अनुसार आव २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित पाँच हजार ७६६ वटा उजुरी दर्ता भएका हुन् ।
विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा दुई हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९०।१५ प्रतिशत व्यक्तिगत र ९।८५ प्रतिशत म्यानपावरका उजुरी छन् ।
विभागको तथ्यांकअनुसार मुद्दा तथा अनुसन्धान शाखाका दुई हजार ५६१ वटा उजुरीमा २२५ वटा मिलापत्र भएको छ । ४७ वटा केस अदालतसम्म पुगेका छन् । सो शाखाबाट नौ करोड ४७ लाख २९ हजार ७०० रुपैयाँ क्षतिपूर्ति दिइएको छ । त्यस्तै प्रहरी शाखाका दुई हजार ६३७ उजुरीमध्ये दुई हजार एक वटा फस्र्योट भएको उल्लेख गरिएको छ । सो शाखाबाट एक करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम असुल भएको छ । यता म्यानपावरका ५६८ उजुरीमध्ये १४५ जनाको उद्धार भएको छ भने २०० जनाले क्षतिपूर्ति पाएका छन् । त्यस्तै ३१२ वटा उजुरी आपसी सहमतिमा टुंगिएको जनाइएको छ । इजाजतप्राप्त संस्थाबाट यस अवधिमा तीन करोड ४२ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति असुल गरिएको विभागले जनाएको छ ।

विभागमा परेका उजुरीको संख्या हेर्दा यस क्षेत्रका समस्या दोब्बरले बढेको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिब पाँच हजार उजुरी परेका थिए । जसमा करिब ९० प्रतिशत व्यक्तिगत ठगीका उजुरी थिए । अघिल्लो आवमा परेकाभन्दा बढी उजुरी यस वर्षको छ महिनामै परेका छन् । रोजगारीमा जानेहरुको संख्या बढ्नु, युवाहरु युरोप रोजगारी प्रलोभनमा पर्नु, सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनमा विश्वास गर्नेलगायतका कारणले उनीहरु समस्यामा पर्दा उजुरी बढेको विभागले जनाएको छ ।
के गर्दै छ ‘स्पेसल टास्क फोर्स’ ?
वैदेशिक रोजगार क्षेत्रमा ठगीका घटना निरन्तर बढ्न थालेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘स्पेसल टास्क फोर्स’ बनाएर यसमा संलग्नलाई नियन्त्रण गर्ने बताएको थियो । रोजगारीमा जाने युवाहरु थप समस्यामा नपरुन् भन्ने उद्देश्यले श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले उक्त टास्क फोर्स गठन गरेका हुन् । यसका लागि विभागमा रहने १३ जना प्रहरीको टोलीले वैदेशिक रोजगारीका उजुरीमाथि अनुसन्धान गर्ने, ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने भनिएको छ ।
मन्त्रालयका अनुसार उक्त काम सुरु गर्न विभागलाई पत्राचार गरेको १० दिनभन्दा बढी भइसकेको छ । यसको सम्पूर्ण जिम्मा विभागलाई दिइएकाले महानिर्देशकले तोक लगाउनेबित्तिकै काम सुरु हुने भनिएको छ । विभागले प्रहरीको टोलीसँग छलफल थालिसकेको स्रोतको भनाइ छ । यद्यपि, यस विषयमा के काम हुँदै छ भनेर विभागले जानकारी दिएको छैन ।
विभागका उपमहानिर्देशक र सूचना अधिकारीसँग बुझ्दा आफूलाई टास्क फोर्सको विषयमा कुनै जानकारी नभएको बताए । अनुसन्धानको काम गोप्य हुने भएकाले आफूहरुलाई जानकारी नभएको हुनसक्ने सूचना अधिकारी बिन्दा आचार्यले बताइन् ।
‘त्यो जुन हिसाबले गरेको छ, बाहिर सार्वजनिक नगरी गर्ने काम भएकोले बाहिर नआएको पनि हुनसक्छ,’ आचार्यले भनिन्, ‘हामीले पनि मन्त्रालयबाट टोली आउँछ भन्ने सुनेको हो तर त्यो मेरो तहभित्र परेन । विभागको पूरै युनिटलाई नै हेर्ने भएकाले हाम्रो जानकारीमा नभएको होला ।’